प्रकृति मास्दा आफैँ सकिएपछि…

विवेक विवश रेग्मी २२ जेठ २०८० १८:०२
74
SHARES
प्रकृति मास्दा आफैँ सकिएपछि…

इटहरी-  ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने सन्देशका साथ सोमबार देशभर विविध कार्यक्रम आयोजना गरी वातावरण दिवस मनाइएको छ। कतिपयले वृक्षरोपण गरेर प्रकृतिप्रतिको मोह प्रस्तुत गरे। वातावरण दिवसमा बिरुवा रोप्नेहरूको ध्यान त्यसको रेखदेखमा गएको चाहिँ पाइँदैन।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष जुन ५ मा वातावरण दिवस मनाउन थालिएको हो। विद्यालय स्तरमा वातावरण संरक्षणसँग सम्बन्धित चित्रकला, वक्तृत्वकला जस्ता कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ।

इटहरीस्थित कलालयले स्कुल थिएटरमा हालै मञ्चन गरेका नाटकले वातावरण संरक्षण नगरे मानव अस्तित्व  समाप्त हुन सक्ने सन्देश दिएका छन्। बालबालिकाको अभिनय गरेको यी नाटकले दर्शकको मन जितेको छ।

स्कुल थिएटरमा सिकेका बालबालिकाले विभिन्न पाँच शीर्षकमा नाटक मञ्चन गरेका थिए। वातावरणसँग सम्बन्धित दुई नाटकलाई भने धेरैले मन पराएका छन्। ‘पृथ्वी सफा राख्नुपर्छ,’ र ‘प्रकृति मास्नु भनेको आफैँ सकिनु हो,’ शीर्षकका नाटकले पर्यावरणको अवस्था देखाएका छन्।

नाट्य कलाकार तथा निर्देशक प्रजल दुलालले मान्छे फोहोरै–फोहोरमा रहँदा आफ्नो वरिपरि भएका कुरा बिर्सिंदै गएको बताए। ‘हामी जुन ठाउँमा बसिरहेका छौँ, त्यो ठाउँमा हामी स्वयम् मात्रै भए पुग्छ भन्ने सोचाइ छ,’ हिमाल प्रेससँगको कुराकानीमा उनले भने, ‘हाम्रा वरिपरि के छन् मतलब छैन। खासमा हामीबिना प्रकृति बाँच्न सक्छ, तर हामी प्रकृति बिना बाँच्न सक्दैनौँ।’

आममानिस प्रविधिका कारण धरातल छाडेर माथि पुगेकोजस्तो अनुभव भएको उनले सुनाए। उनले भने, ‘हामी फोहोरमै खेलिरहेका छौँ, रमाइरहेका छौँ। प्रकृतिबारे प्रायः मानिसलाई चिन्ता छैन।’

प्रकृति मास्दा आफैँ सकिने कुरा आममानिसले बुझ्नुपर्ने उनी बताउँछन्। ‘वन विनाशमा कर्मचारी तहबाट हुने सेटिङ र अहिलेको समाजमा हामीले प्रकृतिविरुद्ध जानुहुँदैन भनेर नाराबाजी गर्नेहरू नै भित्रभित्रै प्रकृति मास्न अग्रसर भइरहेको पाइन्छ,’ दुलालले भने, ‘जसले कानुन बनाउँछ उही भित्रभित्रै सक्नेजस्ता प्रचलन छ, यसलाई चिर्न हामीले उक्त किसिमको नाटक गरेका थियौँ।’

प्रकृतिलाई सक्दा मानिस आफैँ सकिने कुरा बुझ्नुपर्ने उनको तर्क छ। ‘हावा चलेन भने बाँच्न कठिन हुन्छ, तर प्रकृति हरेक दिनजसो मासिँदै गएको छ,’ उनले भने, ‘वातावरण दिवसमा मात्रै प्रकृतिबारे सवाल उठ्छन्। वास्तवमा पर्यावरण जोगाउन यो विषयमा बहस हुन जरुरी छ।’

कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीका अनुसार ४ वर्षको उमेरदेखि १६ वर्षसम्मका बालबालिका नाटकमा सहभागी थिए। उनी भन्छन्, ‘अन्य ठाउँमा नाटक सिक्न इच्छुक विद्यार्थी खोज्छन्। हामीले नियन्त्रणबाहिरका बच्चा खोज्यौँ। थिएटरको माध्यमबाट सिकाउने हाम्रो उद्देश्य हो, खास भन्ने हो भने रंगमञ्चले मान्छे बनाउँछ।’

१५ दिने कार्यशालापछि नाटक मञ्चन गरिएको थियो। कलालय इटहरीले आयोजना गरेको आठौँ संस्करणको कार्यशालामा ५२ जना बालबालिका सहभागी भएर नाटक सिकेपछि मञ्चन गरिएको थियो।

स्कुल थिएटरमा बालबालिकाले अभिनय गरेको नाटक हेरेपछि सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नाटकका माध्यमबाट समाजको चित्रण गरिएको बताइन्।

‘नाट्य विधाले समाजको यथार्थ चित्र बताउँछ,’ उनले भनेकी थिइन्, ‘नाटकको पात्र र विषवस्तुले समाजमा महत्त्वपूर्ण प्रभाव पार्छ, नाटक व्यक्त र अव्यक्त भए पनि समाजको सजीव चित्र प्रस्तुत गर्छ।’ उनले नाटकले समाजमा भएका चित्रको तीतो सत्य दिएको बताइन्।

कवि मनु मञ्जिलले बालबालिकाले जे चायो, त्यही बनाउन सक्ने माध्यम नाटक रहेको तर्क गरे। ‘आमाको गर्भमा पनि थिएटर भइरहेको हुन्छ। नाटक गर् भन्दा गाह्रो काम हुन्छ, तर केही नभन्दा नाटक मात्र गरिरहेका हुन्छन्,’ उनले भने, ‘देश, समाज र आममानिस आफैँमा थिएटर हो।’

बालबालिकाले लिएको शिक्षाले समाजमा प्रभाव पार्ने उनको भनाइ छ। कवि मञ्जिल भन्छन्, ‘बच्चामा इमोसन बिल्डब गराउन गाह्रो छ, तर नाटकको माध्यमबाट भने सहज हुन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast