सावधानी र सतर्कता अपनाउन शिक्षा मन्त्रालयको निर्देशन

हिमाल प्रेस १२ जेठ २०८० १९:११ | Friday, May 26, 2023
सावधानी र सतर्कता अपनाउन शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वर्षायाममा उत्पन्न हुन सक्ने दैवी विपत्ति र फैलन सक्ने विभिन्न रोगका बारेमा सावधानी अपनाउन ७५३ वटै स्थानीय तह र ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ। शिक्षा तथा मानव विकास स्रोत केन्द्रले शुक्रबार सबै जिल्ला र तहलाई यस्तो निर्देशन दिएको हो।

बाढी, पहिरो र डुबानले खोलानाला, तालतलैया, नदी, पोखरी नजिक रहेका वा गहिरो प्रकृतिको जमिन/खोंचमा अवस्थित विद्यालयमा पानीको सतह बढेर अफिस तथा कक्षाकोठाभित्रका कार्पेट, पुस्तक, पत्रपत्रिका, स्टेस्नरी लगायतका शैक्षिक सामग्री क्षति हुन सक्ने भएकाले सावधानी अपनाउन केन्द्रले आग्रह गरेको छ।

कक्षाकोठा, भवन, खेलमैदान, घेराबार, शौचालय, खानेपानीलगायतका भौतिक संरचनामा क्षति पुग्न सक्ने सम्भावना पनि रहने भएकाले पूर्वसावधानी र उच्च सतर्कता अपनाउन भनिएको छ।

नेपालमा २०८० जेठ १८ देखि असोज १४ गतेसम्म वर्षायाम रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। साथै यस वर्ष कोशी प्रदेशका मध्य र उत्तरी भूभाग, बागमती प्रदेशका दक्षिण पूर्वी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागमा सामान्य वर्षा हुने अनुमान गरिएको छ।

यस्तै अन्य स्थानमा औसत भन्दा कम वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ। औसतभन्दा कम वर्षा भए पनि कुनै समयमा लगातार वर्षा भई ठूलै क्षति हुने अवस्थासमेत आउन सक्ने भएकाले सजग रहन मन्त्रालयले अपिल गरेको छ।

तराई क्षेत्रमा गर्मी बढ्ने, डेंगु, औलोजस्ता लामखुट्टेबाट सर्ने रोगको जोखिम बढ्ने र झाडापखाला, हैजा, टाइफाइड जस्ता पानीजन्य रोगहरुको संक्रमण बढ्न सक्ने अनुमान पनि छ। मन्त्रालयले भनेको छ, ‘त्यसैले विद्यालय परिसर सफा राख्नुका साथै लामखुट्टेले संक्रमण फैलाउने वातावरण बन्न नदिन र लामखुट्टेको वृद्धि तथा विस्तार रोक्नु पर्ने आवश्यकता छ।’

अत्यधिक गर्मीका कारण विद्यार्थीलाई कक्षा कोठाभित्र बस्न गाह्रो हुने र शिक्षण सिकाइमा बाधा पुग्न सक्ने भएकाले अनुकूल वातावरणमा सिकाइ निरन्तरताका लागि उचित स्रोतसाधनको प्रबन्ध मिलाउन मन्त्रालयले अनुरोध गरेको छ।

प्रकाशित: १२ जेठ २०८० १९:११ | Friday, May 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast