काठमाडौँ– स्वर्गीय रक गायक रोविन तामाङको स्वरमा ‘धुवाँ’ बोलको गीत सार्वजनिक गरिएको छ। गीत एमआईसी नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतमा स्व. तामाङ र गायक राजेश पायल राईको स्वर छ। सुरेश राईको शब्द र संगीत रहेको गीतमा दिपेश सिंहले संगीत संयोजन गरेका छन्।
निरञ्जन पाण्डेको निर्देशन र सम्पादनमा बनेको गीतको भिडियो सोनाम तामाङले छायांकन गरेका हुन्। भिडियोमा गायक रविन र राजेशलाई नै देख्न सकिन्छ।
फिल्मको लागि तयार पारिएको गीत तामाङको असामयिक निधनपछि श्रद्धाञ्जली दिँदै सार्वजनिक गरिएको निर्देशक पाण्डेले बताए।
तामाङ गत मंगलबार बुढानिलकण्ठस्थित आफ्नै निवासमा मृत भेटिएका थिए। रविन एण्ड द न्यु रिभोलुसनका गायक समेत रहेका ६० वर्षीय तामाङले नेपालमा रक गीत भित्र्याउन महत्वपूर्ण योगदान रहेको मानिन्छ।
तामाङका ‘केटाकेटी’, ‘हाम्रो देश’, ‘भुलमा भुल्यो’, ‘साइन अन मी’, ‘चिसो चिसो हावामा’, जति माया लाएपनिलगायत थुप्रै गीत हिट छन्।
गीतसंगीतसँगै उनले ‘छड्के’, ‘मुखौटा’लगायत फिल्ममा अभिनयसमेत गरेका थिए।