हरिशयनी एकादशी

रोपियो तुलसी, यस्ता छन् लाभ

हिमाल प्रेस १४ असार २०८० ११:५७
6
SHARES
रोपियो तुलसी, यस्ता छन् लाभ

काठमाडौँ– बहुगुणले युक्त वनस्पति तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ।

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको दल राखिन्छ। असार शुक्ल एकादशीका दिन दलबाट घरको तुलसीको मठमा बिरुवा सारी ४ महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको हो।

आयुर्वेद क्षेत्रमा लामो समय काम गर्दै आएका प्रा. डा. चन्द्रराज सापकोटा वैज्ञानिक र औषधीय गुणले युक्त भएकाले पुर्खाले घर-घरमा यसको मठ बनाएर पूजा आराधनाको रीत बसालेको बताउँछन्।

आफू सिंहदरबार वैद्यखाना विकास समितिको प्रबन्ध निर्देशक भएका बेला ०५५ सालमा औषधीय गुणले युक्त तुलसीबाट चियासमेत उत्पादन गरेको उनको भनाइ छ।

‘तुलसीको चियाले मानव शरीरका कीटाणु नाश गरी स्वस्थ बनाउने भएकाले दैनिक सेवन गर्नु फलदायी हुन्छ, कोभिड महामारीको संक्रमणदर तीव्र भएका बेला तुलसी, सुठो, पिप्ला, मरिच, त्रिकटुलाई काँडा पानी बनाएर पिउनेहरू बढेका थिए। कीटनाशक भएकाले पनि वैदिककालदेखि तुलसीको महत्त्व बढेको हो,’ उनले भने।

उपलब्ध वनस्पति र खाद्यान्न स्वास्थ्यसँग सम्बन्धित भएको भन्दै अमृतासमेत भनिने गुर्जो धेरै रोगका लागि लाभदायक रहेको उनको भनाइ छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान विष्णुको प्रतीकका रूपमा पनि लिइन्छ।

असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म ४ महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईको भनाइ छ।

भगवान् विष्णु शयन गर्ने ४ महिनालाई चतुर्मासा पनि भनिन्छ। यसवर्ष साउनमा अधिकमास परेका कारण चान्द्रमास अनुसार ५ महिना हुने भएको छ। एक वर्षमा २४ एकादशी पर्छन् भने अधिकमास परेको वर्ष भने २६ वटा एकादशी पर्छन्। सबै एकादशीका दिन सक्नेले फलाहार मात्र गरेर व्रत बस्छन्। नसक्नेले चतुर्मासाका ४ महिनामा पर्ने आठ एकादशीमा व्रत गर्ने चलन छ।

कामकाजमा सक्रिय हुनुपर्ने र ४ महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्। यी दुवै एकादशीलाई ठूलो एकादशी भन्ने प्रचलन छ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका ४ नारायणलगायत देशभरका नारायण एवम् विष्णु मन्दिरमा भक्तजनको भीड लागेको छ। चतुर्मासाभर देशभरका नारायण मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गरेको छ।

एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ। वैज्ञानिक रूपमा पनि बढी अक्सिजन पाइने भएको तुलसी विभिन्न रोगका लागि औषधीका रूपमासमेत प्रयोग गरिन्छ।

तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ। वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले वास्तु दोष निवारण भई सकारात्मक फल प्राप्त हुने मान्यता छ। तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिक रूपमा पुष्टि भएको छ।

४ महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ।

तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट पूजा आराधनासहित चतुर्मासा व्रतको उद्यापन गरिन्छ। उद्यापनका लागि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म जुराउनु नपर्ने र त्यसपछि भने अग्निस्थापना जुरेका दिन हवन गरी तुलसीको व्रत समापन गरिन्छ।

प्रकाशित: १४ असार २०८० ११:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =