काठमाडौँ- चर्च ब्वाइज युनाइटेड यसपालीको शहिद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेको छ। दशरथ रंगाशालामा मंगलबार थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेलेसँगै चर्च ब्वाइज नयाँ च्याम्पियन बनेको हो। बाल गोपाल महर्जनको प्रशिक्षणमा खेलिरहेको चर्च ब्वाइज लिग सकिन एक चरण बाँकी हुँदैमा विजेता बनेको हो। चर्च ब्वाइजले २४ खेलबाट ४५ अंक बनायो भने दोस्रो स्थानको मछिन्द्र फुटबल क्लबसँग ३९ अंक छ।
मछिन्द्रले अबका दुवै खेल जिते पनि चर्च ब्वाइज हेड टु हेडमा अगाडि रह्यो। जसकारण चर्च ब्वाइजलाई मछिन्द्रले रोक्न सक्ने स्थिती रहेन।
चर्च ब्वाइज ए डिभिजन लिगमा बढुवा भएकै सिजन लिग च्याम्पियन बनेको हो। यसअघि मनाङ मार्स्याङ्दी २०४३ मा ए डिभिजन लिगमा उक्लिएकै सिजन च्याम्पियन बनेको थियो। मनाङको कीर्तिमान अब चर्च ब्वाइजले बराबरी गरेको छ। चर्च ब्वाइज २०६६ मा स्थापना भएको क्लब हो। २०६६ मा स्थापित चर्च ब्वाइज २०७७ सी डिभिजनमा पुगेको थियो। त्यही वर्ष सी डिभिजन जितेको चर्च ब्वाइज २०७८ मा बी डिभिजन विजेता बनेको थियो।