हिरोसिमा- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन संकट समाधानका लागि भारतले सक्दो प्रयास गर्ने बताएका छन्। शनिबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गर्दै युक्रेन संकट समाधानका लागि भारतको ‘सक्दो प्रयास’ रहने बताएका हुन्।
जापानको हिरोसिमामा भएको आर्थिक रूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनका क्रममा मोदीले युक्रेनको पीडा आफूले राम्ररी बुझेको भन्दै समाधानका लागि सक्दो प्रयास गर्ने बताए। ‘तपाईको पीडा र युक्रेनी नागरिकको पीडा राम्ररी बुझेको छु,’ प्रधानमन्त्री मोदीले भने, ‘समस्यालाई समाधान गर्न भारत र व्यक्तिगत रूपमा म जे गर्न सक्छु त्यो गर्नेछौँ।’
१५ महिनाअघि रूसले युक्रेनमाथि आक्रमण सुरु गरेयता दुई देशका प्रमुख नेताबीच हिरोसिमामा पहिलो पटक भेटघाट भएको हो। जेलेन्स्कीको टेलिग्राम अकाउन्टमार्फत् एक पोस्टमा भनिएको छ, ‘हाम्रो देशको क्षेत्रीय अखण्डता र सार्वभौमिकतालाई समर्थन गरेकोमा भारतलाई धन्यवाद दिनु चाहन्छौँ।’
जेलेन्स्कीले युद्धग्रस्त देशलाई मानवीय सहायता प्रदान गरेकोमा मोदीलाई धन्यवाद दिँदै युक्रेनले अघि सारेको ‘शान्ति सूत्र’ पहलको कार्यान्वयनमा सहभागी हुन भारतलाई आमन्त्रण गरे।
युक्रेनलाई अत्याधुनिक लडाकू विमान खरिदका लागि अमेरिकी स्वीकृति प्राप्त गरेपछि जेलेन्स्की शनिबार अपराह्न हिरोसिमा पुगेका हुन्। कार्यक्रममा जी–सेभेनका साथै आमन्त्रित प्रमुख विकसित प्रजातान्त्रिक मुलुकका नेताहरू सहभागी हुन हिरोसिमा पुगेका छन्।
मोदीले रूसको आक्रमणपछि भारतीय विद्यार्थीलाई प्रदान गरिएको सहयोगका लागि जेलेन्स्कीलाई धन्यवाद पनि दिए। युक्रेनी नेताहरूले यसअघि इटालियन प्रधानमन्त्री जियोर्जिया मेलोनी र बेलायतका ऋषि सुनकसँग पनि भेटवार्ता गरेका थिए।
सुनकसँग केही दिनअघि युरोपेली मित्रराष्ट्रहरूको भ्रमणका क्रममा भेटवार्ता गरेका थिए।
टेलिग्राममा जेलेन्स्कीले अन्तर्राष्ट्रिय लडाकू जेट गठबन्धनमा बेलायतको नेतृत्वका लागि सुनकलाई धन्यवाद दिएको बताए।
युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेलसँगको छलफलका क्रममा जेलेन्स्कीले युक्रेनी कृषि उत्पादनमा निर्यात प्रतिबन्ध र जुन ५ पछि थपिएका उपायहरूको ‘अस्वीकार्यता’बारे आवाज उठाएको पनि उनले आफ्नो टेलिग्राम अकाउन्टमा उल्लेख गरेका छन्।
ईयूले छिमेकी देशहरूका अतिरिक्त आपूर्ति कम गर्न मद्दत गर्न धेरै युक्रेनी उत्पादनहरूको आयातमा गरिएको प्रतिबन्ध जुन ६ सम्मका लागि अनुमोदन गरेको छ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले जेलेन्स्कीको व्यक्तिगत भ्रमणको निर्णयको प्रशंसा गर्दै विकासशील देशहरूसँग संलग्न हुने अवसर ‘परिवर्तनको खेल’ हुन सक्ने बताए। रासस/एएफपी