मौउरिन्हो नेतृत्वको रोमा फेरि युरोपेली उपाधिको संघारमा

हिमाल प्रेस ५ जेठ २०८० ९:०५
12
SHARES
मौउरिन्हो नेतृत्वको रोमा फेरि युरोपेली उपाधिको संघारमा

काठमाडौँ- जोसे मौउरिन्हो नेतृत्वको एएस रोमा लगातार दोस्रो सिजन युरोपेली उपाधिको संघारमा पुगेको छ। गत सिजन युरोपा कन्फ्रेन्स लिग जितेको रोमा यसपालि बायर्न लेभरकुजनलाई पन्छाएर युरोपा लिगको फाइनलमा पुगेको हो।

सेमिफाइनलको दोस्रो लेगमा रोमाले बिहीबार राति लेभरकुजनलाई उसकै मैदानमा गोलरहित बराबरीमा रोक्यो। पहिलो लेगमा १-० ले नतिजा आफ्नो पक्षमा पारेको रोमा समग्रमा १-० ले अघि रह्यो।

बे ऐरिनामा रोमाले खासै आक्रमण बुन्न सकेन। बरु लेभरकुजनले गरेका आक्रमण विफल तुल्याउनमै केन्द्रित रह्यो। निर्धारित समय र थपिएको आठ मिनेटमा पनि लेभरकुजनलाई रोक्न सकेपछि रोमाले उपाधि भिडन्तमा स्थान बनायो। अब रोमाले मे ३१ मा सेभियाको सामना गर्नेछ। स्पेनको सेभिया युभेन्टसलाई पराजित गर्दै फाइनलमा पुगेको हो।

एकपटक फेरि युरोपेली फाइनलमा पुग्न सकेकोमा मौउरिन्हो प्रसन्न देखिए। उनले रोमाले पत्याउनै नसकिने खालको खेल देखाएको प्रतिक्रिया दिए। ‘योभन्दा कति राम्रो खेल्ने? मलाई थाहा छैन, मैले खेलाडीहरुलाई अहिलेभन्दा अझ राम्रो खेल भन्न सक्छु कि सक्दिनँ। तर मलाई के थाहा छ भने, यी सबै खेलाडी सफलताको हकदार हुन्,’ मौउरिन्होले भने।

रोमाका कप्तान लोरेन्जो पेलिग्रिनीले भने आफ्नो टिमले केही पक्षमा सुधार गर्न जरुरी रहेको स्वीकार गरे। ‘हामी केही पक्षमा कमजोर देखिएका छौँ। र ती सबै पक्षमा सुधार ल्याउन पनि सक्षम छौँ। हामी एक परिवार हो। जे गर्छौँ मिलेर गर्छौँ,’ पेलिग्रिनीको भनाइ थियो।

उता लेभरकुजनका प्रशिक्षक जाबी अलन्सोले आफू त्यतिबिघ्न निराश नभएको बताए। ‘खासमा म खुसी नै छु। सबै खेलाडीको प्रदर्शनमा सन्तुष्ट छु। उनीहरुले अन्तिम क्षणसम्म पनि मेहनत गर्न छाडेनन्। यो मानसिकतालाई कायम राख्नुपर्छ,’ कुनै समय रियल म्याड्रिडमा मौउरिन्होको प्रशिक्षणमा खेलेका अलन्सोले भने।

लेभरकुजनका मिडफिल्डर केरेम डेमिरबेले मौउरिन्होको ‘कुरुप रक्षात्मक’ रणनीति भत्काउन नसकिएको बताए। ‘युरोपेली प्रतियोगिताको सेमिफाइनलमा समेत मौउरिन्हो यस्तो रणनीति बनाउँछन्, जित्छन् पनि। यो राम्रो होइन। यस्तो रणनीति साँच्चै कुरुप हुन्छ,’ डेमिरबेको आरोप थियो।

पहिलो लेग जितिसकेकाले रोमा दोस्रो लेगमा त्यही अग्रता जोगाउने उद्देश्यले मैदान ओर्लिएको थियो। उसो त रोमा रक्षात्मक रणनीतिलाई सफल बनाउँदै सेमिफाइनलसम्म आइपुगेको थियो। फाइनलमा स्थान सुरक्षित गर्न मौउरिन्होले नयाँ रणनीति बनाएनन्। फलतः रोमाले युरोपाका आठ नकआउट खेलमा खाएको गोल संख्या तीन कटेन।

रोमाविरुद्ध लेभरकुजनले सुरुवातबाटै आक्रामक खेल देखाएको थियो। गोलका अवसर सिर्जना गर्न माहिर फ्लोरियन रिजले मिडफिल्डमा नियन्त्रण जमाएका थिए। फ्रान्सका मौसा डियाबीसँग मिलेर उनले १२ औँ मिनेटमा खतरनाक मुभ बनाएका थिए। आखिरमा डियाबीले गरेको प्रहार रोमाको पोस्टमा लाग्यो।

१० मिनेटपछि यी दुईको साझेदारी फेरि एकपटक देखियो। तर डियाबीको प्रहार बाहिरियो। इरानी स्ट्राइकर सरदार आज्मौनले पनि काउन्ट्रमा केही राम्रा मौका पाएका थिए। दोस्रो हाफमा मैदान छिरेका एमिने एड्लीले आज्मौनका लागि बक्समा क्रस निकालिदिएका थिए। तर आज्मौनले क्रसलाई सदुपयोग गर्न सकेनन्, उनको प्रहार फेरि बाहिरियो।

रेफ्रीले खेल सकिएको घोषणा गर्नसाथ मौउरिन्हो खुसीयाली मनाउन रोमा समर्थक भएतिर गएका थिए। मौउरिन्हो किन पनि अत्यधिक खुुसी देखिए भने युरोपा जिते रोमा च्याम्पियन्स लिगमा फर्कन सक्छ। सिरी ए मा हाल छैटौँ स्थानमा सीमित भएकाले रोमाका लागि युरोपा आशा हो।

युरोपा सेमिफाइनलबाट बाहिरिए पनि लेभरकुजन अलन्सोको नेतृत्वमा सही बाटोमा छ। रेलिगेसन क्षेत्रमा रहेको लेभरकुजन अलन्सो प्रशिक्षक बनेपछि लयमा फर्किएको हो। लेभरकुजन हाल बुन्डेसलिगामा हाल सातौँ स्थानमा छ। बुन्डेसलिगामा दुई खेल खेल्न बाँकी छँदा लेभरकुजनको शीर्ष चारमा रहने सम्भावना सकिइसकेको छ।

यद्यपि छैटौँ स्थानमा उक्लिएर अर्को सिजन कन्फ्रेन्स लिग खेल्ने लेभरकुजनको सम्भावना भने जीवित छ। छैटौँ स्थानको उल्फ्सबर्गसँग लेभरकुजनको अंक बराबर (४९) छ। रियल म्यड्रिड फर्कने हल्ला चलिरहे पनि अलन्सोले आफू अर्को सिजन पनि लेभरकुजनमै रहने घोषणा गरेका छन्। यसकारण अलन्सोले लेभरकुजनलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित: ५ जेठ २०८० ९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast