सन् २०२२ मा ८ सय ८३ जनालाई मृत्युदण्ड, कुन देशमा कति?

हिमाल प्रेस २ जेठ २०८० १७:२८
12
SHARES
सन् २०२२ मा ८ सय ८३ जनालाई मृत्युदण्ड, कुन देशमा कति? इरानमा भइरहेको मृत्युदण्डको विरोध गर्दै गत जनवरीमा १४ मा बेलायतको प्रधानमन्त्री कार्यालयबाहिर भेला भएका प्रदर्शनकारी। तस्बिर : एमनेस्टी इन्टरनेसनल

काठमाडौँ-  विभिन्न मुलुकमा गरी सन् २०२२ मा ८ सय ८३ जनालाई मृत्युदण्ड दिइएको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमस्टी इन्टरनेसनलले मंगलबार जनाएको छ। मध्यपूर्व र उत्तर अफ्रिकाका २० वटा देश मृत्युदण्ड दिनेमा अगाडि छन्। यसमा चीनमा गरिएका हजारौँ मृत्युदण्डका घटना समावेश छैन।

मृत्युदण्डको दर सन् २०२१ को तुलनामा ५३ प्रतिशले बढेको एमनेस्टीको विज्ञप्तिमा उल्लेख छ। मध्यपूर्व र उत्तर अफ्रिकाका देशहरूमा मृत्युदण्डको संख्या सन् २०२१ मा ५२० रहेकोमा सन् २०२२ मा ८२५ पुगेको छ। इरानमा ५ सय ७६ जनालाई मृत्युदण्ड दिइएको थियो। इरानमा सन् २०२१ मा ३ सय १४ जनालाई मृत्युदण्ड दिइएको थियो।

सन् २०२२ मा साउदी अरबले एकै दिनमा ८१ जनालाई मृत्युदण्ड दिएको थियो। त्यहाँ वर्षभरिमा १ सय ९६ जनालाई मृत्युदण्ड दिइएको थियो। साउदीमा सन् २०२१ को ६५ बाट तीन गुणा बढेर सन् २०२२ मा १९६ पुग्यो जुन ३० वर्षमा अभिलेख गरेको सबैभन्दा उच्च संख्या रहेको एमनेस्टीले जनाएको छ।

इजिप्टले सन् २०२२ मा २४ जनालाई मृत्युदण्ड दिएको थियो भने अमेरिकामा १८ जनाले मृत्युदण्ड पाएका थिए। अघिल्लो वर्ष अमेरिकामा ११ जनालाई मृत्युदण्ड दिइएको थियो।

‘सन् २०२२ मा मृत्युदण्डको संख्या बढाएर र मानव जीवनप्रति कठोर अवहेलना प्रकट गरेर मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रका देशहरूले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेका छन्। जीवन खोसिएका व्यक्तिहरूको संख्या यस क्षेत्रमा नाटकीय रूपमा बढेको छ’, एमनेस्टीकी महासचिव आग्नेस कालामारले भनिन्।

इरानमा हालै भएको विद्रोह अन्त्य गर्ने प्रयासमा सरकारले विरोध गर्ने अधिकारको अभ्यास गरेकैमा मृत्युदण्ड दिएको विज्ञप्तिमा उल्लेख छ।

चीन, उत्तर कोरिया र भियतनामलगायतका धेरै देशहरूमा मृत्युदण्डको प्रयोगलाई गोपनयीताको आवरणमा लुकाइएको एमनेस्टीको ठहर छ। सोही कारण मृत्युदण्डको वास्तविक आँकडा यो भन्दा धेरै उच्च रहेको छ। चीनमा मृत्युदण्ड दिइएकाको खास संख्या अज्ञात रहे तापनि इरान, साउदी अरेबिया, इजिप्ट र अमेरिकाभन्दा चीन मृत्युदण्ड दिने देशमा सङ्ख्यात्मक हिसाबले अग्रस्थानमा रहेको विज्ञप्तिमा उल्लेख छ।

सन् २०२२ देखि अफगानिस्तान, कुवेत, म्यानमार, प्यालेस्टाइन र सिंगापुरमा मृत्युदण्डको प्रावधान फेरि सुरु भएको छ। सन् २०२१ को तुलनामा सन् २०२२ मा लागूऔषधसम्बन्धी अपराधका लागि मृत्युदण्ड दिइएको अभिलिखित संख्या दोब्बरले बढेको छ।लागूऔषधसम्बन्धी मृत्युदण्ड अन्तर्राष्ट्रिय मानवअधिकार काननुको उल्लंघन हो। लागूऔषधसम्बन्धी अपराधमा साउदी अरेबिया ९५७ जना०, इरान ९२५५जना० र सिंगापुर ९११जना० ले मृत्युदण्ड पाएको विज्ञप्तिमा उल्लेख छ।

‘एउटा निष्ठुर परिघटना हुनुपर्छ ज्ञात सबै मृत्युदण्डमध्ये लगभग ४० प्रतिशत लागूपदार्थसम्बन्धी अपराधहरूमा भएका छन्।यस्तो मृत्युदण्डको सजाय पाउनेमा प्राय : विपन्न पृष्ठभूमिका व्यक्तिहरू छन् जो यस कठोर सजायका लागि असमानुपातिक रूपमा प्रभावित हुने गर्छन्,’ आग्नेस कालामारले भनिन्।

६ देशमा मृत्युदण्डको सजाय खारेज

सन् २०२२ मा ६ वटा देशहरूले मृत्युदण्डको सजाय पूर्ण वा आंशिक रूपमा खारेज गरेका थिए।

काजकस्तान, पपुवा न्यु गिनी, सियरा लियोन र मध्य अफ्रिकी गणतन्त्रले सबै अपराधका लागि मृत्युदण्डको सजाय खारेज गरेका छन् भने इक्वेटोरियल गिनी र जाम्बियाले सामान्य अपराधका लागि मात्र मृत्युदण्डको सजाय हटाएका छन्।

सन् २०२२ को डिसेम्बरसम्म ११२ देशले सबै अपराधहरूको लागि मृत्युदण्डको सजाय खारेज गरेका थिए। नौ देशले सामान्य अपराधका लागि मात्र मृत्युदण्डको सजाय खारेज गरेका थिए।

लाइबेरिया र घानाले मृत्युदण्डको सजाय उन्मूलन गर्नका लागि कानुनी कदम चालेको विज्ञप्तिमा उल्लेख छ। श्रीलंका र माल्दिभ्सका अधिकारीहरूले मृत्युदण्डको सजाय कार्यान्वयन नगर्ने बताएका छन्।मलेसियाको संसदमा अनिवार्य मृत्युदण्ड खारेज गर्ने विधेयक पनि पेस गरिएको थियो।

‘धेरै देशहरूले मृत्युदण्डलाई इतिहासको फोहोरको डब्बामा पठाइरहँदा अरूले पनि यस्तै गर्ने समय आएको छ। इरान, साउदी अरेबिया, चीन, उत्तर कोरिया र भियतनाम जस्ता देशहरूको क्रूर कार्यहरू अहिले अल्पसंख्यामा सीमित हुन पुगेको छ। यी देशहरूले तुरून्तै समयको गतिलाई समात्नुपर्छ। मानिसलाई हत्या गर्नुको साटो उनीहरूलाई न्याय प्रदान गर्नुपर्छ’, आग्नेस कालामारले भनिन्।

सन् २०२२ मा कुन देशमा कतिलाई मृत्युदण्ड?

इरान : ५७६
साउदी अरब : १९६
इजिप्ट : २४
अमेरिका : १४
इराक : ११
सिंगापुर : ११
कुवेत : ७
सोमालिया : ६
दक्षिण सुडान : ५
प्यालेस्टाइन : ५
यमन : ४
बंगलादेश : ४
म्यानमार : ४
बेलारुस : १
जापान : १

प्रकाशित: २ जेठ २०८० १७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast