काठमाडौँ- बेलायतका राजा चार्ल्स तृतीयको एक भव्यसमारोहबीच राज्याभिषेक भएको छ। उनकाे राज्याभिषेक समारोहले विश्वको ध्यान नै लन्डनतिर खिचेकाे छ। लन्डनस्थित एक प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर आबीमा राज्याभिषेक भएको हो।
आर्चबिशप अफ क्यान्टरबरीले राजा चार्ल्सलाई तीन सय ६० वर्ष पुरानो श्रीपेच अर्थात मुकुट पहिर्याएर राज्याभिषेकलाई औपचारिकता दिएका हुन्। बेलायतमा ९ सय वर्षदेखि वेस्टमिन्स्टर आबीमा राजाहरूको राज्याभिषेक हुँदै आएको छ।
त्यहाँ राज्याभिषेक हुनेमा चार्ल्स ४०औँ राजा हुन्। विभिन्न देशका राष्ट्रप्रमुख, राज नेताहरू, राजपरिवार सदस्य, सेलिब्रेटी, स्वयंसेवक, सशस्त्र फौजलगायत झन्डै दुई हजार पाहुनासामु उक्त पुरानो ताज पहिरिएर बेलायती परम्परा र गौरवलाई निरन्तरता दिएका हुन्।
उक्त ताज २२ क्यारेट सुन र हिरा ज्वाहरत जडितले बनेको छ। करिब सवा दुई किलोको उक्त मुकुट तीस सेन्टिमिटर उचाईको छ। यो मुकुट यसअघि महारानी एलिजाबेथ द्वितीयले सन् १९५३ मा पहिरिएकी थिइन। विगत ७० वर्षदेखि यो मुकुट टावर अफ लन्डनबाट बाहिर खासै आएको थिएन। उक्त श्रीपेच राजाहरूले राज्याभिषेकको बेला मात्रै पहिरन्छन्।
राजाले आजको समारोह सन् १९५३ मा भएको आफ्नी आमाको राज्याभिषेकको तुलनामा सानो, छोटो र विविधतायुक्त होस् भन्ने चाहना राखेको बेलायती सञ्चार माध्यमहरूले छापेका थिए। उनकी आमाले इतिहासमै सबैभन्दा लामो अर्थात सात दशक शासन गरेकी थिइन्।
महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बरमा निधन भएपछि ७३ वर्षको उमेरमा राज्यारोहण गरेका चार्ल्स संसारमै सबैभन्दा बढी उमेरका राजा हुन्। उनी अहिले १५ कमनवेल्थ मुलुकका प्रमुख पनि हुन्।
राजा चार्ल्सप्रति निष्ठा व्यक्त गर्दै आर्चबिशप सम्मानमा झुकेका थिए। त्यसपछि राजा चार्ल्सले सपथ खाँदै भने, ‘म कसम खान्छु कि म महाराज, उहाँको उत्तराधिकारी र कानुनमा साँचो निष्ठा राख्नेछु।’ आर्चबिशपले वेस्टमिन्स्टर आबीमा र घरमा कार्यक्रम हेरिरहेकाहरूलाई यी शब्दहरूका साथ राजा चार्ल्सप्रति वफादारीको शपथ लिन आग्रह गरेका थिए।
रानी कन्सोर्ट क्यामिलालाई पनि ताज लगाइएको भए पनि उनलाई सपथ लिन लगाइएन। उनले रानी मेरीको पुरानो ताज लगाएकी थिइन। राजा चार्ल्सको राज्याभिषेकका लागि करिब २ हजार मानिस विदेशी पाहुना बोलाइएको थियो।
उक्त कार्यक्रम विश्वभर रहेको बेलायती दूतावासमा प्रत्यक्ष प्रशारण गरिएको थियो। सबै दूतावासहरू रंगिएका थिए। बेलायत पनि धपक्कै थियो। सुनौला बग्गीमा राजपरिवारलाई घुुमाइएको थियो। बेलायती सेना र गोर्खा सेनाको परेड हेर्न लायक थिए।
टेलिभिजनमार्फत संसारभरका करोडौँ मानिसले उक्त समारोहको प्रत्यक्ष प्रशारण हेरिरहेका छन्। राजा चार्ल्स १४ नोभेम्बर १९४८ मा बकिङघम राजदरबारमा जन्मेका हुन् । उनकी आमा रानी एलिजाबेथ द्वितीयले गद्दी आरोहण गर्दा चार्ल्स चार वर्षका मात्र थिए।
चार्ल्स २० वर्षको हुँदा उनलाई ‘प्रिन्स अफ वेल्स’ घोषणा गरिएको थियो। सबैभन्दा लामो समय युवराज रहनेमा उनी पर्छन्। उनले जुलाई १९८१ मा लेडी डायना स्पेन्सरसँग विवाह गरेका हुन। तर उनको सम्बन्ध डेढ दशकभन्दा बढी टिक्न सकेन्। यद्यपि उनीहरूका दुई सन्तान युवराज विलियम र राजकुमार ह्यारी छन्। दुवै विवाहित हुन्।
विलियम र डायना सन् १९९६ मा अलगअलग बस्न थालेका थिए तर त्यसको केही महिनापछि नै ३१ अगस्ट १९९७ मा पेरिसमा एउटा कार दुर्घटनामा डायनाको निधन भयो। उनको निधनलाई अझै पनि रहस्यमय निधनको संज्ञा दिइएको छ।
डायनाको निधनको आठ वर्षपछि चार्ल्सले सन् २००५ मा क्यामिला पार्करसँग विवाह गरेका हुन। राजा चार्ल्सले गत सेप्टेम्बरमा शपथ लिँदै गर्दा आफ्नी आमाको उदाहरण पछ्याउने प्रतिबद्धता व्यक्त गर्दै भनेका थिए, ‘अवधि, प्रतिबद्धता र समर्पणको हिसाबले मेरी आमाको शासनसँग अरू कसैको तुलना हुन सक्दैन। म त्यही पथमा रहनेछु।’
यही समारोहमा भाग लिन नेपालबाट राष्ट्र प्रमुखको स्तरबाट सहभागिता रहने भने पनि अन्तिम समयमा राष्ट्रपति रामचन्द्र पौडेल बिरामी परेका कारण उनको स्थानमा परराष्ट्रमन्त्री एनपी साउद बेलायत पुगेका छन्।
नेपाल र बेलायतबीचको सम्बन्ध निकै पुरानो हो। बेलायत नै नेपालको पहिलो कूटनीतिक सम्बन्ध स्थापना भएको मुलुक हो। यद्यपि नेपाललाई बेलायतले खासै त्यो अनुरूपको सहयोग गर्न सकेको छैन। बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालमा दुई ऐतिहासिक राजकीय भ्रमण गरेकी थिइन् भने युवराज चार्ल्स पनि तीन पटक नेपाल आएका थिए। चार्ल्स एक पटक डायनासँगै पनि नेपाल आएका थिए।
बेलायती राजसंस्थाको संरक्षणमा नेपाली गोर्खाहरू छन्। गोर्खालाई अति विश्वास पनि गर्छन्। तर गोर्खाहरूले गरेको सेवा बराबरको सहयोग बेलायतले नेपाललाई गरेको पाइदैन।
संसारमा बदलिँदै गरेको वातावरणीय प्रभावबारे युवराज छँदादेखि नै विशेष चासो राख्दै आएका राजा चार्ल्स तृतीयले नेपालजस्तो मुलुकमा वातावरणीय प्रभावले धेरै असर गर्न सक्ने विषयमा आफ्नो काम अघि बढाउन सक्छन्। यहाँको विकासमा पनि बेलायतले सहयोग गर्न सक्छ।