 
                             
                                            काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले कछुवा गतिमा अघि बढेको योग शिक्षालाई आफूले प्राथमिकतामा राख्ने बताएका छन्।आइतबार विश्व योग दिवस २०८० मूल समारोहको बैठकमा बोल्दै मन्त्री राईले योगले स्वास्थ्य र सदाचारको विकास गर्न सिकाउने भएकाले योग शिक्षालाई प्राथमिकतामा राख्ने बताए।
उनले भने, ‘पुर्वीए ज्ञान र दर्शनलाई अघि बढाउन आवश्यक छ। योगलाई व्यापकता गर्दै लानुपर्छ। विद्यालय तहको पाठ्यक्रममा पनि यसलाई प्राथमिकताका साथ समावेश गर्नुपर्छ। योग गुरु रामदेवले योगलाई जनजनसम्म पुर्याएर योगलाई अन्तराष्ट्रियकरण गरिसकेका छन्।’ यस्तै बैठकमा बोल्दै शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी यादवले योग हाम्रो जिवनमा अपरीहार्य भएको बताइन्। उनले योग योग शिक्षाको विकासमा मन्त्रालय अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन्।
१८० देशमा योग शिक्षा फैलिएको बताउँदै बैठकमा सहभागी योग गुरुहरूले कक्षा ९,१० र ११ को पाठ्यक्रममा योग शिक्षालाई प्राथमिकताका साथ समावेश गर्न, विश्व योग दिवस भव्यताका साथ देशभर मनाउन, योग शिक्षामा सरकारले बजेट कम छुट्टाएकाले बजेट बढाउन, विश्वविद्यालयमा योग विभाग गठन गर्न, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्ले तयार गरेको योग सम्बन्धी पाठ्यक्रम सञ्चालन गर्न र योग शिक्षालाई कर्मकाण्डी मात्र नवनाउन सुझाव दिएका थिए।
मन्त्रालयले विश्व योग दिवस २०२३ का लागि संयुक्त राष्ट्र संघले तय गरेको मूख्य थिमलाई नेपाली भाषामा समेत अनुकुलन हुने गरी प्रयोग गर्ने, योग दिवसलाई प्रदेश र स्थानीय तहमा पनि मनाउन प्रदेश र स्थानीय सरकारलाई अनुरोध गर्ने, जिल्ला जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समारोह समिति गठन गर्न लेखि पठाउने र सप्ताहव्यापी आयोजना हुने योग दिवसका कार्यक्रमको प्रचार-प्रसार गर्ने निर्णय गरेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 