विपत्‌को जोखिम

विपत्‌बाट जोगिन राहत कोष

पदमराज भट्ट १५ जेठ २०८० ८:०३
18
SHARES
विपत्‌बाट जोगिन राहत कोष कञ्चनपुरको पुनर्वास-९ सीताबस्ती (ख गाउँ) मा सामुदायिक विपद् व्यवस्थापन समितिको नेतृत्वमा जैविक तटबन्ध निर्माण गरिँदै।

बाढी, डुबान, पहिरोजस्ता प्राकृतिक प्रकोपले सुदूरपश्चिमवासी पनि पीडित छन्। बाढीले कैलाली तथा कञ्चनपुर जिल्ला बढी प्रभावित हुने गरेका छन्। जमिन कटान, भूक्षय, भूस्खलनको प्रभाव पहाडी क्षेत्रमा बढी पर्छ। माथिल्लो क्षेत्रमा पर्ने अत्यधिक वर्षाका कारण पहाडमा बाढीपहिरो, तराईमा डुबान र कटानले जनधनको क्षति पुर्‍याउने गर्छ।
बर्सेनि तराईको सयौँ बिघा जमिन बाढी र डुबानमा पर्छ। डुबान, कटान र पटान गरी खेतीयोग्य जमिन बगरमा परिणत हुँदै आएको छ।

पानीको उचित निकास नहुँदा सहरी क्षेत्र डुबानमा पर्छन्। नदी तथा खोलानाला किनारका बस्ती, समुदाय, खेतबारी, पूर्वाधारलगायत बाढीको जोखिममा छन्।
जथाभाबी डोजर प्रयोग गरी बनाइने अव्यवस्थित सडक, मापदण्डविपरीत सञ्चालित क्रसर तथा ढुंगाखानी एवं चुरे क्षेत्रको वन विनाशले गर्दा बाढीपहिरो तथा डुबानका घटना बढेका छन्।

२०७९ असोजको अविरल वर्षापछि कैलालीको पूर्वी क्षेत्र भजनी, लम्कीचुहा नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिका बढी प्रभावित भएका थिए। सो समयमा भजनी नगरपालिकामा मात्रै सात सय घर डुबानमा परे।

चारैतिरबाट नदीले घेरिएको भजनीमा बाढी, डुबान र कटानका कारण सयौँ बिघामा लगाएको धानबाली नष्ट भएको थियो। विशेष गरी कान्द्रा, काँढा र पथरैया नदीमा आउने बाढीका कारण बढी क्षति हुने स्थानीय बताउँछन्।

कञ्चनपुरको वेदकोट नगगरपालिकाको चौधर नदी, शुक्लाफाँटा नगरपालिकाको वनहरा नदी, कृष्णपुरमा मोहना, मछेली नदी लालझाडीमा दोदा नदीमा वर्षायाममा बाढी आउने गर्छ। जसका कारण बर्सेनि बालीनालीमा क्षति हुने गर्छ।

२०७८ कात्तिकमा बझाङको थलारा गाउँपालिका-४ डिख्लामा पहिरो जाँदा २३ जना बेपत्ता भएका थिए। गाउँभन्दा माथि ढोगदिना भन्ने ठाउँबाट पहिरो जाँदा दुई गाउँका १ सय ७० परिवार विस्थापित भए।

कञ्चनपुरको लालझाडी गाउँपालिकाको नन्दगाउँ, कसवा, कञ्ज, पर्सिया जाई बल्मी गाउँ बर्सेनि डुबानमा पर्छन्। दोदा नदी तटीय क्षेत्रमा बाढी आउनुपूर्व साइरन जडान गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ।

उक्त गाउँपालिकामा पर्ने दोदा तथा घोङरा नदीले दुःख दिने गरेको लालझाडी गाउँपालिका-३ नन्दगाउँका पहिलाद राना बताउँछन्। लालझाडी गाउँपालिकामा बाढी आउने भएकाले समिति गठन गरी आवश्यक पूर्वतयारी भइरहेको गाउँपालिका अध्यक्ष निर्मल राना बताउँछन्।

यसैगरी कैलालीको कैलारी गाउँपालिकामा कटैनी, मोहना, सुर्मिनाला, घुराहा, घुरही नदीका कारण त्यहाँका बस्ती प्रभावित हुने गर्छन्। नदी क्षेत्रका मझरा, मनाउ, दम्मारा, रामपुर, लक्कड, मोहनपुर, कुकुरभुक्का, मनिकापुर, बैजपुर, शिवरत्नपुर, खोनपुर, निमुवाबोझी, भित्तरिया, बैजपुर, मनिकापुर, बन्दरगौरी, सपाम शिविर, छुटकी पलिया, बडुकी पलिया, बिसनपुर, खरेटी, खरुवाखेरा, मसुरिया, धर्मापुर, भगतपुर, रतनपुर, नारायणपुर, शिवपुर, टिघरी, हौसलपुर, बसन्ता, छतकपुर, रामपुर, भगंगहा, पृथ्वीपुर, लोहरपुर, पूर्वी टेढी, दक्षिण टेढी, प्रतापुर, सिमराना, सामरचौरा, कोइलही, देवीगन्ज, जमनीपुर र परसेनी बस्ती प्रभावित हुने गाउँपालिकाले जनाएको छ।

कैलारी गाउँपालिका विपत् व्यवस्थापन शाखाका भुवन बखरिया पूर्वतयारी स्वरूप नेपाल रेडक्रस सोसाइटीले साइरन जडान गरिरहेको बताउँछन्। विपत् पूर्वतयारीका लागि विभिन्न क्लस्टरमा दिइएका तालिम, अन्य जिल्लामा भएका राम्रा कामको आधारमा जिल्ला प्रशासन कार्यालय कैलालीले पूर्वमनसुन तयारी कार्ययोजना बनाइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशी बताउँछन्।

‘नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट विपत् पूर्वतयारी अभ्यास भइरहेका छन्,’ उनी भन्छन्।

स्थानीयले बनाए राहत कोष

कैलालीको जानकी गाउँपालिका हरेक वर्ष बाढीको जोखिममा पर्छ। बाढीबाट जोगिन त्यहाँका स्थानीयले आफैँ कम्मर कसेका छन्। उनीहरूले आपत्कालीन राहत कोष स्थापना गरेका छन्। सो कोष स्थानीयले समूह बनाएर स्वतः स्फूर्त स्थापना गरेका हुन्।

पथरैया नदीमा पानीको बहाव बढी हुँदा गिरधरपुर गाउँ हरेक वर्ष डुबानको चपेटामा पर्छ। विपत् आइलाग्दा स्थानीय समस्यामा पर्छ। उनीहरूलाई जीविका चलाउन हम्मेहम्मे पर्छ।

विपत्‌मा समस्या परेकालाई केही राहत होस् भनेर स्थानीयले कोष स्थापना गरेका हुन्। जसमा उनीहरूले नियमित रकम जम्मा गर्छन्। गिरधरपुर गाउँमा करिब ३३ परिवार छन्। सबै परिवारको सहभागितामा आपत्कालीन कोष बनाइएको हो।

विपत्का बेला राहतका लागि जानकी गाउँपालिकाले आपत्कालीन व्यवस्थापन कोषमार्फत सहयोग गर्ने गरेको छ। गाउँपालिकाले चालु आर्थिक वर्षमा ३९ लाख रुपैयाँ आपत्कालीन व्यवस्थापन कोषमा जम्मा गरेको विपत् फोकल पर्सन नेत्रप्रसाद जैसी बताउँछन्।

‘कोषलाई आवश्यकताअनुसार गाउँपालिकाले परिचालन गर्ने र विपत्का समयमा समस्यामा परेकालाई तत्काल उद्धार, राहत मिलोस् भन्ने पालिकाको उद्देश्य छ। जोखिम न्यूनीकरणका सवालमा चौबिसै घण्टा सेवा दिइरहेका छौँ।’

जोखिम न्यूनीकरण गर्न साइरन जडान

विपत् जोखिम न्यूनीकरणका लागि शुक्लाफाँटा नगरपालिकाका तीन ठाउँमा अत्याधुनिक साइरन जडान गरेको छ। विपत्‌को उच्च जोखिममा रहेका स्थानमा ती साइरन जडान गरिएका हुन्।

नगरपालिकाको वन वातावरण तथा विपत् व्यवस्थापन शाखा प्रमुख कृष्णप्रसाद भट्टका अनुसार साइरनबाट आगलागी, हुरी, बाढी, डुबान, जंगली जनावरलगायत विषयमा सहज रूपमा सूचना प्रवाह गर्न सकिनेछ। ‘बीस सेकेन्डसम्मको सन्देश रेकर्ड गरेर सूचना प्रवाह गर्ने क्षमता साइरनमा छ,’ उनी भन्छन्, ‘साइरनको आवाज एकदेखि डेढ किलोमिटरसम्म सुन्न सकिन्छ।’

उच्च जोखिममा रहेको वडा नं ८ को सिद्धनाथ मावि बेलडाँडी, वडा नं १२ को कार्यालय र वडा नं ५ को कार्यालयमा साइरन जडान गरिएका हुन्। विपत्मा एसएमएस, अनलाइन र साइरनको आवाजमा सूचना सम्प्रेषण हुनेछ। यस प्रणालीमार्फत विपत्‌का बेला नगरपालिका, जिल्ला, प्रदेश वा केन्द्रबाट जारी गरिएका सूचना पनि प्रवाह गर्न सकिनेछ। पाँच सय मिटरको क्षेत्रमा रिमोटको सहायतामा साइरन सञ्चालन गर्न सकिने नगरप्रमुख रणबहादुर महरा बताउँछन्।

विपद् पचाउने समाज

 

प्रकाशित: १५ जेठ २०८० ८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast