पूर्वराजासँग भय या राजनीतिक संस्कारको अभाव!

हिमाल प्रेस १० जेठ २०८० १२:५५
56
SHARES
पूर्वराजासँग भय या राजनीतिक संस्कारको अभाव! मंगलबार कैलालीको अत्तरिया चोकमा रहेको राजा महेन्द्रको सालिकमा माल्यार्पण गर्ने जाने क्रममा पूर्वराजा ज्ञानेन्द्र।

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाह व्यक्तिगत भ्रमणमा कतै निस्कँदा, पूर्वराष्ट्रप्रमुखको हैसियतमा कुनै पर्वविशेषमा शुभकामना सन्देश दिँदा वा उनले आफू निकटका केही व्यक्तिसँग छलफल गर्दा मुख्य दलका नेताहरूको मनमा चिसो पस्नु नयाँ कुरा होइन। नेताहरूको कडा प्रतिक्रिया आउँछ, पूर्वराजा सक्रिय भएर संघीय गणतन्त्र नै धरापमा पार्न खोजे, फेरि राजा बन्ने प्रयत्न स्वीकार्य छैन, दिइएको सुविधा पनि खोसिदिन्छौँ आदिइत्यादि।

पूर्वराजाले गत साता सुदूरपश्चिम प्रदेशका केही ठाउँको भ्रमण गरेका छन्। उनको भ्रमणलाई लिएर प्रमुख दलका नेताहरूले चासो प्रकट गरिरहेका छन्।

पूर्वराजामा फेरि सक्रिय भएर आउने चाहना हुनु स्वाभाविकै होला। २४० वर्षसम्म राष्ट्रप्रमुखमा रहेको एउटा वंशले त्यस्तो इच्छा राख्नु पनि अन्यथा नहोला। तर राजनीतिक व्यवस्था परिवर्तन भएर निकै अघि बढिसकेको अवस्थामा पूर्वराष्ट्रप्रमुखको विरोध गर्नु दलका नेताहरूमा रहेको भयग्रस्त मानसिकताबाहेक केही नभएको जानकारहरू बताउँछन्।

पूर्वराजा व्यक्तिगत रूपमा सक्रिय हुँदा लोकतन्त्रमा कुनै खतरा नरहेको कांग्रेस नेता रामहरि खतिवडा बताउँछन्। खतिवडाले पूर्वराजाले नेपाली नागरिकका रूपमा हिँड्दा पार्टीलाई कुनै चिन्ता नभएको बताए।

नेपालको कानुन, संविधानको दायराभित्र रहेर कोही कतै घुम्दैमा लोकतन्त्र समाप्त नहुने खतिवडाको भनाइ छ। उनी भन्छन्, ‘पूर्वराजा नेपाली नागरिक भएर हिँड्दा हामीलाई केही चिन्ता छैन। कसैले तर्साउँदैमा लोकतन्त्र त्यति कमजोर छैन। एउटा नागरिक हिँड्दै आफ्नो कुरा राख्दै जाँदाखेरी सबै तर्सेर भाग्नुपर्ने अवस्था छैन।’

उसो त कसैलाई स्थापना गर्न, पुनःस्थापना गर्न, हटाउन सक्ने तागत जनतासँग मात्रै हुन्छ। त्यसैले पनि कानुन र संविधानको दायराभित्र रहेर पूर्वराजा घुम्दैमा कानुनी राज्य समाप्त नहुने उनले बताए।

यस्तै कतिपयचाहिँ दलहरूलाई राजनीतिक उपलब्धि संस्थागत नगर्दासम्म यस्तो भय रहिरहने बताउँछन्। पूर्वराष्ट्रप्रमुखको सक्रियतालाई स्वाभाविक लिनुपर्ने उनीहरूको बुझाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झा राजनीतिक उपलब्धिहरूलाई संस्थागत गर्न नसक्दा र दलहरूमा कमजोरी रहेसम्म केही तत्त्वहरू सल्बलाइरहने टिप्पणी गरे।

उनले भने, ‘हाम्रो कमजोरी छ। हामी राजनीतिक उपलब्धिलाई संस्थागत गर्न सकिराखेका छैनौँ। त्यो कमजोरी रहेसम्म सल्बलाइरहने तत्त्व रहिरहन्छन्।’ यस्तो अवस्थामा राजनीतिक दलहरू संस्थागत अभ्यासमा सक्रिय हुनुपर्ने उनी बताउँछन्। अहिलेको राजनीतिक प्रणालीप्रति कुनै किसिमको जोखिम नरहेको उनले बताए।

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा पनि पूर्वराजा शाहको सक्रियताबाट तर्सिनुनपर्ने बताउँछन्। उनी पनि दलहरूको बीचमा विवाद भएकै कारण राजतन्त्र नफर्किनेमा विश्वस्त छन्। उनी भन्छन्, ‘किन तर्सिनु? तर्सिनै पर्दैन। पार्टीहरूका बीचमा विवाद भयो, बहस भयो, झमेला भयो भनेर यो व्यवस्था फेल भयो भन्न मिल्छ?’

संविधान बनाउने बेलामा पनि सबै अग्रगामी शक्ति एक ठाउँमा आएर देशलाई निकास दिएको स्मरण गर्दै सापकोटाले भने, ‘अहिले समृद्धिको यात्रामा पनि फेरि सबै दलहरू एकै ठाउँमा आउनुको विकल्प छैन। हाम्रो कार्यशैली, सोच्ने शैलीमा हामीले पुनरवलोकन गर्नुपर्छ। यो व्यवस्था फेल भएको छैन।’

एमालेका सांसद रघुजी पन्तको भने फरक मत छ। उनले त तेस्रो पटक राजा हुने प्रयत्न नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी नै दिएका छन्। उनले भने, ‘ज्ञानेन्द्र दुईचोटि राजा हुनुभयो। तेस्रोचोटि राजा हुने प्रयत्न नगर्नुस्। किनभने एउटा प्रक्रियाबाट राजतन्त्र बिदा गरिएको हो।’

राजाले शान्तिपूर्ण पले गद्दी छोडेको र दलहरूले पनि कुनै बदला नलिएको अवस्था रहेको भन्दै शाहलाई देशले पूर्वराष्ट्राध्यक्षका रूपमा सम्मान र सुरक्षा दिएको स्पष्ट पारे। उनले राजनीति गर्न मन लाग्छ भने संविधानले त नरोकेको पनि बताए। उनले भने, ‘खोल्नुस् पार्टी, चुनाव लडेर आउनुहुन्छ भने भैहाल्यो।’

प्रकाशित: १० जेठ २०८० १२:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast