दुई साताअघिको कुरा हो, सुडानमा युद्धको गन्ध फैलन थालेको थियो। त्यहीबीच मध्यस्थताकर्ताहरूको एक समूहले सुडानी सेना र अर्धसैनिक बललाई वार्तामा ल्याउने अन्तिम प्रयास गर्यो। सेनाका प्रमुख अब्देल फताह अल बुरहान र अर्धसैनिक बलका प्रमुख जनरल मोहम्मद हमदान दागालोलाई वार्ताका लागि बोलाइयो।
वार्तास्थल तोकिएको थियो, राजधानी खार्तुममा रहेको राष्ट्रपतीय कार्यालय। अप्रिल १५ को बिहान १० बजे दुवै प्रमुख आइपुग्नुपर्ने थियो। तर आएनन्। सुडानका दुई शक्तिशाली व्यक्ति वार्ताका लागि तयार नहुनु युद्धको संकेत थियो।
वार्ता हुने भनिएकै दिन अर्धसैनिक बल ‘र्यापिड सपोर्ट फोर्स (आरएसएफ)’ को छाउनीमा हवाई आक्रमण भयो। राजधानी खार्तुमको दक्षिणी भागमा रहेको यो शिविरमा सेनाले आक्रमण गरेको आरएसएफको दाबी छ। पहिलो गोली कसले चलायो, यसको स्वतन्त्र पुष्टि भएको छैन। यद्यपि यहीँबाट देशभर युद्ध फैलिएको चाहिँ सत्य हो।
पहिलो गोली चलेको केही दिनभित्रै अफ्रिकाको तेस्रो ठूलो देश सुडान पूर्ण रूपमा युद्धमा होमियो। यसले पनि के देखाउँछ भने दुई पक्ष युद्धका लागि पहिलेबाटै तयारी गरिरहेका थिए।
युद्ध किन र कसरी सुरु भयो? यसका खास कारण केके हुन्? कुनकुन घटनाले दुई पक्षलाई युद्धमा पुर्यायो? यी प्रश्नका जवाफ खोज्ने प्रयास रोयटर्सले गरेको छ। यसका लागि सेना र आरएसएफका उच्चपदस्थ अधिकारीहरूको अन्तर्वार्ता लिइएको छ। त्यहाँका सरकारी अधिकारी, कूटनीतिक नियोग सम्हालिरहेका विदेशीहरूबाट पनि जानकारी प्राप्त भएका छन्।
एक कटूनीतिज्ञका अनुसार युद्ध सुरु हुनु एक साताअघि बुरहान र दागालोबीच भेट भएको थियो। खार्तुम सहरको बाहिरी भेगमा भएको भेटमा बुरहानले दागालोलाई अल फासेर सहरबाट आरएसएफको फौज हटाउन भनेका थिए। अल फासेर पश्चिमी सुडानको डार्फर क्षेत्रमा पर्ने सहर हो। डार्फर यस्तो क्षेत्र हो जहाँ हेमेड्ती नामबाट परिचित दागालोको बलियो पकड छ।
सेना प्रमुख बुरहानले अर्को माग पनि राखे। जुन थियो, पछिल्लो समय बढिरहेको आरएसएफ फौजको खार्तुुम प्रवेशमा रोक। बदलामा हेमेड्तीले बुरहानसामु मेरोवे हवाई सैन्य शिविरबाट इजिप्टको फौज हटाउन माग राखे।
बुरहानका लागि इजिप्ट सधैँ नजिकको मित्रका रूपमा रहँदै आएको छ। बुरहानले सुडानभित्र इजिप्टको वायु सेनाको टुकडीलाई रहन दिने निर्णयलाई हेमेड्तीले शंकास्पद मानेका थिए। उनमा डर थियो, कुनै दिन बुरहानले इजिप्टका युद्धक विमानमार्फत आरएसएफमाथि बम त बर्साउने होइनन्?
मागसहित प्रस्तुत भए पनि दुई फौजका प्रमुखबीच युद्धको परिस्थिति आउन नदिने सहमतिचाहिँ भएको बताइन्छ। मध्यस्थताकर्ताहरूका अनुसार दुई प्रमुख भोलिपल्ट पनि भेट्न राजी भएका थिए। त्यसपछि वार्ता भएन।
युद्धको वातावरण सिर्जना हुन नदिने मौखिक सहमति भएको केही दिनपछि युद्धको तयारी सुरु भयो। सुडानी वायु सेनाले आरएसएफको निगारानी गर्न थाल्यो। आरएसएफका फौज कताकता भेला भइरहेका छन् भन्ने जानकारी बटुल्न थाल्यो। उता आरएसएफ भने खार्तुममा रहेका सोबा र अन्य शिविरमा फौज जम्मा गर्न सक्रिय थियो।
के भनिन्छ भने हवाई आक्रमण सुरु गर्नुअघि वायु सेनाले आरएसएफ शिविर कहाँकहाँ छन् भनेर करिब एक साता अध्ययन गरेको थियो। युद्धकै तयारीका लागि सेनाले जेनरलहरूको एक समूह तयार पारेको थियो।
हेमेड्तीका मुख्य सल्लाहकार मौसा खादाम मोहम्मदका अनुसार सेनाले सेबास्थित शिविरमा प्रहार गरेको गोलीले आरएसएफलाई झस्काएको थियो। कतिसम्म भने आरएसएफको शिविरबाहिर सेनाले तोपसमेत ल्याइसकेको थियो। ‘सेबा शिविरलाई मात्र होइन, सेनाले खार्तुममै रहेको हेमेड्तीको निवासलाई पनि घेर्यो,’ मोहम्मदले भनेका छन्।
युद्ध सुरु हुनसाथ दुई पक्षले एकआपसलाई आरोप लगाउन सुरु गरे। मोहम्मदले दाबी गरेका घटना पुष्टि हुन सकेका छैनन्। सुडानी सेना, वायु सेना र जल सेनाको संयुक्त कमान्काड प्रवक्ता ब्रिगेडियर जेनरल नबिल अब्बदुल्लाह आफूहरूले कसैमाथि आक्रमण गर्ने होइन सम्भावित युद्धलाई समाधान गर्ने नीति लिएको बताउँछन्। उनले आरएसएफबाट सुरुमा आक्रमण भएको पनि दाबी गरेका छन्। हेमेड्ती र बुरहानको सचिवालयले अन्तर्वार्ताका लागि गरेको प्रस्तावको केही जवाफ दिएन।
अमेरिका र साउदी अरबसँगै संयुक्त राष्ट्रसंघ तथा अफ्रिकी युनियनको दबाबमा हाल दुई पक्षले केही दिनका लागि युद्धविराम गरेका छन्। तर युद्धविरामको बाचाले आक्रमण रोक्न सकेको छैन।
प्रतिद्वन्द्विता
हेमेड्ती कुनै समय डार्फरमा मिलिसिया नेता थिए। उनलाई तत्कालीन राष्ट्रपति ओमार अल बसिरले डार्फरमा चलिरहेको विद्रोह समाप्त पार्न खटाएका थिए। सुन खानी भएको डार्फरमा विद्रोही समाप्त पार्न खटिएका हेमेड्ती सुन व्यापार गरेर एकाएक धनी भए।
डार्फर विद्रोह नियन्त्रणमा लिन हेमेड्ती मात्र होइन बुरहान पनि खटिएका थिए। तीन लाख सुडानी मारिएको त्यो विद्रोहमा दबाउन बुरहानले सेनोको नेतृत्व गरे। एउटै युद्धका कारण चर्चित बनेका हेमेड्ती र बुरहानबीच विस्तारै प्रतिद्वन्द्विता बढ्दै गयो।
तर सन् २०१९ मा बसिरलाई सत्ताच्युत गर्नलाई भने बुरहान र हेमेड्ती एकैठाउँमा आइपुगे। सन् १९८९ देखि लगातार सत्ता चलाएका बासिरलाई हटाउन नागरिक आन्दोलन भएको थियो। जसलाई बुरहान र हेमेड्तीले समर्थन गरे। बसिर बाहिरिएपछि सुडानको राज्य सञ्चालनका लागि परिषद् बन्यो। त्यसको शीर्ष दुई पदमा बुरहान र हेमेड्ती रहे।
डार्फरको विद्रोह दबाउन मिलिसियाका रुपमा गठन भएको आरएसएफ सन् २०१९ सम्म आइपुग्दा बलियो सुरक्षा दस्तामा परिणत भइसकेको थियो। सुडानी संसद्ले कानुन पास गरेर अर्धसैनिक बलको मान्यता दिएको आरएसएफमा अब एक लाख सैनिक थिए।
अक्टोबर, २०२१ मा बुरहान र हेमेड्ती मिलेर सत्ता पूर्ण रुपमा आफ्नो हातमा लिए। राज्य सञ्चालनका लागि बनाइएको परिषद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलहरूले सडक आन्दोलन गर्ने भइहाले। सेना तथा अर्धसैन्य बलले सत्ता हातमा लिएपछि सुरु भएको सडक आन्दालेनमा बसिरका कार्यकर्ता पनि सहभागी भए। उनीहरूको प्रभाव बढ्ने देखेपछि ‘कू’ का लागि सेनालाई सहयोग गर्नु भूल भएको निष्कर्षमा हेमेड्ती पुगे।
त्यसपछि हेमेड्ती अन्तर्राष्ट्रिय समुदायको कित्तामा पुगे। जसको माग थियो, नागरिक सरकारको गठन। उसो त हेमेड्ती आफैँ पनि भविष्यमा बलियो राजनीतिक भूमिका चाहन्थे। अघिल्लो परिषद्मा सेनाले जे भन्यो त्यही गर्नुपर्ने भएपछि हेमेड्ती वाक्क बनेका थिए। बुरहानले आरएसएफलाई सेनामा समाहित गर्ने योजनामा पनि हेमेड्तीले चित्त बुझाउन सकेका थिएनन्।
हेमेड्तीले दुई फौजलाई ‘मर्ज’ गर्ने योजना एकैपटकमा नभई १० वर्ष लगाएर पूरा गर्नुपर्ने माग राखे। तर सेना चाहन्थ्यो, ‘मर्जर’ चाँडोभन्दा चाँडो सम्पन्न होस्। सेनाको दोस्रो वरीयतामा रहेका जेनरल हामस इल डिन काब्बासी त दुई फौजलाई दुई वर्षभित्रै ‘मर्ज’ गर्नुपर्ने बताइरहेका थिए।
युद्ध सुरु हुनु एक साताअघिसम्म पनि बुरहान र हेमेड्तीबीच सम्झौता हुनसक्ने सम्भावना बाँकी नै थियो। वार्ताको मध्यस्थता गरेका एक कूटनीतिज्ञका अनुसार हेमेड्ती तुलनात्मक रूपमा बढी आक्रोशित देखिन्थे। ‘देशको प्रजातन्त्रिक बचाउन खोज्ने म मात्र हो,’ ती कूटनीतिज्ञका अनुसार वार्तामा हेमेड्तीले यसो भनेका थिए।
वार्तामा चेल अफ कमान्डबारे चर्काचर्की भएको थियो। हेमेड्तीले आफूलाई रिपोर्ट गर्नुपर्ने भनाइ बुरहानले राखेका थिए। त्यसमा हेमेड्तीको जवाफ थियो, ‘निर्वाचित संसद्ले मात्र चेन अफ कमाण्डको निक्र्योल गर्नसक्छ।’
चेन अफ कमान्डका विषयमा दुवै आआफ्नो अडानबाट पछि हटेनन्।
डार्फरदेखि पावरसम्म
सेना र आरएसएफबीच सम्बन्ध बिगार्न तेस्रो पक्ष सक्रिय रहेको हेमेड्तीको भनाइ छ। बसिरविरुद्ध आन्दोलन गरेका राजनीतिक दलहरूको गठबन्धन फोर्सेस फर फ्रिडम एन्ड चेन्ज (एफएफसी) को निर्क्याेल यही छ। हेमेड्तीका सल्लाहकार मोहम्मद सेनाभित्रको एक समूह प्रजातन्त्र नरुचाउने दाबी गर्छन्।
‘हामीले त्यो समूहको सुराकी गरेका छौँ। उनीहरू बसिरका सहयोगीहरूसँग छलफलमा छन्,’ मोहम्मदले भनेका छन्। बसिरलाई सत्तामा फर्काउन उनका समर्थक सक्रिय रहेको मोहम्मद र एफएफसीका नेताहरु बताउँछन्। यसबेला सुडानका इस्लामिक शक्तिहरू पनि बसिरको पक्षमा छन्।
गत डिसेम्बरमा निर्वाचन र नागरिक सरकारको गठनबारे भएको सहमतिको पनि विरोध गरेका थिए बसिर समर्थकहरूले। ‘निर्वाचन भए, नागरिक सरकार गठन भए, बसिरका समर्थकले चलखेल गर्न ठाउँ पाउँदैनन्। त्यसकारण उनीहरू सेना र आरएसएफको सम्बन्ध बिगार्न सक्रिय रहे। अहिले युद्धलाई थप विकराल बनाउन लागि परेका छन्,’ एफएफसीका नेता तथा पूर्वमन्त्री खालिद ओमेर युसिफले भनेका छन्।
बसिर हाल जेलमा छन्। डिसेम्बर, २०१९ मा बसिरलाई सुडानको अदालतले भ्रष्टचारको मुद्दामा दोषी ठहराएको थियो। दुई वर्षका लागि जेल चलान गरिएका उनलाई बेलाबेलामा हप्तौँसम्मका लागि अस्पताल लगिन्छ। युद्ध सुरु हुनुअघि बसिरलाई कोबेर जेलबाट सैनिक अस्पतालमा सारिएको थियो। उनीसँगै जेल परेका अन्य पाँचलाई पनि सेनाकै अस्पतालमा भर्ना गरिएको छ।
युद्ध सुरु हुनुअघि बसिर समर्थकले लोकतन्त्रवादीमाथि आक्रमण गरेका थिए। गत साता मात्र हजारौँलाई जेलमुक्त गरिएको छ। त्यसमध्येका एक बसिर सरकारका पूर्वमन्त्री पनि छन्। बसिर राष्ट्रपति हुँदा प्रधानमन्त्री रहेका मोहम्मद ताहिर आयला पनि पछिल्लो समय सार्वजनिक रुपमा देखा पर्न थालेका छन्। जबकि उनी लामो समयदेखि ‘लो प्रोफाइल’ मा थिए।
केही दिनअघि मात्र आयलाले उत्तेजक भाषण गरे। सुडानको भूमि र धर्मको रक्षाका लागि सहिद बन्न आफूहरूसँग जति पनि मान्छे रहेको आयलाको दाबी थियो। ‘हामी आफ्नो हकका लागि हतियार उठाउन तयार छौँ,’ आयलाले भनेका थिए।
रोयटर्सको सहयोगमा