सुर्खेत- पछिल्लो समय सुर्खेतका कलेजहरूले गुणस्तरीय शिक्षामा जोड दिन थालेका छन्। कलेजहरूले अन्तर्राष्ट्रिय स्तरको शिक्षण सिकाइमा विशेष ध्यान दिनन थालेका हुन्। विद्यार्थीलाई विदेश जानबाट रोक्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको सिकाइलाई महत्त्व दिएको सम्बन्धित कलेज सञ्चालकहरू बताउँछन्।
पाठ्यक्रमसँगै विद्यार्थीको व्यक्तित्व विकासलगायत विभिन्न विषयका कक्षा पनि कलेजले सञ्चालन गरिरहेका छन्। जसले गर्दा विद्यार्थीको आकर्षण बढेको छ।
सुर्खेत मोडेल कलेज, साउथ एसियन कलेज, सिद्धपाइला क्याम्पस र ज्ञानसिन्धुमा व्यवस्थापन विषयको पढाइ हुन्छ। यी कलेजले विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै बैंक, वित्तीय संस्थालगायतमा काम गर्न सक्न बनाउन तालिम पनि दिन्छन्।
त्यस्तै सुर्खेत बहुमुखी क्याम्पस, मध्यपश्चिम विश्वविद्यालयले विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यावहारिक शिक्षा दिइरहेका छन्। व्यापार-व्यवसायमा भइरहेका राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिविधिबारे विद्यार्थीलाई ‘फाइनान्स ल्याब’ मार्फत सिकाइ क्रियाकलापमा सहभागी गराइन्छ।
स्वदेशमै गुणस्तरीय शिक्षा पाउने भएपछि उच्च शिक्षाका लागि बिदेसिने विद्यार्थीको संख्या घट्ने विश्वास सुर्खेत मोडेल कलेजका प्राचार्य गणेश आचार्यको छ। ‘विदेशका कलेजले पढाउने विषय स्वदेशभित्रै पढ्ने अवसर मिलाए केही हदसम्म विद्यार्थीलाई बाहिर जानबाट रोक्न सकिन्छ,’ उनी भन्छन्। विद्यार्थी आकर्षित गर्न कलेजले बीबीएस, बीआईएम, बीएचएम पनि सुरु गरेको छ।
कर्णाली दुर्गम क्षेत्र हो। यहाँका क्याम्पसमा गुणस्तरीय शिक्षाका लागि सरकारले प्रत्येक वर्ष पाँच लाखका दरले बजेट छुट्याउने गर्छ। तैपनि उच्च शिक्षाका लागि बिदेसिने विद्यार्थीलाई यहीँ रोक्नु कलेजका लागि ठूलो चुनौती बनेको छ।
मध्यपश्चिम विश्वविद्यालय, क्याम्पसका प्राचार्य जसवीर रोकाया बिदेसिने विद्यार्थीमध्ये अधिकांशको उद्देश्य पढ्नेभन्दा पनि काम गर्ने हुने बताउँछन्। ‘देशभित्रै उच्च शिक्षाका लागि प्रेरित गर्न तीन तहको सरकारले विद्यार्थीको मागअनुसार कलेज व्यवस्थापन गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्।
कर्णालीमा मात्र नभएर नेपालभरिकै कलेजमा विद्यार्थीको संख्या घट्दै गर्दा मध्यपश्चिम विश्वविद्यालयमा भने विद्यार्थीको संख्या बढ्दै गएको छ। कर्णालीका १० वटै जिल्ला र लुम्बिनी प्रदेशबाट पनि यहाँ पढ्न आउने प्राचार्य रोकाया बताउँछन्। मध्यपश्चिम विश्वविद्यालयमा अहिले १३ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत छन्।
कलेजले विद्यार्थीलाई सम्बन्धित विषयको विशेषज्ञ बनाउन विशेष स्तरको पढाइ सञ्चालन गरिरहेको सहायक क्याम्पस प्रमुख ओमप्रसाद न्यौपाने बताउँछन्। ‘विशिष्टीकृत र गुणस्तरीय शिक्षा दिन नसक्दा धेरै विद्यार्थी बाहिरिँदै गएका छन्,’ उनी भन्छन्, ‘विद्यार्थीलाई यहीँ रोक्न गुणस्तरीय शिक्षाको व्यवस्था गर्नुपर्छ।’
कलेजहरू सिकाइ केन्द्रित शिक्षणमार्फत विद्यार्थीमा सीप र दक्षता वृद्धि गर्न लागिपरेका छन्। उनीहरूले विभिन्न निजी तथा सरकारी संस्थानका लागि योग्य जनशक्ति उत्पादनमात्र गरिरहेका छैनन्, विद्यार्थीमा उद्यमशीलता विकास गराउने कार्यक्रम पनि सञ्चालन गरिरहेका छन्।
आमसञ्चार तथा सूचना प्रविधि विषयको पढाइ पूरा गर्न कर्णाली सरकारले अब्बल विद्यार्थीलाई एक लाख रुपैयाँका दरले पाँच जनालाई पुरस्कार दिँदै आएको छ।
‘विद्यार्थीलाई उद्यम गर्न सक्ने बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरेका हौँ,’ प्राचार्य रोकाया भन्छन्, ‘विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र थमाउने होइन, कसरी सीपयुक्त जनशक्ति उत्पादन गर्ने भन्नेमा कलेजको पढाइ केन्द्रित रहेको छ।’
कलेजले विद्यार्थीको समग्र विकास गर्ने रणनीति बनाएर स्नातक तहको कार्यक्रम सञ्चालन गरिरहेका छन्। यस्तै अनुसन्धान कार्यमा सहभागी गराएर विद्यार्थीको सीप र क्षमता विकास गराउँदै आएका छन्। सरकारले स्नातक तहको पाठ्यक्रम परिमार्जन र पूर्वाधार विकासका लागि सहुलियतमा ऋण दिनुपर्नेमा रोकाया जोड दिन्छन्।
‘अन्तर्राष्ट्रिय बजारको मागअनुसार उच्च शिक्षाको पाठ्यक्रम बनाउनेतर्फ नीतिनिर्माता अग्रसर हुनुपर्छ,’ उनी भन्छन्, ‘हामी हातेमालो गर्न तयार छौँ।’ कर्णाली प्रदेशका क्याम्पसमा रोजेको विषय पढ्न पाउने व्यवस्था नहुँदा विद्यार्थी दिनप्रतिदिन घट्दै गइरहेको सामाजिक विकास मन्त्रालय शिक्षा शाखाका अधिकृत बलवीर सुनार बताउँछन्।
यहाँका ६० वटा कलेजमा १४ हजारभन्दा बढी विद्यार्थी छन्। त्यसमा पनि सबैभन्दा धेरै शिक्षा संकायमा छन्। त्यसमा ८ हजार ६ सय ६४ विद्यार्थी अध्यनरत छन्।
व्यवस्थापनमा ३ हजार १ सय ६०, मानविकीमा १३ सय ५१, विज्ञानप्रविधिमा ३ सय ४३, इन्जिनियरिङ ५ सय ५५, चिकित्सा शिक्षामा २५ जना र एमडीमा पाँच जना रहेको सुनारले जानकारी दिए।
आफूले रोजेको विषय पढ्न पाउने सुविधा नहुँदा प्रतिभाशाली विद्यार्थी उच्च शिक्षाका लागि बाहिर जाने उनी बताउँछन्। ‘कर्णाली प्रदेशमा विश्वविद्यालय र ऐन बनी नसक्दा यहाँको शिक्षामा सुधार हुन सकेको छैन,’ उनी भन्छन्, ‘कर्णाली विश्वविद्यालय, प्रदेश संग्रहालय र पुस्ताकालय बनी नसक्दा प्रतिभाशाली विद्यार्थी सहर केन्द्रित हुन थालेका छन्।’