च्याम्पियन्स लिग : सानसिरोमा सहरी प्रतिद्वन्द्वी मिलानमाथि इन्टर हाबी

हिमाल प्रेस २८ वैशाख २०८० ८:०७
14
SHARES
च्याम्पियन्स लिग : सानसिरोमा सहरी प्रतिद्वन्द्वी मिलानमाथि इन्टर हाबी मिलानलाई हराएपछि खुसीयाली मनाउँदै इन्टरका खेलाडी

काठमाडौँ- इन्टर मिलान च्याम्पियन्स लिगको फाइनल नजिक पुगेको छ। सहरी प्रतिन्द्वी एसी मिलानलाई सेमिफाइनल पहिलो लेगमा २-० ले पराजित गरेपछि इन्टर फाइनलतर्फ अघि बढेको हो। सान सिरोमा बुधबार राति इन्टरलाई विजयी बनाउन एडन जेको र हेनरिक मिखितार्यनले सुरुवाती ११ मिनेटभित्र एक-एक गोल गरे।

सन् २०१० मा च्याम्पियन्स लिग विजेता बनेको इन्टर यसपालि फाइनल पुगेमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीबीचको विजेताको सामना गर्नेछ। मंगलबार राति पहिलो सेमिफाइनलको पहिलो लेगमा रियल र सिटीले १-१ को बराबरी खेलेका थिए।

सानसिरोमा ‘अवे टिम’ मानिएको इन्टरले पहिलो हाफमा दबदबा कायम गरेको थियो। गोलका थप अवसर सिर्जना गरेको पनि हो। तर गोल अन्तर बढेन।

‘विशेषगरी पहिलो हाफमा हामीले असाध्यै राम्रो खेल्यौँ। सायद गोल अन्तर योभन्दा बढी हुनुपर्थ्याे। किनभने हामीले पर्याप्त अवसर सिर्जना गरेका थियौँ,’ इन्टरका प्रशिक्षक सिमओने इन्जाघीले भने, ‘यो खेल हाम्रा लागि भावानात्मक थियो। तर खेलाडीहरु सम्हालिएर खेले। हामीले यही लयलाई कायम राख्ननुछ। हामी सपना पूरा गर्न एक कदम मात्र टाढा छौँ।’

दोस्रो लेग मंगलबार हुनेछ। यसका लागि दुवै टिम फेरि सानसिरो फर्कनेछन्। ‘म मेरो टिम र खेलाडीबारे जानकार छु। मलाई थाहा छ आजको भन्दा राम्रो प्रदर्शन हुनसक्छ। मलाई इन्टर कति बलियो टिम हो भन्ने पनि थाहा छ। तर हामी पनि कम छैनौँ। दोस्रो लेग दुवै टिमका लागि सजिलो हुनेछैन। किनभने फाइनल पुग्ने त्यो अन्तिम मौका हुनेछ,’ हारपछि मिलानका प्रशिक्षक स्टेफानो पिओलीले भने।

गत सिजन मिलानलाई सिरी ए जिताएका पिओलीले फाइनल पुग्ने सम्भावना अझै बाँकी रहेको बताए। ‘दोस्रो लेगमा हामी इन्टरलाई अप्ठ्यारोमा पार्न सक्छौँ। गोल गर्न साथ हामी लयमा फर्कनेछौँ। यसो गर्न मिलान सक्षम छ। हामीसँग पर्याप्त प्रतिभाशाली खेलाडी छन्। हो, इन्टरलाई पराजित गर्दै अघि बढ्न ग्राहो छ तर असम्भव छैन,’ पिओलीकाे भनाइ थियाे।

‘युरोडार्बी’ भनिएको खेलमा मिलानसँग विंगर राफाएल लिआओ थिएनन्। तिघ्राको चोटबाट उनी अझै मुक्त भइसकेका छैनन्। उनको अनुपस्थितिमा मिलानको मुख्य भरोसा ओलिभर जिरुड थिए। तर उनले स्वाभाविक खेल देखाउन सकेनन्।

च्याम्पियन्स लिग सेमिफाइनलमा मिलान सहरका यी दुई क्लब २० वर्षपछि भिडेका हुन्। सन् २००२/०३ मिलानले इन्टरलाई ‘अवे गोल’ मा पछि पारेको थियो। त्यसपछि फाइनलमा युभेन्टसलाई पराजित गरेको मिलान छैटौँ पटक च्याम्पियन्स लिग च्याम्पियन बन्यो। त्यसबेलाको मिलान टिमका कयौँ खेलाडी बुधबार राति सानसिरोमा थिए। उनीहरुसँग टेनिस स्टार नोभाक जोकोभिच पनि थिए, जो मिलान समर्थक हुन्।

दोस्रो लेगका लागि भने लिआओ मिलानको टिममा फर्कने विश्वास गरिएको छ। उच्च गोलकर्ता लिआओको साथले मिलान बलियो बन्ने अपेक्षा छ। तर इन्टरका प्रशिक्षक इन्जाघी लिआओको पुनरागमनको चिन्ता गरिरहेका छैनन्। ‘लिआओसम्मिलित मिलानविरुद्ध हामीले कयौँ डार्बी खेलेका छौँ। उनी नभएको मिलान टिमको पनि निकै पटक सामना गरेका छौँ। उनी प्रतिभावान् खेलाडी हुन्। यसमा कुनै शंका छैन। तर उनी हुनु वा नहुनुले हाम्रो रणनीतिमा केही फरक पर्दैन,’ इन्जघीले भनेका छन्।

सुरुवातमै दुई गोल खानु मिलान हार्नुको मुख्य कारण भएको रक्षक फिकायो टोमोरीको भनाइ थियो। ‘यसरी तुरुन्त दुई गोल खाँदा पुनरागमन गर्न गाह्रो हुन्छ। यो नतिजाले हामी निराश छौँ। हामीले यत्तिको खराब सुरुवात गर्न हुँदैन थियो। अब हामीले आत्मविश्वासका साथ दोस्रो लेगमा भिड्न जरुरी छ,’ टोमोरीले भने।

खेल सुरु हुनु आधा घण्टाअघि नै सानसिरो रंगीन बनेको थियो। दुवै टिमका समर्थक एकआपसविरुद्ध नाराबाजी गरिरहेका थिए। तर जब खेल सुरु भयो, माहोल इन्टरको पक्षमा गयो। घरेलु लिगमा लगातार पाँच खेल जितेर च्याम्पियन्स लिगमा आइपुगेको इन्टर सुरुबाटै संगठित देखिएको थियो।

गोलको खाता खोल्न इन्टरले धेरै समय लगाएन। मिलानका पूर्वखेलाडी हाकन चालानोग्लुको कर्नरबाट आएको बललाई जेकोले नियन्त्रणमा नलिई ‘हाफ भली’ गोलमा परिणत गरे। पहिलो गोल गरेको आठौँ मिनेटमा गरेको इन्टरले दोस्रो गोल ११ औँ मिनेटमा ग¥यो। फेडेरिको डिमार्कोबाट आएको बललाई कप्तान लाउटारो मार्टिनेजले मिखितार्यनका लागि छाडिदिएका थिए। त्यसपछि अर्मेनियाली मिडफिल्डर मिखितार्यनले बक्सबाहिरबाट सुन्दर गोल गरे।

इन्टरले १५ औँ मिनेटभित्रै तीन गोलको अग्रता लिने मौका गुमाएको थियो। चालानोग्लुले गरेको प्रहार गोलपोस्टमा लागेका थियो। इन्टरले ३१ औँ मिनेटमा पाएको पेनाल्टी भीआएरले उल्टाइदिएपछि मिलान अर्को गोल खानबाट जोगियो। दोस्रो हाफको ५३ औँ मिनेटमा जेकोले व्यक्तिगत दोस्रो गोल गर्ने अवसर खेर फाले। वान-भर्सेस-वानमा उनलाई मिलानका गोलरक्षक माइक माइग्नानले रोके।

मिलान दोस्रो हाफको ६३ औँ मिनेटमा गोलको नजिक पुगेको थियो। तर सान्ड्रो टोनालीको गरेको प्रहार पोस्टमा लाग्न पुग्यो। मिलानका लागि गोलको सबैभन्दा ठूलो अवसर यही थियो। बाँकी समय मिलानले खासै आक्रमण बुन्न सकेन।

प्रकाशित: २८ वैशाख २०८० ८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast