ला लिगा : बेन्जेमाको बिदाइ, रोनाल्डोको क्लब रेलिगेसनमा

हिमाल प्रेस २२ जेठ २०८० १२:२१
16
SHARES
ला लिगा : बेन्जेमाको बिदाइ, रोनाल्डोको क्लब रेलिगेसनमा

काठमाडौँ- अन्तिम खेलमा गोल गर्दै करिम बेन्जेमाले रियल म्याड्रिडबाट बिदा लिएका छन्। स्पेनी ला लिगामा आइतबार राति बेन्जेमाले एथ्लेटिको बिल्बाओविरुद्ध गोल गरे। जुन उनले रियलका लागि गरेको अन्तिम गोल बन्यो। यो खेलसँगै रियलले यसपालिको ला लिगा दोस्रो स्थानमा रहँदै समापन गर्‍यो।

सान्टियागो बेर्नाबेउमा बेन्जेमाले ७२ औँ मिनेटमा पेनाल्टी गोल गरेका थिए। उनको यो गोलले रियललाई हारबाट जोगायो। किनभने बिल्बाओले दोस्रो हाफको ४९ औँ मिनेटमा अग्रता लिएको थियो। बिल्बाओका लागि ओइहान सान्सेटले गोल गरेका थिए।

यो सिजनको ला लिगा सकिएकै दिन रियल भाल्लाडोलिड रेलिगेसनमा पर्‍यो। गेटाफेसँग गोलरहित बराबरी खेलेपछि भाल्लाडोलिड १८ औँ स्थानमा अड्किएको हो। ब्राजिलका पूर्वखेलाडी रोनाल्डोको स्वामित्वमा रहेको भाल्लाडोलिडसँगै इस्पान्योल र एल्चेले पनि अर्को सिजन दोस्रो श्रेणीको लिग खेल्नेछन्।

उता च्याम्पियन बार्सिलोनाले भने हार व्यहोर्‍यो। बार्सिलोनामाथि घरेलु मैदानमा २-१ को जित दर्ता गरेपछि सेल्टा भिगो रेलिगेसनबाट बच्यो। अन्तिम दिनको यो नतिजापछि मात्र सेल्टा र रेलिगेसन क्षेत्रबीच तीन अंकको दूरी कायम भएको हो।

काडिथ, गेटाफे, भ्यालेन्सिया र अल्मेरिया पनि रेलिगेसनबाट जोगिए। अल्मेरिया रेलिगेसन क्षेत्रबाट मात्र एक अंकले माथि रह्यो भने अरु तीन टिमले भाल्लाडोलिडसँग दुई-दुई अंक दूरी स्थापित गर्नसके।

बेन्जेमाले रियल छाड्ने खबर आइतबार दिउँसो मात्र आइपुगेको थियो। १४ वर्ष रियलमा रहेका कप्तान बेन्जेमाले स्थान्तरण चाहेको सुनाउँदा आफूले रोक्ने प्रयास नगरेको प्रशिक्षक कार्लो एन्सिलोट्टीको भनाइ थियो। ‘मलाई उनले आफ्नो निर्णय बिहान सुनाए। जब उनले निर्णय नै लिइसके भने मैले उनलाई रोक्नुको अर्थ हुँदैन थियो। उनले गरेको यो निर्णयप्रति मेरो सम्मान छ। मैले उनलाई यही कुरा सुनाएँ,’ एन्सिलोट्टीले भने।

जुलाई, २००९ मा फ्रान्सको लियोनबाट रियल पुगेको बेन्जेमाको स्पेनी क्लबसँग सम्झौता यही जुन ३० मा सकिँदैछ। सम्झौता सकिन लागे पनि उनले केही दिनअघि मात्र रियलमै बस्ने संकेत गरेका थिए।

एन्सिलोट्टीका अनुसार बेन्जेमाले शनिबार मात्र पनि आफू नयाँ सम्झौताका लागि तयार रहेको बताएका थिए। तर एक दिनमै उनले निर्णय परिवर्तन गरेकोमा आफू छक्क परेको एन्सिलोट्टीको भनाइ थियो।

‘मैले विश्वकै उत्कृष्टमध्येका एक खेलाडीलाई प्रशिक्षण दिन पाए। उनी फगत स्ट्राइकर मात्र होइनन्। हरेक पक्षमा निपुण फुटबलर हुन्। गम्भीर स्वाभावका उनी मेहनती छन्। उनको रियल छाड्ने निर्णयलाई सम्मान गर्नुपर्छ। किनभने उनी यो क्लबका लेजेन्ड हुन्,’ एन्सिलोट्टीले भने।

बेन्जेमाले रियलमा कुल ६४७ खेल खेले। तिनमा ३५३ गोल गरे। उनको नाममा १६५ असिस्ट पनि छन्। ला लिगामा मात्र ४३८ खेल खेलेका बेन्जेमाले यो प्रतियोगिता चार पटक जिते। च्याम्पियन्स लिग भने पाँच पटक जितेका छन्। बेन्जेमा अब कता जान्छन्, टुंगो छैन। पछिल्लो समय उनी साउदी अरब जाने हल्ला चलिरहेको छ। जहा उनका पूर्वसहकर्मी क्रिस्टियानो रानोल्डो पहिल्यै पुगिसकेका छन्।

भाल्लाडोलिडमा परिवर्तन आवश्यक

ला लिगा फर्किएको एक सिजनै रेलिगेट भएपछि भाल्लाडोलिडका अध्यक्ष रोनाल्डोले क्लबमा व्यापक परिवर्तन गरिने प्रतिक्रिया दिए। सन् २०१८ मा भाल्लाडोलिडको बुहमत सेयर खरिद गरेका रोनाल्डोले परिवर्तनको सुरुवात गरिसकेका छन्। उनले गत शनिबारै प्रशिक्षक सर्जियो गोन्जालेजलाई बर्खास्त गरेका थिए।

‘नयाँ प्रशिक्षको खोजी भइरहेको छ। केही प्रशिक्षकसँग छलफल जारी छ। हामी प्रशिक्षक नियुक्ति मात्र होइन अन्य परिवर्तनको घोषणा पनि गर्दै जानेछौँ,’ रोनाल्डोले भनेका छन्।

पछिल्ला १२ खेलमा जितविहीन भएको भाल्लाडोलिडले लगातार चार खेलमा पराजय भोगेको थियो। कुल ११ खेल जितेको भाल्लाडोलिडले ३३ गोल गर्दा ६३ गोल खायो। ‘यो अत्यन्तै खराब सिजन थियो। जबकि हामीले ला लिगामा रहन आवश्यक पर्ने लगानी गरेका थियौँ,’ रोनाल्डोको भनाइ थियो।

रेलिगेसनका कारण क्लब समर्थक निराश हुनु स्वाभाविक भएको बताउँदै रोनाल्डोले आफू भाल्लाडोलिडलाई ला लिगा फर्काउन प्रतिबद्ध रहेको पनि बताए।

प्रकाशित: २२ जेठ २०८० १२:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast