चेलीबेटी बेचबिखनको दलदलबाट निस्किएको सिन्धुपाल्चोकको इचोक गाउँ

हिमाल प्रेस १४ असार २०८० ९:१२
6
SHARES
चेलीबेटी बेचबिखनको दलदलबाट निस्किएको सिन्धुपाल्चोकको इचोक गाउँ

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको इचोक गाउँ। यो गाउँ केही वर्षअघिसम्म युवतीविहीन थियो। छोरीहरू रोजगारीको नाममा मुम्बईका कोठीमा बेचिन बाध्य थिए। दलालहरू घरघर पुगेर छोरी–चेली फकाइफुल्याइ आकर्षक रोजगारी मिलाइदिन्छु भन्दै भारत लैजान्थे।

बाबुआमा आफैं छोरीचेलीलाई दिल्ली र बम्बई पठाउँथे। घरमा टिनको छानो हाल्न होडबाजी चल्थ्यो। अशिक्षित अभिभावकलाई विश्वास थिएन कि आफ्ना चेली बेचिएलान् भनेर। आकर्षक तलब पाउने आसमा युवती गाउँ रित्तै हुने गरी विदेश गए। बाबुआमाले समेत मनग्ये धन कमाएर फर्किन्छे र घरमा टिनको छाना हाल्न पाइने आसमा छोरीलाई विदेश पठाए।

दिल्ली र मुम्बई पुगेका केही चेली फर्किए। केहीले समाजको देखासिकीमा टिनको छानो हाले पनि। तर, मुग्लानपारिको देशमा पुगेकामध्ये कतिपय उतै बेचिए। कोही नारकीय जीवन बिताउन बाध्य भए। कतिपय नेपाली चेली दर्दनाक पीडा खेप्दै विदेशमै अलपत्र परे। यो क्रम धेरै वर्ष कायम रह्यो। चेली बेचिने नाममा बदनाम खेप्नुपर्‍यो इचोकवासीले।

चेलीबेटी बेचबिखनको चौतर्फी हल्ला चलेपछि धैरैको ध्यान यस गाउँले तान्यो। चेलीबेटी बेचबिखन रोकथामको नाममा धेरैले यहाँका बासिन्दाका समस्यालाई कमाइ खाने भाँडो बनाए।

धन कमाउन विदेश गएका कतियप ऊर्जाशील छोरीहरू एचआइभी एड्स जस्तो प्राणघातक रोग बोकेर गाउँ फर्किए। उनीहरूप्रति गाउँमा छिःछि र दूरदूर हुनथाल्यो। आफू कोक्रोमा छँदै विवाहको टुंगो मामाको छोरीसँग भएका पाल्साङ लामा १५ वर्ष पुगेपछि बिहे गर्न खोज्दा मामाकी छोरी अर्कैसँग हिँडेपछि बिहेबाट वञ्चित भइन्।

१५ वर्षको उमेरमा बाबु बितेपछि उन दुई भाइसहित दुःखजिलो गरी हुर्किइन्। अरू युवतीसित विवाह गर्न खोज्दा सम्भव भएन। ‘गाउँका सबै युवती भारत गए, उमेर पुगेका पुरुषलाई बिहे गर्न हम्मे हम्मे भयो,’ उनले भनिन्।

चेलीबेटी बेचबिखनका लागि बदनाम भएको हेलम्बु गाउँपालिकाको इचोक गाउँमा पुरुषलाई बिहा गर्न निकै समस्या भयो। फुपूचेली, मामाचेली बिहे गर्ने परम्परा भएको इचोकको लामा समुदाय छरिएर बसेका छन्। त्यही वरिपरि नै बिहेवारी गर्नु उनीहरूको परम्परा नै बन्यो। चेलीबेटी बेचबिखनले यहाँ बिहेवारी नै रोकिएको थियो।

पाल्साङले जस्तै धेरैले यस्ता समस्या भोगे। आफ्नी मामाको छोरी (मंगेतर) अर्कैसँग हिँडेपछि पाल्साङलाई ठूलो चोट पर्‍यो।

गरिबीले पिल्सिएकी पाल्साङसँग अरूले बिहे गर्न मानेनन्। सिकर्मी काम गरेर जीविकोपार्जन गरिरहेका पाल्साङको इमान्दारी देखेर छिमेकीले छोरी बिहा गरिदिए। ‘भारत जानेलाई कसरी रोक्ने भन्ने कुरा मेरो दिमागमा रातदिन आउन थाल्यो,’ उनले भनेर

बृद्ध आमा र २ भाइको लालनपालनको जिम्मा पनि जेठो भएका कारण पाल्साङकै काँधमा थियो। अझ गरिबीले पिल्सिएका बेला आमाले यी छोरा जन्माउनुको सट्टा छोरी जन्मिएका भए त भारत पठाउँथेँ नि भनेको सुन्दा पाल्साङलाई दिक्क लाग्थ्यो। दिनभरि काममा गए पनि राति त्यही कुराले उनको मन कुटुकुटु खाइरहन्थ्यो।

करिब ६ महिना आफ्ना साथीभाइसँग सल्लाह गरेपछि पाल्साङको अगुवाइमा इचोकका ११ युवा मिलेर समाज उत्थान युवा क्लब गठन भयो।

‘सुरुमा भारत जान रोक लगाउने भन्ने कुरा गर्नै भएन,’ उनले भनिन्, ‘राति राति मात्रै बैठक राखेर काम अघि बढायौं।’ २६ वर्षीय पाल्साङलाई सुरुका दिनमा क्लबका नाममा काम गर्न निकै गाह्रो पर्‍यो।

‘सुरुमा धेरैको हप्कीदप्की खायौं। अहिले सबैले कुरा बुझे,’ उनले भनिन्।

गरिबीले पिल्सिएका पाल्साङले खाने बाटो बनाउन क्लब खोलेको भनी गाउँमा हल्ला चल्यो। यति हुँदा पनि उन बिचलित भइनन्।

‘क्लब स्थापनायता कहिँकतैबाट पनि एक रुपैयाँ लिएको छैन,’ उनले भनिन्, ‘बरु ऋण काढेर क्लबका गतिविधि अघि बढाएको छु।’

पाल्साङको अगुवाइपछि धेर थोर पढेका युवती बेचबिखनविरुद्ध आफैं जुर्मुराएका छन्। आफ्ना समस्या समाधानका निम्ति उनीहरू सक्रिय बनेका छन्। जनचेतना जगाउन घरघर धाउन थालेका छन्।

यसअघि चेली फकाउन दलाल यसरी नै घरघर धाउँथे। अभिभावक र देखासिकीमा भारत जान खोज्ने चेलीहरूलाई उनीहरूले सम्झाइ बुझाइ गर्न थालेका छन्।

‘चेली बेचिने गाउँ इचोकको परिचय अहिले बदलिएको छ। अहिले सबै सचेत छन्। छोरीचेली आफैं सचेत भएका छन्। अभिभावक बढी जिम्मेवार बनेका छन्,’ उनले भनिन्।

अब उनीहरू रोजगारीका लागि भारत होइन, खाडीमुलुकतर्फ जान थालेका छन्। चेलीको चेतनाकै कारण अब दलालहरू गाउँ पस्न हिम्मत गर्दैनन्। यो परिवर्तनका लागि पाल्साङको अहम भूमिका छ।

तथ्यांकअनुसार केही वर्ष अघिसम्म इचोकबाट वर्षेनी ५० भन्दा बढी चेली विदेश जाने गरेका थिए। विदेशिने सबै तामाङ जातिका थिए। उनीहरूको आकर्षकस्थल भारत नै थियो। त्यसयता इचोकबाट विदेशिने युवतीको संख्या घटेको छ। पछिल्लो एक वर्षमा २३ युवती रोजगारीका लागि भारतबाहेक अन्य मुलुक गएका छन्।

इचोक चनौटेमा केही वर्षदेखि क्रियाशील चेलीबेटी बेचबिखन नियन्त्रण तथा परिवार नियोजन संघका प्रमुख दीर्घराज उपाध्याय स्थानिय महिला सक्रिय बनेपछि विदेश जाने चेलीको संख्या घट्दै गएको छ। सिन्धुपाल्चोकका विभिन्न गाउँबाट दलालमार्फत बेचिएर फर्केका झण्डै २ सय ५० महिलालाई समाजमा पुनःस्थापित गराएको उनले बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast