हरेक मानिसको फरफरक सपना हुन्छ। कोही डाक्टर, इन्जिनियर, पाइलट बन्न चाहन्छन् भने कोही गायक, नायक, डान्सर बन्न चाहन्छ। यस्तै चाहना र सपनाको कथा हो, ज्याकी : आई एम ट्वान्टी वान।
रेनेसा वान्तवा राईको पहिलो फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ को तुलनामा ‘ज्याकी’ केही हदसम्म राम्रो बनेको छ। यसपालि आफ्नो मनको कथा, आफूले देखेको र भोगेको कथा फिल्ममार्फत भन्ने प्रयास गरेकी छन्। नृत्यमाथि फिल्म बनाउनु आफैँमा केही नौलो र फरक कोसिस हो, नेपाली फिल्म क्षेत्रमा।
बच्चा जन्मिनासाथ आमाबाउको सपना सुरु हुन्छ, ‘मेरो बच्चालाई ठूलो भएपछि डाक्टर बनाउँछु, इन्जिनियर बनाउँछु, बेलायतको लाहुरे बनाउँछु आदि इत्यादि। त्यसमाथि अझै छिमेकी आएर भनिछन, ‘यो बच्चा त साह्रै भाग्यमानी छ। सर्लक्क परेको ज्यान छ, निधार पनि ठूलो, पक्कै ब्रिटिस लाहुरे हुन्छ हेर्दा नि गोराजस्तै छ। पिठोजस्तो गोरो छ।’
यस्तै एउटा युवाको कथा हो, ‘ज्याकी : आई एम ट्वान्टी वान’। जसमा ज्याकी हिपहप डान्सर बन्न चाहन्छ। संगीतमा लगाव भएको दाइ सुधार केन्द्रमा छ। आफू लाहुरे हुन नसकेका बाउको चाहना ज्याकीलाई ब्रिटिस लाहुरे बनाउने छ। यहीँबाट कथामा द्वन्द्वको सुरु हुन्छ।
फिल्ममा सबै राम्रो रहँदारहँदै पनि पटकथा कमजोर हुँदा देखाउन खोजिएको, भन्न खोजिएको कुरा दर्शकसम्म पुग्दैन। फिल्म गीतिकथाजस्तो छ। चाहिनेभन्दा बढी गीत र नृत्य छ। जसले कथालाई ओझेलमा पारेको महसुस हुन्छ। कथा र गीतको तालमेल मिलेको छैन। कथाले अन्तरजातीय विवाह, परिवारको विदेशमोह, महिलाको स्वनिर्णय आदि कुरा देखाउन खोजेको छ। जो कुरा निर्देशकले फिल्मकी मुख्य पात्र रुबी (जसिता गुरुङ)मार्फत भन्ने प्रयास गरेको छ।
निर्देशक रेनसा एक स्थापित कोरियोग्राफर हुन्। डान्सरको मर्म उनले राम्ररी बुझेकी छन्। कुनै निर्देशकले बुझेको विषयमा फिल्म बनाउनु आफैँमा प्रशंसनीय छ।
फिल्ममा मुख्य भूमिकामा रहेका ज्याकी लिम्बू (धीरज मगर) आफ्नो सपनाको उडान भर्न लाहुरेको तयारी कक्षा छोडेर सपनाको सहर काठमाडाैँ हानिन्छ। यहाँ उनको भेट रुबीसँग हुन्छ। अगाडि बढ्छ उनीहरूको कथा, नृत्ययात्रा।
कथामा उठाइएको विषयवस्तु राम्रो छ। भन्न खोजेको कुरा पनि राम्रो छ। तर कथा भन्ने शैली अलि नमिल्दा विषयवस्तु गहन भए तापनि दर्शकको मनसम्म पुग्दैन। घरी डान्स, घरी ड्रामाले गर्दा दर्शक फिल्मसँग जोडिन पाउँदैनन्।
निर्देशकले ठूलै जोखिम मोलेर यो फिल्म बनाउने दुस्साहस गरेको हो। जसको प्रशंसा गर्नैपर्ने हुन्छ। फिल्ममा डान्स कति राख्ने, ड्रामा कति राख्नेमा निर्देशक अलमलिएकी छन्। त्यस्तै पात्रका भावना प्रस्तुत गर्नमा पनि फिल्म चुकेको छ। दर्शकका भावना नबुझ्दा फिल्म जति हुन सक्थ्यो त्यति प्रभावकारी हुन सकेको छैन।
फिल्म विभिन्न तरिकाले भन्न सकिन्छ। कथा पनि विभिन्न ठाउँबाट टिप्न सकिन्छ। त्यसमाथि आफ्नो व्यक्तिगत कथा भन्न सकियो भने झने आधिकारिक र प्रभावकारी हुन्छ। एउटा कोरियोग्राफरको नृत्यसँग सम्बन्धित कथा आउनु ज्यादै राम्रो सुरुवात हो। सबैले आफ्नो व्यक्तिगत कथा, आफू जानकार विषयको कथा भन्ने हो भने राम्रोराम्रो फिल्म बन्नेछन्। अनि नेपाली फिल्मको स्तर उकासिनेछ।
फिल्ममा ज्याकी र रुबीको नृत्य सुधारिएको छ। उनीहरूको मेहनत देखिन्छ। तर निर्देशकले प्रतिस्पर्धी समूहसँगको टक्करमा डान्स भनेजसरी देखाउन सकेको छैन। नाच्ने मञ्च, रङ, पहिरनलगायतले पनि फिल्मको कथालाई मद्दत गरेका छैनन्। त्यसैले कतिपय ठाउँमा दर्शकको ध्यान भंग गर्छ।
समग्रमा भन्नुपर्दा नेपाली फिल्मको कथामा सकारात्मक परिवर्तन आइरहेको बुझिन्छ। कथा पनि राम्रो उठान भएको छ। अब कथाको सिलसिला मिलाउने काममात्रै बाँकी छ। जुन अलिकति प्राविधिक काम हो। जसमा कहाँनेर दर्शकलाई हँसाउने, कहाँ भावुक बनाउने, कहाँनेर दर्शकलाई कथा सँगसँगै बगाउने भन्ने कुरामा नेपाली फिल्म चुकिरहेका छन्। ‘ज्याकी’ त्यसकै एउटा उदाहरण बनेको छ।
एउटा डान्सरको कथालाई ठूलो पर्दामा पस्किन सक्नु आफैँमा नयाँ अनि राम्रो कुरा हो। आफ्नो सोचाइ, भोगाइलाई इमानदारीसाथ दर्शकसामु पस्कनु नै निर्देशकको सबैभन्दा बलियो पक्ष हो।
(निर्देशक मगर फिल्म एडुकेटर हुन्।)