मिथिला क्षेत्रमा निर्जला एकादशी व्रत गरिँदै

हिमाल प्रेस १७ जेठ २०८० ६:५६
12
SHARES
मिथिला क्षेत्रमा निर्जला एकादशी व्रत गरिँदै

महोत्तरी– मिथिला क्षेत्रका महोत्तरीसहितका जिल्लामा बुधबार (आज) धार्मिक र औषधीय गुणयुक्त वनस्पति तुलसीको बीज छर्दै निर्जला एकादशी पर्व मनाइँदैछ। जेष्ठ शुक्ल एकादशीमा तुलसीको बीउ छरेर पानीसमेत नखाई व्रत गर्ने परम्पराअनुसार आज मैथिल (मिथिलाका बासिन्दा) यो पर्व मनाइरहेका छन्।

पूर्वीय दर्शन परम्पराको मैथिल चलनमा जेष्ठ शुक्लपक्ष लाग्नासाथ दशहारास्नान मेला प्रारम्भ हुन्छ। जेष्ठ शुक्ल दशमीका दिनसम्म विभिन्न तीर्थस्थलमा स्नान गरी दशमीकै दिन वर्षभरिको पूजाअर्चना प्रयोजनको फूलको दल राख्ने र भोलिपल्ट तुलसीको दल राख्दै निर्जला व्रत (अन्नजल नखाइ गरिने व्रत) बस्ने मैथिल चलन छ।

मिथिलामा सामान्यतया सबै एकादशीलाई धार्मिक विश्वासमा खास दिन मानिने परम्परा भए पनि निर्जला, हरिशयनी र हरिवोधनीचाहिँ विशेष मानिन्छन्। हिन्दू मैथिल परम्परामा एकादशी र तुलसीबीच गहिरो सम्बन्ध रहेको मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास-२ का पण्डित महेशकुमार झाले जानकारी दिए।

‘मैथिल परम्परामा वर्षभरिका सबै एकादशी र तुलसीको महत्त्व छ, यद्यपि निर्जला, हरिशयनी र हरिवोधनीचाहिँ विशेष मानिन्छन्,’ उनले भने, ‘निर्जलामा तुलसी विजारोपण गर्ने, हरिशयनीमा बिरुवा मठमा रोप्ने र हरिवोधनीमा तुलसीको विवाह गर्ने चलन छ।’

हिन्दू मैथिल परम्परामा लक्ष्मीसहित भगवान् विष्णु समुद्रमा जानुहुने, हरिशयनीका दिन विष्णु शयन गर्ने र हरिवोधनीका दिन जागा हुने विश्वास गरिँदै आएको छ।

सत्ययुगमा सती नारी वृन्दाका दुष्ट पतिको संहार गर्न विष्णुले छलेर उनको सतित्व डगाउँदा वृन्दाले भगवान् विष्णुलाई श्राप दिएको बताइन्छ। त्यसै श्रापअनुसार वनस्पतिरूपमा भगवान् विष्णु तुलसी हुँदा उनको पूजाआराधनासँग तुलसीको प्रचलन जोडिएको जनविश्वास छ। तुलसी वातावरण र औषधीय गुणयुक्त वनस्पति हो।

प्रकाशित: १७ जेठ २०८० ६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + five =