ओलम्पिकमा भारतको प्रतिनिधित्व गरेका कुस्तीबाज मंगलबार साँझ हरिद्वारस्थित गंगा किनारामा पुगे। उनीहरू हिन्दु धर्मावलम्बीका लागि तीर्थस्थल मानिने गंगा पुग्नुको उद्देश्य थियो, निर्णायक आन्दोलन।
दुई दिनअघि मात्र उनीहरूमाथि प्रहरीले धरपकड गरेको थियो। नयाँ दिल्लीमा उनीहरूको पाल फ्याँकिदिएको थियो। जहाँ उनीहरू धर्ना बसिरहेका थिए। महिला कुस्तीबाजमाथि भएको यौन दुर्व्यवहार छानबिन हुनुपर्ने मागसहित उनीहरूको धर्ना चल्दै थियो।
यौन दुर्व्यवहारकाे आरोप भारतीय कुस्ती संघका अध्यक्ष वृजभूषण शरण सिंहमाथि लगाइएको हो। उनी सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता पनि हुन्। उनले बन्द प्रशिक्षणमा राखिएका महिला कुस्तीबाजमाथि यौन दुर्व्यवहार गरेको आरोप छ। तर सिंहले आफूमाथि लगाइएको आरोप राजनीतिक प्रतिशोध भएको दाबी गर्दै आएका छन्।
सिंहमाथि अनुसन्धान र कारबाही नभएपछि खेलाडी आन्दोलनमा उत्रिएका हुन्। आन्दोलन आखिरमा धर्नामा परिवर्तन भएको थियो। धर्नाले पनि भाजपा सरकारलाई नछोएपछि उनीहरू आफूहरूले जितेका अन्तर्राष्ट्रिय पदक गंगामा बगाउने निर्णयमा पुगेका हुन्।
गंगामा फालिने भनिएका पदकमध्ये दुई ओलिम्पिक कास्य पनि छन्। ‘यी पदक घाँटीमा झुन्ड्याउनुको अब कुनै अर्थ छैन। आत्मसम्मानबिनाको जीवनमा यी पदकको मूल्य छैन,’ ओलिम्पिक पदकधारी जरंग पुनिया र शाक्क्षी मल्लिक तथा एसियाडमा स्वर्ण जितेका विनेश फोगतले जारी गरेको विज्ञप्तिमा भनिएको थियो।
गंगा किनारमा पुगेका खेलाडीहरू ठूलो भीडबाट घेरिए। उनीहरूलाई पदक नफ्याँक्न आग्रह गर्दै धेरै मान्छे त्यहाँ पुगेका थिए। उनीहरूलाई करिब दुई घण्टा सम्झाइयो। यसको अगुवाइ नरेश टिकाइटले गरेका थिए। जो सन् २०२१ मा भारतमा चलेको किसान आन्दोलनका नेता हुन्। आखिरमा आन्दोलनकारी खेलाडी थप पाँच दिन पर्खन तयार भए।
यी खेलाडी अप्रिल २३ देखि नयाँ दिल्लीको जन्तरमन्तरमा धर्ना बसेका थिए। त्यहाँबाट लखेटिएपछि मात्र गंगा पुगेका हुन्। जन्तरमन्तरमा धर्ना बसेका खेलाडी लखेटिनुको सन्देश प्रस्ट छ, भारतको राजधानी नयाँ दिल्लीमा अब आन्दोलनस्थल मासिँदै छन्।
अभियानकर्ता, राजनीतिक विश्लेषक र विपक्षी दलका नेताका अनुसार भाजपाले भारत चलाउन थालेपछि यस्ता ठाउँ मासिने क्रम बढेको हो। किनभने नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारलाई असहमतिका आवाज मन पर्दैन।
भारतमा कैयौँ विषय र मुद्दा छन्, जसबारे बहस भइरहेका छन्। कतिपय मुद्दा संसद्मा पनि प्रेवश हुन्छ। जहाँ भाजपाको बहुमत छ। बहुमतकै आडमा यस्ता मुद्दालाई संसद्मा ओझेलमा पारिन्छन्। संसद्मा कुरा नसुनिएपछि नयाँ दिल्लीका सडकबाट विरोधका आवाज बुलन्द बनाउने प्रयास हुन्छ। तर शक्तिशाली गृहमन्त्री अमित शाह प्रहरी परिचालन गरेर नयाँ दिल्लीका सडक खाली गराउँछन्।
प्रहरीले नपुगे मिडिया छँदैछ। भाजपा र सरकारविरुद्ध उठेका प्रश्न र प्रश्नकर्तालाई कुल्चिन राष्ट्रिय टेलिभिजनमा एकपक्षीय बहस चलाइन्छ। इन्टरनेटमा ‘ट्रोल आर्मी’ परिचालन गरिन्छ। भाजपा समर्थित ‘सोसल मिडिया इन्फ्लयुन्सर’ पनि छँदैछन्।
यस्तो परिस्थितिमा आफ्ना गुनासा र माग सम्बोधन गराउन कति गाह्रो छ, महिला कुस्तीबाजले अनुभव गरिसकेका छन्। यौन दुर्व्यवहार र हिंसा भोग्ने महिला कुस्तीबाज मात्र होइन, आममहिलाको सुरक्षाका लागि कैयौँ कानुन बनाइएका छन्। पहिल्यैबाट भएका कानुन पनि परिमार्जन गरिएका छन्।
तर बेलाबेला उजागर हुने यस्ता घटनाले भारत कहाँ छ, छर्लंग हुन्छ। राजनीतिक शक्तिको प्रयोग गरी आन्दोलनकारी महिलाको मुख थुन्ने प्रयत्न गरिनुको अर्थ हो, भारत अझै पनि करोडौँ महिलालाई घरबाहिर निस्किन दिन तयार छैन।
कुनै समय मोदी यी महिला कुस्तीबाजको खुबै तारिफ गर्थे। पुरुष खेलाडीको बाहुल्य रहेको कुस्ती खेलमा महिला खेलाडीको संख्या वृद्धि हुँदा होस् वा उनीहरूले अन्तर्राष्ट्रिय मञ्चमा सफलता हासिल गर्दा होस्, मोदीले खुसीयाली मनाएकै हुन्। तर अहिले तिनै मोदी आफ्ना पार्टीका नेता तथा ६ पटक सांसद भएका व्यक्तिमाथि गम्भीर आरोप लाग्दा मौन छन्।
आन्दोलनकारी खेलाडी भने प्रहरीको अनुसन्धानलाई विश्वास गर्ने आधार नभएको बताउँछन्। किनभने नयाँ दिल्ली प्रहरीले अनुसन्धान थालेकै सर्वोच्च अदालतको आदेशपछि मात्र हो। नत्र त प्रहरीले उजुरी दर्ता गर्न मानेको थिएन। ससाना र कम गम्भीर घटनमा मान्छे समातिहाल्ने भारतीय प्रहरीले सिंहलाई छाडिदिएको छ। जबकि भारतीय कानुनअनुसार नाबालिगमाथि यौन दुर्व्यवहारको आरोप लागेकालाई तत्काल समात्नुपर्छ।
आन्दोलनकारी खेलाडीका अनुसार कुस्ती संघका अध्यक्ष सिंहले कम्तीमा नौ महिला खेलाडीमाथि यौन दुर्व्यवहार गरेका छन्। नौमध्ये एक त नाबालिग रहेको दाबी छ। उनीहरूका अनुसार ६६ वर्षीय सिंहले दुर्व्यवहारको सिलसिला चलाएको सन् २०१२ देखि हो।
सिंह सबै आरोप झुटो रहेको बताउँछन्। ‘ममाथि लागेका आरोप प्रमाणित भए, झुन्डिन तयार छु,’ सिंहले बुधबार भने। सिंहको पार्टी भाजपका नेता पनि खेलाडीलाई विश्वास गर्न तयार छैनन्। उनी उल्टै के भन्छन् भने, ‘यी आरोप विपक्षी पार्टीहरूले भाजपा सिध्याउन तयार पारेको रणनीतिको अंश हो।’ अर्को वर्ष आमनिर्वाचन हुन लागेकाले विपक्षी पार्टीहरू खेलाडीको प्रयोगमा लागेको भाजपाको दाबी छ। ‘अनुसन्धान भइरहेको छ। खेलाडीहरूले प्रहरी र खेलकुद नियामक संस्थाको अनुसन्धानलाई विश्वास गर्नुपर्छ,’ भाजपा यही भन्छ।
आन्दोलनकारी खेलाडी भने प्रहरीको अनुसन्धानलाई विश्वास गर्ने आधार नभएको बताउँछन्। किनभने नयाँ दिल्ली प्रहरीले अनुसन्धान थालेकै सर्वोच्च अदालतको आदेशपछि मात्र हो। नत्र त प्रहरीले उजुरी नै दर्ता गर्न मानेको थिएन। ससाना र कम गम्भीर घटनामा मान्छे समातिहाल्ने भारतीय प्रहरीले सिंहलाई छाडिदिएको छ। जबकि भारतीय कानुन अनुसार नाबालिगमाथि यौन दुर्व्यवहारको आरोप लागेकालाई तत्काल समात्नुपर्छ।
खेलाडीले प्रशासन र प्रहरीलाई विश्वास नगर्नुको अर्को कारण हो, सिंहको राजनीतिक पहुँच। सिंह आइतबार मात्र मोदीले उद्घाटन गरेको नयाँ संसद् भवनभित्र थिए। त्यहाँ खिचिएका तस्बिर सामाजिक सञ्जालमा हालिरहेका थिए। त्यही दिन प्रहरी भने आन्दोलनकारी खेलाडीमाथि धरपकड गर्न खटिएको थियो।
प्रहरीको धरपकडले छक्क परेको विश्व कुस्ती महासंघले विज्ञप्ति निकाल्यो। खेलाडीलाई लछापछार पारिएकामा विरोध गर्यो। अनुसन्धान नभइरहेको प्रति चिन्ता र चासो जाहेर गर्यो।
खेलाडीको आन्दोलन लगातार खुम्चिरहेको छ। खुम्चिएरै जन्तरमन्तर जस्तो साना ठाउँमा पुगेको हो। त्यहाँ बस्न पनि प्रहरीको अनुमति लिनुपर्छ। सरकारविरोधी प्रदर्शन गने समूहलाई प्रहरी अनुमति दिँदैन। तर सरकारको पक्षमा केही कार्यक्रम गर्नुपरे अनुमति चाहिँदैन। प्रहरीमाथि अभियानकर्ता र वकिल यस्तो आरोप लगाउँछन्।
महिला अधिकारकर्मी कविता कृष्णनन् सरकारको विरोधमा कार्यक्रम गर्नुपरे नयाँ दिल्लीमा ठाउँ पाउन छाडिएको अनुभव सुनाउँछिन्। उसो त यो समस्या भाजवा सरकारको पालामा मात्र देखिएको होइन। भारतीय राष्ट्रिय कंग्रेस सत्तामा हुँदा पनि प्रहरी प्रदर्शनकारीमाथि धरपकड गर्थ्याे। सन् २०१२ मा भएको एक सामूहिक बलात्कार प्रकरणमा अनुसन्धान र कारबाहीको माग राख्दै कृष्णनन् र उनका साथीहरूले प्रदर्शन गर्दा प्रहरीले रोक्ने प्रयास गरेको थियो। यद्यपि उनीहरू ससाना समूहमा प्रदर्शन गरिरहन सफल भएका थिए।
‘हामीलाई समातेर थुनिदैनँ थियो। विरोध प्रदर्शन गर्न पूर्ण रूपमा बन्देज थिएन। जन्तरमन्तर प्रदर्शन गर्न तोकिएको स्थान हो। तर आज त्यहाँ खेलाडीलाई रोकिँदैछ। तोकिएकै ठाउँमा प्रदर्शन गर्न नपाइने हो भने जाने चाहिँ कहाँ?’ कृष्णनन् प्रश्न गर्छिन्।
दिल्ली प्रहरीकी प्रवक्ता सुमन नल्वा भने आफूहरूमाथि लागेको आरोपको खण्डन गर्छिन्। दिल्लीमा अझ विशेषगरी जन्तरमन्तरमा विरोध प्रदर्शन गर्न कसैलाई नरोकिएको दाबी उनको छ। ‘दिल्ली जिल्लाका केही यस्ता स्थान छन्, जहाँ सुरक्षा, कानुन र ट्राफिकका कारण प्रदर्शन गर्न दिन मिल्दैन। यो बन्देज हरेकका लागि हो,’ नल्वा भन्छिन्।
जब दिल्ली वरपरका गाउँले र कृषकले खेलाडीको आन्दोलनमा सहभागी हुने घोषणा गरे, तब जन्तरमन्तरमा ‘ब्यारिकेड’ थपिए। खेलाडीलाई भेट्न जन्तरमन्तर जान लागेका कैयौँ समूहलाई सहरको प्रवेशद्वारमै रोकियो। धर्नास्थलबाट आन्दोलनकारी खेलाडीको पाल हटाइएपछि प्रहरीले त्यहाँ पोस्टर टाँस्यो। जसमा लेखिएको थियो, ‘यहाँ प्रहरीको अनुमतिबिना धर्ना बस्न मनाही छ।’
जन्तरमन्तरबाट लखेटिएका खेलाडी गंगा किनार पुग्दा समर्थक र क्यामराले घेरिए। त्यसै पनि त्यहाँ साँझको प्रार्थनाका लागि हजारौँ श्रद्धालु पहिल्यै पुगिसकेका थिए। आन्दोलनकारी खेलाडी मल्लिकले आफ्ना समर्थकसँग अंकमाल गरिन्। साँझ ७ः३० तिर प्रौढ कृषकको समूह आइपुग्यो। जब उनीहरूले आन्दोलनकारी खेलाडीलाई पदक गंगामा नाफाल्न राजी गरे, तब त्यहाँ प्रश्न उठ्यो। खोइ हाम्रो पदक? खेलाडीले प्रश्न गरे। कृषकको समूहमा रहेका कसैले जवाफ दिए, ‘हामीसँग सुरक्षित छ।’
खेलाडीको समर्थनमा गंगा किनार पुगेका सुधीर कुमारले त्यहीबीचमा गम्भीर प्रश्न गरे। ‘जब यस्ता स्यालहरू देशको खेलकुदमा खुला हिँड्छन् भने कसले आफ्ना छोरीलाई खेलाडी बन्न अनुमति दिन्छ? यी स्यालहरूलाई तह लगाउन भइरहेको यो आन्दोलन जायज छ। कमसेकम यो आन्दोलनका कारण अरुको आँखा त खुल्छ,’ एक छोरीसहित तीन सन्तानका पिता सुधीरले भने।
न्युयोर्क टाइम्सको सहयोगमा