काठमाडौँ- रियल म्याड्रिडका फरवार्ड भिनिसियस जुनियरलाई फेरि रङ्गभेदी व्यवहार गरिएको छ। स्पेनी ला लिगामा आइतबार राति रियल र भ्यालेन्सियाबीचको खेल दौरान भिनिसियसलाई लक्षित गरेर रङ्गभेदी नारा लगाइएको थियो। भ्यालेन्सियाको रंगशाला डे मेस्टालामा घरेलु समर्थकले त्यस्तो नारा लगाएका थिए।
यस किसिमको व्यवहारबाट आजित भएका २२ वर्षीय भिनिसियसले ला लिगा अब रङ्गभेदी हरूको कब्जामा गएको प्रतिक्रिया दिएका छन्। ‘मलाई यसो गरिएको यो पहिलो पटक होइन। न त दोस्रो वा तेस्रो पटक नै हो। ला लिगामा रङ्गभेदी व्यवहार सामान्य भइसक्यो। अरु त अरु स्पेनी फुटबल संघ नै यसलाई सामान्य मान्छ,’ भिनिसियसले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्।
फुटबलमा भइरहेको रङ्गभेदी व्यवहारका कारण स्पेन जस्तो सुन्दर देशको बेइज्जत भइरहेको भिनिसियसको भनाइ छ। ‘ला लिगा कुनै समय रोनाल्डिन्हो, रोनाल्डो, क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सीको लिग थियो। अब यो रङ्गभेदी हरूको लिग भएको छ। सायद स्पेनी नागरिक मसँग सहमत नहोलान्। तर ब्राजिलमा स्पेनको परिचय यस्तै बनिरहेको छ,’ भिनिसियसले प्रतिक्रिया दिएका छन्।
भिनिसियसमाथि गरिएको दुर्व्यवहारबारे अनुसन्धान भइरहेको ला लिगा प्रशासनले बताएको छ। यदि भिनिसियसमाथि दुर्व्यवहार भएको देखिए, कानुनी कदम चाल्ने प्रतिबद्धता पनि ला लिगाले गरेको छ।
‘ला लिगा यस किसिमको व्यवहारको विपक्षमा छ। स्पेनी फुटबललाई रङ्गभेदी दुर्व्यवहारबाट मुक्त गराउन हामी वर्षौँदेखि लागि परेका छौँ। हामीले पछिल्ला दुई सिजनमै नौ मुद्दा दायर गरेका हौँ। भिनिसियसमाथि दुर्व्यवहार भए वा नभएकोबारे छानबिन गर्नेछौँ,’ ला लिगाले भनेको छ।
ब्राजिलेली फुटबल संघ (सीबीएफ) का अध्यक्ष एडनाल्डो रोद्रिगेजले भिनिसियसमाथि भएको दुर्व्यवहारको विरोध गरेका छन्। ‘२१ औँ शताब्दीको बीचमा छौँ, ला लिगामा पटक पटक यस्ता घटना भइरहेका छन्। यो कसरी सम्भव छ? यो अपराधमा मानिसहरु कहिलेसम्म सहभागी भइरहन्छन्?’ रोद्रिगेजले जारी गरेको विज्ञप्तिमा सोधिएको छ।
सीबीएफ अध्यक्ष रोद्रिग्रेजले मात्र होइन, त्यहाँका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले समेत घटनाको विरोध गरेका छन्। जी–७ सम्मेलनमा भाग लिन जापान पुगेका सिल्भाले भिनसियसमाथि आक्रमण भएको बताए।
‘भिनिसियसमाथि आक्रमण गरियो। उनलाई बाँदर भनियो। भिनिसियस विश्वकै उत्कृष्ट खेलाडी बन्ने बाटोमा छन्। रियलमा त उनी उत्कृष्ट साबित भइसके। यत्तिको प्रतिभावान् खेलाडी जुन जुन रंगशाला पुग्छन्, त्यहाँ त्यहाँ दुर्व्यवहारमा पर्छन्,’ जापानी सहर हिरोसिमामा पत्रकारहरूसँग कुराकानी गर्दै सिल्भाले भने।
भिनिसियसमाथि रङ्गभेदी व्यवहार भएको यो पहिलो पटक होइन। यसअघि एट्लेटिको म्याड्रिडका समर्थकले पनि यस्तो नारा लगाएका थिए। मेस्टाया रंगशालामा दोस्रो हाफको खेल जारी रहँदा आफूलाई दुर्व्यवहार गरिरहेका भ्यालेन्सियाका समर्थकसामु भिनिसियस उभिएका थिए। ती समर्थकसँग भिनिसियस आमनेसामने भएसँगै खेल केहीबेर रोकिएको थियो। करिब १० मिनेटपछि मात्र खेल फेरि सुरु भएको थिए। खेल सकिनै लाग्दा भ्यालेन्सियाका ह्युगो डुरोलाई हात हालेका भिनिसियस रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार पोस्टम्याच रिपोर्टमा रेफ्री रिकार्डो डे बुर्गोसले भिनिसियसलाई भ्यालेन्सिया समर्थकले ‘बाँदर’ भन्दै दुर्व्यवहार गरेको उल्लेख गरेका छन्।
रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सिलोट्टीले कुनै पनि खेलाडीमाथि रङ्गभेदी दुर्व्यवहार हुने वित्तिकै खेल रोक्न ला लिगा प्रशासन तयार हुनुपर्ने बताउँछन्। ‘स्पेनी लिगमा समस्या छ। र समस्या भिनिसियस होइनन्। उनी त पीडित हुन्,’ खेलपछि एन्सिलोट्टीले भने, ‘भ्यालेन्सियाका समर्थकले दुर्व्यवहार गर्न थालेपछि मैले भिनिसियसलाई सब्स्टिच्युट गर्न खोजेको थिएँ। तर पछि मलाई यो निर्णय ठिक हुँदैन जस्तो लाग्याे।’
रियलका गोलरक्षक थिबाउट कोर्टुवाले भिनसियसलाई भ्यालेन्सियाका समर्थकले बाँदर भनेको आफूले पनि सुनेको बताए। खेल सुरु भएको २० मिनेट पनि नबित्दै भ्यालेन्सियाका समर्थकले नारा लगाउन सुरु गरेको उनको दाबी थियो। ‘यदि भिनिसियसले मैदान छाड्थे भने म उनलाई साथ दिन्थे। किनभने यस किसिमको व्यवहार हामी सहन सक्दैनौँ,’ कोर्टुवाले भने।
इंग्ल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका रक्षक रियो फर्डिनान्डले सामाजिक सञ्जालमार्फत भिनिसियसप्रति सहानुभूति व्यक्त गरेका छन्। ‘उनमा पीडा देखिन्छ। उनी दुःखी देखिन्छन्। यतिबेला उनलाई सहयोग चाहिएको छ,’ फर्डिनान्डले इन्स्टाग्राममा लेखेका छन्।
ब्राजिलका अर्का खेलाडी रिचारलिसन, पूर्वखेलाडी रोनाल्डो, कलाकार गिल्बेर्टो गिल लगायतले भिनिसियसमाथि भएको दुर्व्यवहार को विरोध गरेका छन्। ‘ला लिगामा रंभेदको अर्को शृंखला देखियो। भिनिसियस फेरि एकपटक यसको शिकार बनेका छन्। यो शृंखला कहिलेसम्म?’ रोनाल्डाको प्रश्न छ।