‘बत्तीमुनि अँध्यारो’ भनेजस्तै हो मोहनी झरनाबारे थाहा नपाउनु पनि। हुन त ‘थाहा’ दर्शनका प्रवर्तक पनि यतैतिरका हुन्। धेरै राजारजौटा, सरदार, कवि र धर्माधिकारी यही बाटोको माटो उडाउँदै, दौराको फेरको धुलो टकटक्याउँदै हिँडेका हुन्। कोही लौरो टेकेर त कोही डोली चढेर यात्रा गरेको किस्सा छन्।
यी किंवदन्तीमात्र होइनन् ऐतिहासिक लेखोटमा समेत छन्। तर ‘खोलो तर्यो लौरो बिर्सियो’ भने जस्तै यो ठाउँको उत्थानमा कसैको ध्यान गएको देखिँदैन। उपेक्षामा परेरै त होला मोहनीको मोहमा खासै कोही नपरेको देखिन्छ।
हुन त सिंगो नेपाल नै एउटा अविश्वसनीय, अतुलनीय, अकल्पनीय र रहस्यपूर्ण लाग्छ मलाई। प्रकृतिको घुम्टोभित्र लुकेर बसेका कति रहस्यका पोका अझै खुल्न बाँकी नै छन् जस्तो। त्यस्तै जादुमयी प्रकृतिको पीयूष अपरिमेय अलौकिक जलधारा हो, ‘मोहनी झरना’।
स्वर्गका महादेवको जटाजुटमा बेरिएर धरतीमा अवतरित भएकी गंगा जस्तो लाग्छ यो झरना। घना जंगलको घनघटाबीच चट्टानको मुखबाट फुत्त बाहिर निस्केर सेता केश फिँजाउँदै गडगडाएर अवतरित हुन्छिन् मोहनी। म त हेर्नेबित्तिकै यसको मोहमा परेँ।
यो झरना मकवानपुर जिल्लाको मार्खुमा पर्छ। इन्द्र सरोवर छेवैमा। यहाँसम्म पुग्न काठमाडौँको थानकोट हुँदै चन्द्रगिरीको भञ्ज्याङ काट्नुपर्छ। चित्लाङ हुँदै वा टिस्टुङबाट पालुङ जाँदै गर्दा बीच बाटोबाट मार्खु जाने बाटो भएर र फर्पिङ हुँदै कुलेखानी जाँदा बीचबाटोमा पर्ने फाखेल भएर पनि मार्खु पुग्न सकिन्छ।
मार्खुबाट पदयात्रा गरेर वा चारपांग्रेमा गुडेर पनि मोहनी झरनासम्म पुग्न सकिन्छ। यी सबै बाटो कच्ची भएको हुँदा बर्खामा यात्रा गर्दा निकै विचार पुर्याउनुपर्छ। काठमाडौँ उपत्यकाको इतिहास जति पुरानो छ त्यति नै पुरानो छ चित्लाङ र मार्खुको पनि। हामी काठमाडौँबाट थानकोटको बाटो हुँदै मार्खुका लागि प्रस्थान गर्दै गर्दा मातातीर्थको छेवैबाट गुर्जुधारा हुँदै थानकोटतर्फ लाग्नुपर्छ।
मातातीर्थ त्यही ठाउँ हो, जहाँ इतिहासकारले गोपालवंशीहरूको राजधानी हो भनी किटान गरेका छन्। अहिले त्यहाँ कति घर गोपाल वंशावलीका गोपालवंशीहरूको छ यकिन छैन। तर चित्लाङ मार्खुमा भने प्रशस्त गोपालवंशी खेतीपाती गरी बसेका छन्।
मार्खुमा किराँतकालीन अवशेषसमेत पाइएका छन्। नाट्येश्वरी मन्दिर त्यसको प्रमाण हो। स्थानीयको स्याहारसम्भारमा जुन अहिलेसम्म पनि छ। मन्दिरमा पूजाआजा चल्छ। मार्खु बजारमा ओर्लेर झोलुंगे पुल तर्नुअगाडि यही नाट्येश्वरी मन्दिरको दर्शन गर्न पाइन्छ। यही मन्दिरलाई बायाँ पारेर झोलुंगे पुल तर्फको बाटो अगाडि लाग्छ।
झोलुंगे पुल भनेपछि यहाँ खोला हुनैपर्यो। यो पुल पालुङबाट बगेर आउने खोलाको माथि बनेको छ। केही सय मिटर तल चित्लाङबाट आउने चित्लाङ खोलासँग दोभानमा मिसिएर इन्द्र सरोवरमा समाहित हुन पुग्छ। इन्द्र सरोवर अर्थात् कुलेखानीको जलाधार क्षेत्र विशाल देखिन्छ।
हामी असार दोस्रो सप्ताहन्त त्यहाँ पुग्दा इन्द्र सरोवरको पानीको सतहमा थियो। जलाशययुक्त जलविद्युत् उत्पादनको प्रमुख उद्देश्य बर्खायाममा संग्रह गरेर राखेको जलभण्डार सुक्खायाममा प्रयोग गरेर विद्युत् उत्पादन गर्ने भएको हुँदा पानीको सतह घटेर पिँधमा पुगेको थियो। संयोग नै भन्नुपर्छ हामी त्यस ठाउँको पदयात्राका लागि निस्कँदै गर्दा मनसुनी प्रभावको पहिलो वर्षा त्यही दिन भएको थियो।
यहाँको बाटो निर्माण कसैको प्राथमिकतामा परेको छैन। यद्यपि हालै केही काम भने भएका छन्। चट्टानका भित्ता काटेर बाटो केही फराकिलो बनाइएको छ। थानकोटबाट उकालो लाग्दै गर्दा ठूलो पानी पर्यो। यी काटिएका चट्टान माथिबाट असंख्य झरना झरिरहेका थिए। झरना हेर्ने उद्देश्य लिएर पदयात्रामा निस्किएका हाम्रा लागि असंख्य अस्थायी झरनाले बाटोबाट स्वागत गरिरहेका थिए।
जसै सवारी भञ्ज्याङ माथि पुगेर ओरालो लाग्यो हाम्रो यात्रा सुगम रहेन। रातो माटोमा चिप्लिएर कुनै संकट पो आइलाग्ने हो कि भन्ने डरले सताइरह्यो। सवारी चालकले पनि हिँडेर फेदी झर्ने आदेश दिए।
एउटा ज्यान लिएर हिँड्न त यति सकस छ। यही बाटो राणाहरूले चढ्ने क्याडिलक कार मान्छेहरूले काँधमा बोकेर यही चन्द्रगिरीको भञ्ज्याङ काटेर उपत्यका पुर्याएका थिए। हामी उपत्यकाबाट बस चढेर ओरालो झर्दै थियौँ चित्लाङ पुग्न। यो समयले ल्याएको परिवर्तन हो वा मानिसले ल्याएको परिवर्तन? दशकौँ वर्षको अन्तरालमा देखिएको झिनो फरकलाई परिवर्तनको संज्ञा दिनु कत्तिको उपयुक्त होला दोधारमा छु। तैपनि परिवर्तनलाई नजिकैबाट हेरियो। किनभने त्यही माथि चन्द्रागिरीको थाप्लोमा गोन्डोला तारमा झुन्डिएर ओहोरदोहोर गर्दै थिए। त्यहाँ व्यवसायीले मोहर देखे। चित्लाङको बारीमा फल्ने मुला, काउली, नास्पातीमा राज्यले देखेन।
हामी चित्लाङ पुगेपछि आकाश खुल्यो। पानी परेर खुलेको आाकाशमुनि प्रकृति कान्तिमतीझैँ सुन्दर देखिइन्। निक्खर नीलो आकाशमुन्तिर हरियो फाँट, हरियो जंगलको बीचबीचबाट उठेर फिँजिने सेतो बादलका झुण्ड अलौकिक देखिए। बाटोका छेउछउका खेतका मुला कोही सहर जान तयार भएर बसेका थिए भने कोही बारीमै प्रतीक्षामा थिए।
चैत, वैशाख र जेठको सुक्खामा सुकेको इन्द्र सरोवरमा थन्किएका रंगीन पावर बोट साउने झरीलाई पर्खिरहेका थिए। यही सरोवरको किनारैकिनार केहीबेरको यात्रापछि पुगिन्छ ठाडो खोला। अर्थात् मोहनी झरनाको उद्गमस्थल। यो ठाडो खोला पनि इन्द्र सरोवरमा गएर मिसिन्छ।
यहाँबाट भने ठाडै उकालो लाग्नुपर्छ। सिमेन्टको भर्याङ बनाइएका छन्। फलामे बारको रेलिङ पनि छ। शिरमा छ मोहनी झरना। यो मोहनी झरना महभीरमा छ। यद्यपि त्रिभुवन राजपथ भएर यात्रा गर्नेहरूले देखेको सुनेको महभीर भने सिमभञ्ज्याङभन्दा तलको महभीर हो।
म महभीरभन्दा केही तल चुनियाँमा जन्मिएको हुँ। एउटै जिल्लामा दुई ठाउँमा महभीर हुनु खासै अनौठो होइन। भीर मौरीको मह पाइने भएको हुँदा महभीर भएको हो। यस हिसाबले मकवानपुर महका लागि पनि प्रख्यात रहेछ भन्ने बुझ्दा भयो।
काठको ठेकीका लागि पनि मकवानपुर प्रसिद्ध छ भनेर सानोमा पढिएको थियो। ‘चित्लाङका मुला ढिकीभन्दा ठूला’ भनेर पनि पढिएको थियो। पछि अध्ययनको परिवेश फराकिलो हुँदै जाँदा मकवानपुरमा ४० प्रजातिभन्दा बढीको अर्किड फूल पाइन्छ भनेर पढियो। युरेनियम पनि पाइन्छ भन्ने पनि सुन्यौँ। साथै बढी चट्याङ पर्ने जिल्ला, बढी हावा लाग्ने जिल्ला भनेर पनि सुनियो। अहिले दुईवटा महभीर देखिँदा महजस्तै गुनिलो रहेछ मकवानपुर भन्ने लाग्यो।
स्वर्गतुल्य सुन्दर रहेछ ‘मोहनी झरना’। असंख्य झरना वर्षाको पानीमा देखिन्छन्। हिउँद लागेपछि बिलाएर जान्छन्। तर मोहनी झरना त्यो श्रेणीको परेन। यो सदाबहार छ। सुनसान जंगलको नीरवमा अविरल सधैँ गुञ्जी रहने यो झरनाको पानी कुलेखानीमा पुग्दछ। त्यहाँबाट राप्ती खोला हुँदै मेरो खेतसम्म पुग्ने रहेछ। ओहो! मोहनी झरना मेरै दिनचर्यासँग जोडिन पो आयो।
खासमा यो झरनाको पुरानो र वास्तविक नाम ‘टाडो खोला’ झरना हो। तर स्थानीयले यसको न्वारान गरेर ‘मोहनी झरना’ राखे। काठमाडौँ छेवैमा भएर पनि यो झरनाको ख्याति नफैलनुमा हामी स्वयं पनि दोषी छौँ। त्यसैले सुरुमै भनेको हुँ, ‘बत्तीमुनि अँध्यारो’।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले मार्खुमा बसेर कविता लेखेका छन्। तर प्रकृतिपे्रमी महाकविले पनि मोहनी झरना देखेनन्। देखेका भए यसैको छेउ कन्दरामा कुटी बनाएर कविताको चाङ लागाउने थिए। यी कवि हेलम्बु, तार्के घ्याङतिर पुग्दा ‘मेन्दु’ लेखिएको थियो। यस झरनाको मोहनीमा लट्ठिन पाएका भए अर्को एउटा खण्डकाव्य बन्थ्यो होला। मोहनीको दर्शन गरेर जुन बाटोबाट जसरी आएका थियौँ, उसैगरी फर्कियौँ।
यही बाटो भएर हिजो राजामहाराजा हिँडे। आज यो परित्यक्त छ। यदाकदा फाट्टफुट्ट टाटा सुमो गुड्छन्। सर्वकालिक, सुविधायुक्त सडक बनेको अवस्थामा यो ठाउँको मुहार चम्किने थियो। असंख्य सम्भावना बोकेको यो सुन्दर ठाउँ किन कसैको प्राथमिकतामा नपरेको होला। थानकोटबाट सुरुङ मार्ग निर्माण गरेर चित्लाङलाई जोड्ने हो भने यसले असंख्य सम्भावनाको ढोका खोल्नेमा शंका छैन। तर यसमा कसैले चासो दिएको देखिँदैन।
काशी जाँदा र फर्कदा रणबहादुर शाह उनका सेनामेनासहित यही बाटो हिँडेका थिए। समयको विशाल अन्तरालमा कैयौँ राजा, महाराजा, श्री ३, तिनका बडामहारानी, हुक्के, बैठके, भाइभारदार, जर्नेल, कर्णेल यही बाटो हिँडे। त्रिभुवन राजपथ बनेपछि यो चलन चल्तीको बाटो बिस्मृतिको पानामा हरायो।
हुन त अहिले पनि यो बाटोको महत्त्व त्यति नै छ। चित्लाङ तथा मार्खुमा खुलेका थुप्रै होम-स्टेले यसको महत्त्व बुझाउँछन्। तर राज्यको उचित ध्यान यतातिर गएको छैन। यो ठाउँलाई यातायात सञ्जालले जोडेको अवस्थामा यहाँका मानिस व्यवसायी बन्नेछन्। आयआर्जन गर्नेछन्। समृद्ध र सम्पन्न बन्नेछन्।
ताप्लेजुङको तीनजुरे, मिल्के जलजले जसरी गुराँसको लागि प्रसिद्ध छ, त्यसैगरी अर्किड र झरनाको लागि मकवानपुर चिनिन्छ। चित्लाङको मुला र काउली सजिलै काठमाडौँ आउने छन्। त्यसको लागि थानकोटबाट चित्लाङ जाने बाटोको स्तर सुधार गरेर फाखेलसम्म जोडिनुपर्छ।