के मान्छेका लागि खतरा बन्दै छ एआई?

हिमाल प्रेस २७ असार २०८० १८:३८
358
SHARES
के मान्छेका लागि खतरा बन्दै छ एआई? ओडिसाको एक समाचार च्यानलले प्रयोगमा ल्याएको भर्चुअल समाचारवाचक लिसा र कुवेतको एउटा समाचार च्यानलले प्रयोगमा ल्याएको भर्चुअल समाचारवाचक फेधा।

भारत, ओडिसाको एक समाचार च्यानलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकतायुक्त भर्चुअल समाचारवाचक प्रयोगमा ल्याएको छ। ‘लिसा’ नामक ती एआई समाचारवाचिकाले ओडिसा टेलिभिजन नेटवर्कको टीभी र अनलाइनमा समाचार पढ्नेछिन्। उनले तत्कालका लागि अंग्रेजी र ओडिया भाषामा समाचार पढ्ने ओटीभीले जनाएको छ।

भुवनेश्वरमा एक कार्यक्रम आयोजना गरी लिसाको परिचय गराइएको थियो। ओटीभीकी प्रबन्ध निर्देशक जगी मंगत पाण्डाले प्रविधिको युगमा यसलाई समयसँग तालमेल गर्ने प्रयास बताएकी छन्।

‘ओटीभीले लिसाका रूपमा टीभी पत्रकारितालाई उपहार दिइरहेको छ,’ उनले भनिन्, ‘प्राविधिक विकासलाई आत्मसात् गर्नु अहिलेको आवश्यकता हो। डिजिटल युगमा जहाँ मानिस इन्टरनेटमा बढी समय बिताउँछन्। ओटीभीले समयसँग तालमेल गर्ने लक्ष्य राखेको छ।’

लिसा ओडिसाको क्षेत्रीय टेलिभिजन प्रसारण क्षेत्रको पहिलो एआई समाचार प्रस्तोता हुन्। यसले टेलिभिजन पत्रकारितामा नयाँ युगको संकेत गरेको पाण्डाको भनाइ छ। ‘एक समय थियो जब कम्प्युटर हाम्रा लागि अचम्मको कुरा थियो,’ उनले भनिन्, ‘तर समय परिवर्तन भएको छ।’

टेलिभिजन पत्रकारितामा २५ वर्ष पूरा गरेको अवसरमा ओटीभीले पहिलो एआई समाचार प्रस्तोता ल्याएको हो। ‘टेलिभिजन प्रसारणमा एआईको प्रयोग भर्खरै सुरु भएको छ,’ उनले भनिन्, ‘एआई न्युज एंकर लिसा कोसेढुंगा साबित हुन सक्छिन्।’

लिसा पहिलो एआईमात्र नभई पहिलो ओडिया समाचार प्रस्तोता पनि हुन्। ओडियामा उनको दक्षता बढाउन विभिन्न प्रयास भइरहेका छन्। ओटीभी नेटवर्कले ट्विटरमा लिसाको फुटेज पनि सार्वजनिक गरेको छ।

गत अप्रिलमा कुवेत समाचारले एआई समाचार प्रस्तोता ल्याएको थियो। ‘फेधा’ नाम गरेकी ती एआई न्युज एंकरको कुवेत समाचार र कुवेत टाइम्सले आफ्नो ट्विटरमा अनावरण गरेको थियो। त्यति मात्रै नभई कुवेती मिडियाले फेधालाई नयाँ सहकर्मी भन्दै  परिचित गराएका थिए।

यसरी टेलिभिजनको स्क्रिनमा मान्छेजस्तै एआई देखापर्न थालेका छन्। तर मिडियामा एआईको प्रयोग कत्तिको उपयोगी होला त? आयरल्यान्डको एक अखबार ‘आयरिस टाइम्स’ले केही समयअघि एआईद्वारा लेखिएको लेख छापेकाले पाठकसँग माफी माग्नुपरेको थियो। मान्छेहरूले आफूमाथि ‘जानाजान धोका’ दिएको आरोप लगाएपछि अखबारले क्षमा मागेको हो।

लेखमा आयरल्यान्डका महिलाले कृत्रिम तरिकाले छालाको रङ गाढा बनाइरहेको र यसो गर्नु अर्काको संस्कृति अपनाउनु भनिएको इक्वेडोरकी एड्रियाना एकोस्टा कोर्टेजको बाइलाइनमा लेख छापिएको थियो। लेख अखबारको वेबसाइटमा सबैभन्दा धेरै पढिएको समाचार बनेको थियो। मे ११ मा छापिएको सो लेख वेबसाइटले दोस्रो दिन हटाएको थियो। चौथो दिन त्यसबारे पत्रिकाले भूलसुधार भन्दै माफी मागेको थियो।

‘द गार्जियन’ मा प्रकाशित समाचारअनुसार लेखको ८० प्रतिशत भाग एआई सफ्टवेयर जीपीटी–४ द्वारा तयार गरिएको थियो। त्यसमा भएको तस्बिरमा पनि पाठकले आपत्ति जनाएका थिए। त्यो तस्बिर डेल ई २ सफ्टवेयरबाट तयार गरिएको थियो।

लेख आयरल्यान्डका एक कलेजका छात्रले तयार पारेका थिए। पहिचानको राजनीति वरिपरि हुने बहस र साथीहरूलाई हँसाउन त्यो लेख तयार गरेको उनले ‘द गार्जियन’ लाई बताएका थिए।

०००

पछिल्लो समय कम्पनीको खर्च घटाउन र कार्यविधिलाई स्वचालित प्रणालीमा लैजान एआईको प्रयोग बढिरहेको विभिन्न अनुसन्धानले देखाएका छन्। बौद्धिक श्रम बढी पर्ने काममा यसले सहयोग गर्न सक्छ।

कृत्रिम बौद्धिकताको सुरुवात डिजिटल कम्प्युटर प्रणालीको विकास भएसँगै भएको हो। डिजिटल कम्प्युटरबाट चल्ने रोबटद्वारा गरिने कार्यलाई एआई भनिएको हो।

गत मेमा अमेरिकाको प्रसिद्ध प्रविधि कम्पनी आईबीएमको सर्वेक्षणअनुसार संसारभरि एआई अपनाउने क्रम बढेको छ।

आईबीएमद्वारा सार्वजनिक प्रतिवेदनमा एआई प्रयोग गर्नेमा भारत र चीनका कम्पनी अग्रस्थानमा छन्। यी दुई देशका ६० प्रतिशत आईटी व्यवसाय कम्पनीले एआई प्रयोग गरिरहेको अध्ययनले देखाएको छ। त्यस्तै दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिका र बेलायतमा पनि एआईको प्रयोग हुने गरेको छ। सञ्चारमाध्यम, वित्तीय संस्थालगायत विभिन्न क्षेत्रमा एआई प्रविधि प्रयोग भइरहेको छ।

ब्राजिलियन मूलका अमेरिकी अनुसन्धानकर्ता बेन गोएट्र्जेलले आगामी केही वर्षमा एआईले मान्छेहरूबाट ८० प्रतिशतसम्म जागिर खोस्ने दाबी गरेका छन्।

‘एआई गुरु’का नामले प्रसिद्ध ५६ वर्षीया बेन गणितज्ञ र रोबोटिस्ट हुन्। उनी शोध संस्थान ‘सिङ्ग्युल्यारिटीएनईटी’का संस्थापक हुन्। ‘मेसिन मान्छेजस्तै बुद्धिमान होऊन् र त्यसैगरी काम गरून् भन्ने चाहनुहुन्छ भने एआईको ट्रेनिङ र प्रोग्रामिङमा जोड दिनुपर्छ,’ समाचार एजेन्सी एएफपीसँग बेनले भनेका छन्, ‘अहिले हामी त्यहाँ पुगेका छैनौँ। तर त्यहाँ पुग्न दशक होइन केही वर्षमात्र लाग्नेछ।’

एआईलाई १८ औँ शताब्दीको औद्योगिक क्रान्ति र २० औँ शताब्दीको इन्टरनेट क्रान्तिपछिको ठूलो क्रान्तिका रूपमा लिइँदै छ। विश्वभरि यसको प्रभाव बढ्दै गएपछि कतिपय ठूलठूला व्यक्तित्वले यसबारे चिन्ता प्रकट गरेका छन् भने कसैले यसलाई स्वर्णयुग पनि भनेका छन्।

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले मान्छेले एआईका खतराबारे चिन्तित हुनुपर्ने बताएका छन्। गुगल सीईओ सुन्दर पिचाईले एआईले पूरै समाजमा असर गर्ने र समाज त्यसअनुसार हुनुपर्ने बताए। ‘एआईको तीव्र गतिको विकासले गलत समाचार र गलत तस्बिरको चलन बढ्न सक्छ,’ उनले भनेका छन्, ‘यसले मान्छेको जीवनमा ठूलो नोक्सानि पुर्‍याउनेछ।’

एप्पलका सीईओ टिम कुकले एआईको प्रयोग मान्छेको हितमा हुनुपर्ने बताएका छन्। अमेजनका संस्थापक जेफ बेजोसले एआईलाई स्वर्णयुग भनेका छन्। एआईले दुष्प्रचार र गलत सूचनाको प्रसार गर्न सक्ने कुरा बेन गोएट्र्जेलले पनि स्वीकारेका छन्। ‘तर यसै आधारमा एआईलाई रोक्नुचाहिँ हुँदैन,’ उनले भनेका छन्, ‘इन्टरनेटमाथि त प्रतिबन्ध लगाइएन। इन्टरनेट पनि त यस्तै हो। त्यो पनि त गलत सूचना र दुष्प्रचारको माध्यम बन्ने गर्छ।’

इन्टरनेटजस्तै एआईमा पनि प्रतिबन्ध लगाउन नहुने उनी बताउँछन्। ‘यसका सकारात्मक पक्षलाई हेर्नुपर्छ,’ उनी भन्छन्, ‘जस्तै रोबोटिक नर्स। अमेरिकामा कति धेरै वृद्धवृद्धा छन्, जो घरमा एक्लै बस्छन्। तिनलाई मानसिक र भावनात्मक सहयोगको आवश्यकता छ। त्यस समस्याको समाधानका लागि ह्युमनोइड तयार गर्न सकिन्छ। जसले तपाईंसँग कुरा गर्नेछ, प्रश्नको उत्तर दिनेछ। कथा सुनाउनेछ।’

तर ‘गडफादर अफ एआई’ भनिने जेफ्री हिन्टनले एआई मानवताका लागि खतरनाक रहेको भन्दै गुगलबाट जागिर छोडेका छन्। ‘जुन गतिले एआईको विकास भइरहेको छ, त्यसका परिणाम छिट्टै देखिनेछ,’ उनले भनेका छन्।

प्रकाशित: २७ असार २०८० १८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast