काठमाडौँ उपत्यकाका सुन्दर डाँडाहरूलाई हरिया वन-उपवनले घेरेका छन्। प्रकृतिको वरदान पाएका हरियालीले भरिएका यी वनमा विभिन्न प्रजातिका वनस्पति पाउँछन्। त्यतिमात्र नभई यहाँ पाइने सरीसृप, किराफट्याङ्ग्रा, चौपाया र चराचुरंगीले वनलाई थप सुन्दर बनाएका छन्।
यो ठाउँ यति धेरै प्राकृतिक विविधताले शृंगारिएको छ कि यहाँको सुवासले कान्तिपुरी नगरी मगमगाउँछ। हिउँदमा हिउँले शिवपुरी र फूलचोकीलाई सजाउँछ। त्यो देखेर मन भावातिरेक हुन्छ। प्रकृतिमै एकाकार हुन मन लाग्छ।
वसन्त ऋतुको आगमनसँगै गोदावरीको सुरम्य उद्यानमा निस्फिक्री डुल्ने रहर पलाउँछ। जीवन भनेको वृत्ति पनि हो। बाँच्नका लागि गरिने परिश्रम। मन र वृत्तिको सामञ्जस्य मिल्न अति कठिन छ।
कहिले बाह्रबर्से मेलाको अवसर पारेर त कहिले केही मौका छोपेर धेरैपटक गोदावरी भ्रमण गरियो। तर फूलचोकीको शिखरमा पुग्ने साइत जुर्न धेरै कुर्नुपरो। लामो समयदेखिको चाहनाले गत शनिबार सार्थकता पायो। हुन त २०३४/३५ सालतिर पनि एकपटक साथीभाइसँग गइएको थियो। त्यस भ्रमणको धूमिल सम्झनामात्र छ। त्यो समय गोदावरीको डाँडा काटेर डाँडापारीको गाउँ भारदेउमा बास बसिएको थियो। भोलिपल्ट बिहान गुप्तेश्वरको दर्शन गर्दै फूलचोकी पुगेर गोदावरी झरेको सम्झना छ। अतीतका ती सम्झना अहिले बिरानाजत्तिकै भएका छन्। पुनर्ताजगीका लागि फूलचोकी सधैँ एउटा चुनौती रह्यो।
यसपटकको सप्ताहन्त झोला भिरेर लागियो फूलचोकी चढ्न। बिहान ७ बजे भृकुटीमण्डपबाट हिँडेका हामी करिब सवा ८ बजे गोदावरी पुग्यौँ। गोदावरी पुग्दामात्र पनि मानसपटलमा थुप्रै कथा जोडिन आइपुग्छन्।
अहिले त झन् त्यहाँ पाँचतारे होटल बन्दै रहेछ। गोदावरीको भित्तालाई मार्बल उद्योगले कोपरेर छियाछिया बनाएको छ। चट्टानको घाउ देखेर मन कटक्क खायो। वातावरणीय प्रभाव र जैविक विविधतामा परेको नकारात्मक असरबारे साथीभाइले कुरा गरे। चित्त दुखाए। चिन्तित भए।
फूलचोकी भौगर्भिक हिसाबले ढुंगा खानी, मार्बल र स्लेटका लागि प्रख्यात छ। केही वर्षअघिसम्म यहाँको चट्टानबाट मार्बल निकालेर बेचिएको याद छ। यहाँ ढुंगाको मात्र नभएर फलाम खानी पनि रहेको कुरा भूगर्भवेत्ताले बताउने गरेका छन्।
गोदावरी धार्मिक तथा सांस्कृतिक रूपमा हिन्दूहरूका लागि पवित्र स्थान मानिन्छ। प्रत्येक वर्ष जनैपूर्णिमामा यहाँ मेला लाग्छ। साथै प्रत्येक १२ वर्षमा ठूलो मेला पनि लाग्छ।
यहाँको पाँचधारा कुण्डमा गोसाइँकुण्डको पानी आइपुग्छ भन्ने मान्यता छ। त्यो पानी बगेर भारतमा रहेको गोदावरी नदीमा गएर मिसिने जनविश्वास छ।
जैविक विविधताले सम्पन्न गोदावरीलाई वनस्पतिको संरक्षण, वैज्ञानिक अनुसन्धान गरी प्रवर्धन गर्न र प्राकृतिक सुन्दरताको अवलोकन गर्नसमेत २०१९ सालमा राष्ट्रिय वनस्पति उद्यान बनाइएको थियो।
फूलचोकीको फेदीमा रहेको यो उद्यानलाई बेलायती वास्तुविद् जीएसी हार्कलोट र टानी सिलिङ मिलेर गरेका थिए। करिब ८२ हेक्टर जमिनमा फैलिएको छ उद्यान। यहाँ २५६ प्रजातिका चरा, ३०० किसिमका पुतली र विभिन्न थरीका अर्किड फूल पाइन्छन्। ५३० प्रजातिका बोटबिरुवा संरक्षण गरिएको छ।
पदयात्रामा अर्किड फूल देखेर हामी प्रफुल्लित भयौँ। गोदावरीमा हरियो सर्प अर्थात् हरेउ पनि पाइन्छ। यस्तै प्राकृतिक विविधताको कारणले ललितपुर र काभ्रेपलाञ्चोक जिल्लामा पर्ने यो क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गरिएको छ।
गोदावरीमा पाँच धारा मात्र होइन नौ धारा पनि छ। प्रायः यही नौ धाराबाट पदयात्रा सुरु गरिन्छ। नौधाराभन्दा अलि माथिबाट हामीले पनि पदयात्रा थाल्यौँ। गोदावरीदेखि गरिने पदयात्राका लागि दुईवटा पदमार्ग प्रचलित छन्। एउटा गोदावरीबाट समानान्तर सडकको किनारा हुँदै सीधै माथि जाने। यो बाटो आउजाउ गर्दा १६ किलोमिटर हिँड्नुपर्छ। अर्को बाटो हो नौ धाराबाट तीन किलोमिटर माथि गएर प्राकृतिक ट्रेल हुँदै दक्षिण लेलेतर्फ जाने बाटोको १८०० मिटर उचाइको देउराली पहाड र त्यसपछि २४०० मिटरको अर्को लामीडाँडा पहाड हुँदै फूलचोकी शिखर पुग्ने। यो बाटोबाट जाँदा करिब १८ किलोमिटरको यात्रा गर्नुपर्छ।
१४५० मिटरको उचाइबाट सुरु गरिएको यात्रा २७६१ मिटरसम्मको उचाइमा पुगेर ओरालो झर्नु थियो। मनमा उत्साह र जोस बोकेर हामी पदयात्रा सुरु गर्यौँ। शीतले भिजेका पाखा चिसै देखिन्थे। केही दिनदेखि परेको पानीले यी भिरपाखा पनि रसाएका थिए। चिसा पाखा मान्छेजत्तिकै चिसा हुन्छन्।
वनकुसुमको सौन्दर्यमा रमाएर नजिकिँदा परजीवी जुका टाँस्सिने गर्छन्। नभन्दै जुकाले भेटिसकेको रहेछ। के चिलायो भनेर हेर्दा त ऊ पुटुक्क मोटाउन भ्याइसकेछ।
शिवपुरीमा पाइने वनस्पतिका प्रजाति र फूलचोकीमा पाइने प्रजाति उचाइ बढेसँगै फरक देखिँदै जान्छन्। शिवपुरीमा काफल देखिँदैन। तर यहाँ निँगालाको झाडीमात्र होइन प्रशस्त काफलका बोट पनि पाइन्छन्। १८०० मिटरको उचाइदेखि २४०० मिटरको उचाइसम्म काफलका बोट पाइन्छन्। यी बोटमा फल्ने काफल पनि।
उकालोमा हिँड्दा भुइँ हेरेर हिँडिन्छ। आक्कलझुक्कल वरपर दृष्टि लगाएर हेरिन्छ। थाकेर रोकिँदा परिवेश नियालिन्छ। नुगेका हाँगा, लहरासँग मितेरी लगाइन्छ। जंगली काँडालाई छलेर हिँड्दै जाँदा कति ठाउँमा लहरा पन्छाएर हिँडियो। काँडाले टोपी उछिट्याउँदा पहरासँग ठोक्किन पुग्छ। पाकेका फल चराले जुठो बनाएर भुइँमा छरेपछि पदयात्रीका आँखा पर्छन्। उकालोसँग मितेरी लगाउँदै गर्दा भर्याङमा पाइला घिसार्दै भुइँमा छरिएका रातागेडी काफलले रोकिने बनायो। झुकेको नजरलाई उठाएर हेर्दा काफलले स्वागत गर्यो।
काफल गेडी कुटुक्क
मनै भुतुक्क
म त भुलेँ हाँगामा
मनै रमायो काफल दानामा।
काफलसँगको लालित्यपूर्ण स्वादिष्ट संवेगपछि पदयात्रा अगाडि बढायौँ। ढुंगालाई चिनेर उक्लने सिँढी बनाइएको छ पहाडको शिरैसम्म। कतैकतै भने यो सिलसिला टुटेको छ र बाटो बिराएर हराउने सम्भावना रहन्छ। निँगालाघारी छिचोलेर हिँड्दा मनमा त्रास बढ्ने रहेछ, कतै चितुवाले आक्रमण पो गरिहाल्छ कि!
पाँच घण्टा हिँडेपछि फूलचोकीको शिखरमा पुगियो। त्यहाँ पुग्नु आनन्द विजयको भाव पनि हो। त्यहाँभन्दा माथि जानु छैन। फूलचोकी काठमाडौँलाई सबैभन्दा उचाइबाट हेर्ने बिन्दु हो। यहाँबाट उत्तरमा सगरमाथा, गौरीशंकर, लाङटाङ, गणेश, अन्नपूर्णलगायत हिमाल देखिन्छन्। ३६० डिग्री घुमेर प्रकृतिको सौन्दर्यपान गर्न सकिन्छ।
त्यहाँबाट काठमाडौँलाई हेर्दा तुवाँलोले ढाकेर धूमिल देखिन्छ। तुवाँलो धुलोधुवाँको कणबाट परावर्तित प्रदूषणको कारणले भएको हो भन्नेमा शंका छैन। काठमाडौँवासी प्रदूषणयुक्त वायुमा सास फेर्न अभिसप्त छन्। उपत्यकाको चार सुरमा रहेका फूलचोकी, शिवपुरी, जामाचो र चन्द्रागिरी साक्षी भएर रहेका छन्। भस्मासुर र वाणासुरको दृष्टि पनि काठमाडौँमा परेको छ। चोभारको गल्छीबाट बागमतीको निमास गरेजस्तै।
पानी धेरै पर्ने भएकाले फूलचोकीमा छिनछिनमै हुस्सु लाग्ने, बादलले घेर्ने गर्छ। मौसमी विविधताले गर्दा र समउष्ण जलवायुको प्रभावले यहाँको पर्यावरण रुमानी छ। अनेक प्रजातिका फूल पाइने भएको हुँदा यसको नाम फूलल्चोकी रहन गएको हो भन्ने कुरा यथार्थको नजिक लाग्छ।
फूलचोकीमा लालीगुराँस, ओखर, सल्ला, चिलाउने, कटुसजस्ता वनस्पतिको बाहुल्य रहेको पदयात्रामा देखियो। बँदेलले कोतरेको जमिन देखिन्छ। त्यसैगरी चितुवा, रतुवा मृग, मलसाँप्रो, निरबिरालोजस्ता जनावर पनि पाइन्छन्।
फूलचोकी शिखरमा नेपाली सेनाको ब्यारेक छ। नेपाल टेलिकमको टावर पनि छ। भनिन्छ, भूकम्पको परकम्पन मापनका लागि भूकम्पमापन मेसिन पनि जडान गरिएको छ।
फूलचोकी देवीको मन्दिर छ। देवी दलचोकी र सानचोकी बहिनीको जेठी दिदी हुन्। अर्थात् यी तीनै देवी काठमाडौँ वरपरका शिखरमा बसेका छन्। फूलचोकीमा साउन-भदौमा मेला लाग्ने गर्छ।
फूलचोकी देवीको दर्शनपछि हामी गोदावरीतर्फ ओरालो लाग्यौँ। गोदावरीदेखि फूलचोकी शिखरसम्म कच्ची बाटो निर्माण गरिएको छ। अहिले कंक्रिटकको ढलान गर्ने कार्य भइरहेको छ। सवारी चलाउनेका लागि सहज लाग्ने भए पनि पर्यावरण संरक्षणका हिसाबले यस किसिमको सिमेन्टबाट सडक निर्माण गरिनु ठीक होइन। यसले नकारात्मक असर पार्छ।
फराकिलो सवारी हिँड्ने बाटोबाट आउने हो भने शिखरदेखि फेदीसम्म ११ किलोमिटर छ। पदयात्राको ट्रेल समातेर आउँदा आठ किलोमिटर पर्छ। हामी प्राकृतिक गोरेटो बाटो हुँदै आयौँ।
शिखरबाट झर्दा घना जंगलको बाटो छ। दिन ढल्दै गएपछि अलिअलि डरले छोप्न थाल्यो, कतै उज्यालो हुँदै फेदीमा पुग्न सकिएन भने। मन आत्तिन थाल्यो।
एकपटक साथीहरूसँग फूलचोकी शिखरबाट तल फेदीमा झर्दा छोरा बाटो बिराएर हराएको घटना सम्झिएँ। समूहबाट छुट्टिएर एक्लै भएछ। अनि अँध्यारो छिप्पिँदै गएपछि बाटो बिराएछ।
ऊ नआएपछि साथीहरूमा खैलाबैला भयो। सबै कराउँदै फेरि उकालो चढेछन्। मेरो छोराचाहिँ रूख चढेर बस्ने निधो गरेर झोक्राएर बसेको अवस्थामा साथीहरूले फेला पारेर ल्याएका रहेछन्। यो प्रसंग सुनाउँदा उसले भनेको थियो, ‘उज्यालोमा मानिस हराउँदैन, अँध्यारोमा हराउँछ।’
साँझ परेपछि त्यही कुराले मलाई झस्काइरहेको थियो। साँझको समयमा जंगलको बाटो फेदीतर्फ झर्दै गर्दा छोराले बेहोरेको मानसिक पीडा, भय, भावना र संवेगलाई मैले त्यतिखेर अनुभूत गरेँ। सूर्य अस्त हुँदै गर्दा नौधारा आइपुगेँ।
मानिस आफैँ हराउन हुँदैन
हराउने मानिसको ठेगाना हुँदैन
ठेगाना नहुनेको परिचय हुँदैन
त्यसैले मानिस हराउनु हुँदैन।
पदयात्रालाई गोदावरीको फेदीमा टुंग्याउँदा आत्मसन्तुष्टि मिल्यो। फूलचोकी कठिनतम पदयात्रामध्ये एक हो। यहाँ जाँदा पथ प्रदर्शक र समूहमा जानुपर्छ। अन्यथा मानिस आफैँ हराउँदैन तर बाटो बिराएपछि मानिसको होसचाहिँ हराउँछ। अनि आफू हिँडेकै बाटो बिर्सन्छ। मानिस उज्यालोमा हराउँदैन, अँध्यारोमा हराउँछ।