देशभर ३५ सय २३ जनरल वार्ड विपन्‍नलाई नि:शुल्क

हिमाल प्रेस २५ असार २०८० १९:१७
8
SHARES
देशभर ३५ सय २३ जनरल वार्ड विपन्‍नलाई नि:शुल्क

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका १६ वटा केन्द्रीय अस्पतालका ३ हजार ५ सय २३ जनरल वार्ड विपन्नका लागि नि:शुल्क गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनअनुसार मन्त्रालय मातहतका केन्द्रीय अस्पतालका जनरल वार्ड विपन्न, असहाय र बेवारिसे बिरामीका लागि नि:शुल्क गरिएका हुन।

गत वैसाख २१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री बस्नेतले आफ्नाे पहिलो प्राथमिकता विपन्न बिरामीले नि:शुल्क उपचार पाउनुपर्ने बताएका थिए।

कुनै पनि नेपालीले पैसाको अभावमा उपचारबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्य रहेकाे भन्दै मन्त्री बस्नेतले सबैभन्दा पहिले वीर अस्पतालबाट ७ सय शैय्या विपन्नका लागि नि:शुल्क गराएका थिए।

पछिल्लाे कोशी अस्पताल, कान्तिबाल, प्रसूति गृह, मानसिक अस्पताल, नारायणी अस्पताल , भरतपुर अस्पताल, भेरी अस्पताल र डडेलधुरा अस्पताललगायत देशभरका १६ केन्द्रीय अस्पताल र प्रतिष्ठानका जनरल वार्ड नि:शुल्क गरिएका छन्।

सोमबार स्वास्थ्य मन्त्रालयका आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले देश भरिका स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत १६ वटा केन्द्रीय अस्पतालका ३५ सय २३ जनरल वार्ड विपन्नका लागि नि:शुल्क गर्ने निर्णय सम्बन्धित अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरिसकेको जानकारी गराए।

देश भरिका केन्द्रीय अस्पताल र प्रतिष्ठानका साढे ३ हजार बेड नि:शुल्क भएपछि हजारौँ विपन्नको उपचार सहज हुने मन्त्री बस्नेतले बताए।

नि:शुल्क गरिएका बेडमा बस्ने बिरामीको उपचार पनि नि:शुल्क गरिने मन्त्री बस्नेतकाे भनाइ थियाे। स्थानीय वडा कार्यक्रमले विपन्न भनि सिफारिस गरेको पत्रका आधारमा अस्पतालहरूले उपचार नि:शुल्क गर्नुपर्ने व्यवस्था गरिएको मन्त्री बस्नेतले बताए।

साथै निजी अस्पतालहरूले पनि विपन्नका लागि १० प्रतिशत शैय्या नि:शुल्क गर्नुपर्ने नियमलाई कडाई गर्दै लगिएको मन्त्री बस्नेतले बताए। ‘देश भरिकै सबै केन्द्रीय अस्पतालहरूमा जनरल वार्ड नि:शुल्क गरिएपछि र निजी अस्पतालले पनि १० प्रतिशत शैय्यामा विपन्नलाई उपचार नि:शुल्क भएपछि विपन्नको उपचारको धेरैजसो समस्या समाधान हुने उनले बताए।

सबै अस्पतालका जनरल वार्ड नि:शुल्क गर्दा लाग्ने खर्चमध्ये केही हिस्सा सम्बन्धितले आन्तरिक व्यवस्था गर्ने र अपुग भएको रकम मन्त्रालयले अनुदानको रूपमा उपलब्ध गराउने मन्त्री बस्नेतले बताए।

मन्त्री बस्नेतका अनुसार स्वास्थ्यको बजेटमध्ये जुन क्षेत्रमा विनियोजन गरिएको बजेटले प्रतिफल दिइरहेको छैन त्यो क्षेत्रको बजेट आधारभूत स्वास्थ्य सेवामा खर्च गरिनेछ।

मन्त्री बस्नेतले आफू मन्त्री भएपछि वित्त रणनीति र स्वास्थ्य क्षेत्र रणनीति पास भएको जानकारी पनि दिए। वीर अस्पतालमा यही साउन १ गतेदेखि बिहान ८ बजेदेखि सञ्‍चालन गरिने निर्णय पनि गरिएको जानकारी उनले गराए।

प्रकाशित: २५ असार २०८० १९:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast