नियात्रा

सहरी युवाको आकर्षक गन्तव्य विष्णुद्वार

राजाराम बर्तौला ६ जेठ २०८० १९:३६
54
SHARES
सहरी युवाको आकर्षक गन्तव्य विष्णुद्वार

काठमाडाैँको विष्णुमतीसँग २०२३ सालदेखि परिचित छु। सिनेमाको रिल काटेको टुक्रा यही खोलामा फ्याँकिएका हुन्थे। हामी त्यो टिप्थ्यौँ। हेर्न र खेल्न रमाइलो लाग्थ्यो।
मरुटोलको बसाइ थियो। त्यहाँबाट विष्णुमती खासै टाढा पनि थिएन। हामी विष्णुमतीको तिरमा बालुवा खेल्न पुग्थ्यौँ। वारिपट्टिको तिरभन्दा पारिपट्टिको तिर बढी फोहर थियो। भैँसीका हाड, सिङ खोलैभरि हुन्थे।

पानी जमेको ठाउँमा नोलमा ल्याएको तरकारी, साग पखालिरहेका हुन्थे किसान। वर्षा लागेपछि ती सबै फोहर खोलाले बगाएर लग्थ्यो। सखारै बिहान विष्णुमतीको किनारमा मानिसको घुइँचो हुन्थ्यो। त्यो हेरेर खूब रमाइन्थ्यो।

अहिले त्यो परिस्थिति फेरिएको छ। नदीको दुवैतर्फ पर्खाल बन्दैछन्। कतै-कतै नदी किनारामा फूल, बिरुवा र वनस्पतिले भरिएका पार्क निर्माण गरिँदै छ।
नदी साँघुरिँदै गएको देखिए पनि त्यसको छेउछाउ बढिरहेको सौन्दर्यले स्थानीयको ध्यान तानरहेको छ। अरू साना खहरेलाई आफूमा मिसाउँदै बागमतीमा गएर मिसिएपछि नामै विसर्जन गर्दछे।

हामीले दिने काठमाडाैँको परिचय भनेको यहीको नदी सभ्यता हो। सबैभन्दा ठूलो भएकोले बागमती सभ्यता भनिन्छ। बागमती, विष्णुमती, मनोहरा, कावेरी, नख्खु, बल्खु, हनुमन्तेजस्ता नदीले सिञ्चित गरेको काठमाडौँ उपत्यका नै बागमती सभ्यता हो।

मानवीय सभ्यतालाई प्रायः नदीको नामबाट परिचय गराइन्छ। जस्तै : नाइल सभ्यतालगायत। हामी काठमाडौँवासीले गर्व गर्ने पनि यही बागमती सभ्यता हो। नदीलाई देवीस्वरूप माने पनि त्यसलाई फोहोर गर्न छाडेका छैनौँ। प्रदूषणमै रमाइरहेका हुन्छौँ।

विष्णुमती, बागमती, इच्छुमती जेजे भने पनि नदीलाई सांस्कृतिक र धार्मिक मान्यताले पवित्र मानिन्छ। सिद्धान्ततः पवित्र माने पनि व्यवहारमा हामीले सबैभन्दा बढी प्रदूषण गर्ने भनेको नदीलाई नै हो।

विष्णुमतीलाई यति धेरै लामो समयदेखि चिने पनि र यसको स्रोतसम्म पुग्ने प्रयत्न गरेको थिइएन। त्यो इच्छालाई शनिबारे हाइकिङमार्फत पूरा गरेँ।

विष्णुमतीको स्रोत विष्णुद्वार शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने भएको हुँदा टोखाबाट गए पनि र बूढानीलकण्ठबाट गए पनि निकुञ्ज प्रवेश नगरी त्यहाँ पुग्न सकिन्न। हामीले नारायणस्थानबाट राष्ट्रिय निकुञ्ज प्रवेश गरी जाने निधो गर्‍यौँ। राष्ट्रिय निकुञ्ज प्रवेशका लागि सैनिक ब्यारेकमा प्रवेश शुल्क तिरेपछि भित्र प्रवेश गर्नेबित्तिकै एउटा सूचनापाटी देखिन्छ।

त्यसमा लेखिएको छ, ‘विष्णुद्वार ६ किमि र टोखा ६ किमि।’ अर्थात् हामीलाई त्यहाँबाट विष्णुद्वार पुगेर फेरि नारायणस्थानसम्म आउन १२/१४ किलोमिटरको पदयात्रा गर्नुपर्ने थियो। पहाडको टुप्पोमा पुग्न नपर्ने भएको हुँदा पदयात्रा सहज थियो। करिब एक घण्टाको उकालोपछि ग्राभेल रोड भेटियो। त्यसपछिको करिब-करिब एक घण्टा हिँडियो। त्यहाँबाट उकालो लागेपछि छङछङ बगेको कञ्चन पानीको मुहान भेटिन्छ।

करिब २,१०० मिटर उचाइबाट निस्किएर तल झरेकी रहिछन् विष्णुमती। ठूलाठूला ढुंगाको बीचबाट झरेकी छन्। ढुंगाको बीचमा च्यापिएर बनेको ओडारमा पूजाआजा गरिने रहेछ। हामी पुग्दा एक महिला पूजामा व्यस्त थिइन्।

यो कञ्चन र निर्मल जलधारा तल उपत्यका झरेपछि मैलिएर दुर्गन्धित बन्छ। यही विष्णुमतीलाई नदीको स्रोतमा गएर पूजा गर्ने हामी तल आएपछि मलमूत्र विसर्जन गर्ने ठाउँ बनाउँछौँ।

विष्णुद्वारको दर्शनपछि तल झरेर डाँडागाउँ आयौँ। डाँडागाउँमा होम-स्टे सञ्चालित रहेछन्। यो गाउँबाट काठमाडाैँ उपत्यको पूरै देखिने रहेछ। अझै साँझ बत्तीको प्रकाशमा सहरको सौन्दर्य खुलेर आउने रहेछ। यही कारणले पनि यो ठाउँका रिसोर्ट र होम-स्टे सहरी युवाको रोजाइमा परेका छन्। यहाँबाट ओरालो लागेपछि एउटा बाटो टोखा या झोर पुगिने रहेछ भने अर्को बाटो बूढानीलकण्ठ। गाउँको सीमानजिकै नेपाली सेनाको स्टाफ कमान्ड कलेज पनि रहेछ।

हामी स्टाफ कमान्ड कलेज जाने बाटोका लागि जंगलको बीचबाट बनाएको चिप्लो कालो पिच बाटो हुँदै नारायणस्थान बूढानीलकण्ठ स्कुलसम्म आयौँ। आफ्नो घर प्रस्थान गर्‍यौँ।

विष्णुद्वार पानी मुहानसम्म जाँदा जंगलको बीचमा चराको आवाज सुन्दै, लहरा र लतासँग लहसिँदै हिँडदा रमाइलो लाग्दछ। बाटोमा कतै पानीको छिपछिपे झरना पनि भेटिन्छ। बाटोमा युवकयुवतीका जोडी भेटिन्छन्। हुत्तिएर आउने बाइक भेटिनु सामान्य हो त्यहाँ। शनिबारको दिन भएर होला विष्णुद्वारमा जाने धेरै भेटिए। धेरै उकालो पनि उक्लिन नपर्ने, चारपाँच घण्टाभन्दा बढी पनि हिँड्नु नपर्ने, प्राकृतिक आनन्द पनि पाइने र पदयात्राको अनुभव पनि हुने भएको हुँदा यो रुट सबैको रोजाइमा परेको हुनुपर्छ। परिवारसहित नै पदयात्रा गर्न पनि यो ठाउँ उपयुक्त छ।

प्रकाशित: ६ जेठ २०८० १९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − four =