यसरी हुन्छ हात्तीको ‘न्वारान’

केशव राना क्षेत्री २२ जेठ २०८० ९:५७
22
SHARES
यसरी हुन्छ हात्तीको ‘न्वारान’ छावा 'शेषचन्द्र गज'। २०७१ सालमा तस्करहरूको गोली लागेर मृत्यु भएका चितवन निकुञ्जका सिनियर गेमस्काउट शेषचन्द्र चौधरीको नामबाट छावाको नाम राखिएको हो। तस्बिरः डा. बाबुराम लामिछाने

चितवनमा सबभन्दा धेरै आतंक मच्चाउने हात्ती कुन हो ? भन्यो भने नाम आउँछ ध्रुवे। २०६६ देखि आतंक मच्चाउन सुरु गरेको ध्रुवेले २०६९ सालसम्म आतंक मच्चायो।

रातारात ‘सेलिब्रेटी’ झैं बनेको ध्रुवेले सञ्चारमाध्यममा ठाउँ पायो। विभिन्न दृष्टिकोणबाट ध्रुवेको  चर्चा हुन थाल्यो। आजसम्म पनि ध्रुवेको चर्चा भइरहन्छ। नहोस् पनि किन ठूलो जनधनको क्षति जो गरेको थियो। तर धेरैले ख्याल नगरेको विषय हो हात्तीको नाम। ध्रुवे नाम कसरी रहन गयो त?

चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारी भन्छन्, ‘राप्ती नदी किनारमा ध्रुवघाट छ। सँगै ध्रुवपोष्ट राखिएको छ, त्यही पोष्टमा पहिलोपटक आक्रमण गरेको हुनाले त्यो हात्तीको नाम ध्रुवे राखियो।’

हात्तीले सो पोष्टमा रहेका सिपाही रिद्दीवीर दोङलाई आक्रमण गरी मारेको थियो। सो हात्तीको नाम रिद्दीवीर राख्नुपर्छ भनेर चर्चा पनि नचलेको होइन। तर सो पोष्टमा हात्ती धेरै आउने गर्न थालेपछि उसको नाम ध्रुवे रहन गएको भण्डारी बताउँछन्।

चितवनमा अर्को चर्चित हात्ती छ, रोनाल्डो। रोनाल्डो हात्ती त्यसबेला देखियो जतिबेला विश्वकप फुटबल (सन् २००२) चलेको थियो। ब्राजिलका खेलाडी रोनाल्डोले धेरै गोल गरेका कारण त्यो हात्तीको नाम रोनाल्डो राखिएको चितवन राष्ट्रिय निकुञ्जका हात्तीसारका पूर्वप्रमुख बुधन चौधरी बताउँछन्।

‘रोनाल्डो जता पनि पुगेर गोल हान्ने गर्थ्यो। त्यस्तै यो हात्ती पनि कहिले सौराहा, कहिले हात्तीसार, कहिले गाउँतिर पुगेर पोथी हात्ती भेट्न पुगिहाल्ने भएकाले रोनाल्डो राखियो,’ हाँस्दै उनी भन्छन्।

खास गरी हात्तीको नाम त्यसबेलाको चर्चित व्यक्तिहरूको नामबाट राखिने चितवन राष्ट्रिय निकुञ्जका पूर्व पशु प्राविधिक प्रमुख डा. कमलप्रसाद गैरेले बताए।

छावा ‘भद्रगज’ आमा हिमानीकलीको साथमा। हिमानीकलीको नाम पूर्वयुवराज्ञी हिमानी शाहको नामबाट राखिएको हो।

मान्छेको नामबाट मात्रै होइन, कतिपय अवस्थामा ठाउँको नामबाट पनि हात्तीको नामकरण गरिन्छ। चितवनका गोविन्दपुर भन्ने ठाउँ छ। त्यस ठाउँमा एउटा हात्ती प्रायः देखिरहन्थ्यो। त्यसको नाम गोविन्दे राखियो।

‘त्यसबेलाको चर्चित व्यक्ति, हात्ती प्रायः देखिइरहने ठाउँ, देवीदेवतालगायतको नामबाट राखिन्छ,’ गैरे भन्छन्, ‘खास गरी यसको एउटै मुख्य उद्देश्य हो, हात्तीको पहिचान गर्नु।’ सरकारी हात्तीको नामजस्तै विभिन्न संघसंस्थाले पनि आफ्नो हात्तीको नाम विभिन्न किसिमबाट जुराउने गर्छन्।

केही वर्षअघि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) चितवनको कृतिकली नाम गरेको हात्ती ७० वर्षको उमेरमा कालगतिले मर्‍यो। त्यो हात्तीको नाम कीर्तिमान तामाङको नामबाट राखिएको थियो।

कुनै बेला चितवनमा टाइगर इकोलोजी भन्ने प्रोजेक्ट थियो, त्यसको संस्थापक प्रमुख कीर्तिमान तामाङ थिए। उनकै नामबाट त्यो हात्तीको नाम राखिएको थियो। पहिले-पहिले शाही नामबाट हात्तीको नाम राखिन्थ्यो। जस्तैः ऐश्वर्यमाला, वीरेन्द्रप्रसाद, महेन्द्रगजलगायत।

त्यसबेला हात्ती नामकरणका लागि सम्भावित नामहरू दरबारमा पठाइन्थ्यो। पछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमोदन गराउन थालियो।

आजभोलि हात्तीसारका कर्मचारीले नाम राखेर सम्बन्धित निकुञ्ज कार्यालयमा पठाउँछन्। बाहिरी देशमा उपहार स्वरूप वन्यजन्तु पठाउने बेला भने सरकारले नै नाम राखेर पठाउने गर्छ।

पण्डितलाई देखाएर नामकरण

चितवनका हात्तीसार पूर्वप्रमुख चौधरीका अनुसार पण्डितलाई देखाएर छावाको नाम राखिन्छ। ‘१२ दिन पुगेपछि छावा पण्डितलाई देखाइन्छ,’ उनले भने, ‘पण्डितले दिएको पहिलो अक्षरबाट नै नाम राखिन्छ।’ पहिले देवीदेवताको नामबाट राख्ने प्रयास गरिन्छ। नाम जुधे भने संरक्षणसँग सम्बन्धित उपल्लो तहका व्यक्तिहरूको नामबाट पनि जुराइन्छ।

आखिर हात्तीलाई किन नामको आवश्यकता पर्छ त ? हात्ती विज्ञ नरेन्द्रमान प्रधान भन्छन्, ‘हात्तीको पहिचानका लागि नाम आवश्यक पर्छ।’

हात्तीको दरबन्दी हुने र उसको नाममा छुट्टै रासन आउने भएकाले पनि हात्तीको नाम आवश्यक भएको उनको भनाइ छ। ‘आधिकारिकताका लागि हात्तीको नाम अनिवार्य गरिएको हो,’ उनी भन्छन्।

प्रकाशित: २२ जेठ २०८० ९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eight =