उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको सफलताले पुराना दलमाथि चुनौती बढेको छ नै जनताका आकांक्षा सम्बोधन गर्न नसके नयाँ शक्तिका रूपमा उदाएको दल पनि पानीको फोकाझैँ बिलाउन सक्ने जोखिम उत्तिकै छ।
काठमाडौँ- एक वर्ष पनि भएकोे छैन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन भएको। असारमा गठित रास्वपा मंसिरमा सम्पन्न चुनावमा संसद्को चौथो ठूलो दल बन्न सफल भयो। हालै सम्पन्न उपनिर्वाचन नतिजाले रास्वपा जबर्जस्त वैकल्पिक शक्तिका रूपमा स्थापित हुन खोज्दैछ। संसद्मा यो दलका सांसदहरूको प्रस्तुतिले पनि आमनागरिक आशावादी बनेका छन्।
उपनिर्वाचनका क्रममा रास्वपामा युवादेखि पाकासम्मको झुकाव बढेको स्पष्ट भयो। कतिपय विश्लेषकहरूले यसलाई पुरानो राजनीतिक दल भत्किन लागेको संकेतका रूपमा बुझेका छन्।
यसो भन्दै गर्दा रास्वपाले आकार लिइसकेको अवस्था भने होइन छैन। यसले पनि विभिन्न विषयमा परीक्षण हुन बाँकी छ।
कांग्रेस, एमाले, माओवादीका नेताहरू रास्वपालाई पानीको फोका भनेर अनेकन् टिप्पणी गर्न छाडेका छैनन्। उपनिर्वाचनबारे ती दलका नेताहरूको टिप्पणी छ, यसले यता सहयोग र उसले उता सहयोग गरेर परिणाम रास्वपाका पक्षमा गएको हो। तर पुराना दलले रास्वपाप्रति किन आकर्षण बढ्यो? आफ्नो कमजोरी कहाँ भयो भनेर मूल्यांकन गर्न खोजेको देखिँदैन।
उपनिर्वाचनको परिणामले पुराना दलका नेताहरूको निदहराम भएको छ। सत्तारुढ दल नेपाली कांग्रेसका एक नेताले भने, ‘मैले त रातभर गठबन्धन र पुराना पार्टीबारेमा सोचेर बिताएँ। के गरेर सच्चिने हो भेउ पाउन सकिनँ। आखिर किन वितृष्णा देखियो पुरानो पार्टीमा?’
उमेरले पचास कटिसकेका यी नेतासँग जबाफ छैन। त्यसैले उनी चिन्तित हुनु स्वाभाविक हो। उनले अब के गर्ने भनेर विकल्प सोच्न नसकेको बताए।
कांग्रेसमा सक्रिय भइरहँदा पनि उनले तत्काल पार्टीको कमान्ड सम्हाल्ने अवस्थामा पुग्ने संकेत देखेका छैनन्। पार्टी परिवर्तन गर्ने हिम्मत उनीसँग छैन। उनी भन्छन्, ‘यत्रो उर्वर समय कांग्रेसमा बिताएँ। अब अन्त कसरी जाऊँ?’
उनको यो भनाइले स्थापित राजनीतिक शक्तिहरूमा एक प्रकारको छटपटी देखिन्छ। तर उनीहरू आफ्ना कमजोरी सच्याउनुपर्नेमा उल्टै अन्य दललाई गाली गरेर बसेका छन्।
सत्ता राजनीतिमा नेपाली नागरिकले ३३ वर्षसम्म उही अनुहार देख्दै आएका छन्। कार्यसम्पादनमा चुक्दै गएपछि पुराना र स्थापित दलमा आमनागरिकको विश्वास घट्दै गएको छ।
नत्र १७ साल देखेका पुस्ता रास्वपामा किन आकर्षित हुन्थे? ४६ को आन्दोलनमा हिँडेकाहरू किन रास्वपालाई च्याप्न थाले? ६२/६३ पछिका युवाले किन पुरानो पुस्तालाई रुचाएन? पुरानो दलमा रुचि नभए पनि ती दलका युवा नेता पनि मतदाताको रोजाइमा परेनन्। चितवन-२ बाट उम्मेदवार बनेका एमालेका रामप्रसाद न्यौपाने, कांग्रेसका जितनारायण श्रेष्ठ र तनहुँ-१ मा उम्मेदवार बनेका गोविन्द भट्टराई यसको उदाहरण हुन्।
श्रेष्ठ चितवनमा बाल्यकालदेखि कांग्रेस राजनीतिमा घुलमिल गर्दै आएका व्यक्तित्व हुन्। जिल्ला पार्टी सभापतिसमेत हाँकिसकेका श्रेष्ठले अघिल्लो चुनावका ‘टुरिस्ट उम्मेदवार’ उमेश श्रेष्ठको जति पनि मत ल्याउन सकेनन्। गठबन्धनका उमेदवार श्रेष्ठ त्यही क्षेत्रलाई आधार बनाएर राजनीतिमा सक्रिय छन्। त्यस्ता व्यक्तिले पाँचगुणा कम मत ल्याउँछन् भने पार्टी कता जाँदैछ? भन्ने विषयमा कांग्रेसले छलफल त गर्ला। तर चुलिँदो भ्रष्टाचार र नेताहरूको सत्तालिप्साको राजनीति भने तत्काल अन्त्य हुने देख्दैनन् प्राध्यापक डाक्टार कटक मल्ल।
उनका अनुसार दलभित्रको फितलो प्रणाली, गलत कार्यशैली र जनतासामु उठाइने कमजोर मुद्दा दोषी छ। उनी भन्छन, ‘जब समाजमा अराजकता, भ्रष्टाचार चुलिन्छ त्यसपछि सानो रूपमा भए पनि क्रान्ति हुन थाल्छ। अहिलेको उपनिर्वाचनले त्यही सन्देश दिएको हो।’
क्युबाका मन्त्री चे ग्योभाराले भनेका थिए, समाजमा राजनीतिक एवम् सामाजिक अन्याय बढेपछि सानो समूहले पनि हलचल ल्याउन सक्छ। त्यस्तो समाजमा यातायात रोकेर पनि शान्तिपूर्ण क्रान्ति गर्न सकिने विश्वास चेको थियो। नेपालमा अहिले त्यस्तै देखिएको बुझाइ छ मल्लको। उनी भन्छन्, ‘नेपालमा एक प्रकारले शान्तिपूर्ण क्रान्ति भएको देखिन्छ। यसलाई पुराना दलले सामान्य लिनु हुँदैन।’
राजनीतिक परिवर्तनपछि कांग्रेस, एमाले र माओवादी नेताहरू मुलुक बनाउन सक्रिय हुनुपर्नेमा आफू र आफ्ना कार्यकर्तामा केन्द्रित हुन थालेपछि समस्या आएको उनी बताउँछन्। यी दलका गतिविधिबाट जनता सन्तुष्ट छैनन्।
मल्ल भन्छन्, ‘नयाँ दलले त्यसैलाई क्यास गरेको हो। मानिसमा देखिएको आक्रोश यता पोखिएको हो।’ यही शक्तिले स्थायी समाधान गर्न सक्छ त भन्ने जिज्ञासामा मल्ल भन्छन्, ‘यिनीहरूले भनेको कुरा आमनागरिकमा पुग्न सकेन भने फेरि निराशा छाउँछ। यिनीहरू मान्छे मारेर आएका होइनन्। भद्र रूपमा बेथिति उजागर गर्दै आएका हुन्।’
राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय जीवनको कुनै क्षेत्रमा योगदान दिएका व्यक्तिलाई उम्मेदवार बनाएको छ। तर यो स्थायी समाधान भने होइन। मल्ल भन्छन्, ‘गाउँ तहबाट फरक प्रकारको संरचना बनाएर ल्याउने हो भने अन्य दललाई असजिलो पारिदिनेछ। अर्को कुरा उम्मेदवारले जनतासामु गरेको बाचा पूरा नगर्ने हो भने समस्या आउने निश्चित छ।’
व्यक्तिगत स्वार्थ पूरा गर्न देखाइने आश्वासन अब जनताले नपत्याउने मल्ल भन्छन त्यो गरेर देखाउन सक्नुपर्छ। स्वार्थको लागि नचाहिने मल्लले बताए।
उपनिर्वाचन भएका तीनै क्षेत्रमा सत्तारूढ माओवादीले उम्मेदवारी दिएको थिएन। त्यसैले उक्त दल जनताको परीक्षणमा पर्नुपरेन। त्यसो त परीक्षणमा सफल भइँदैन भन्ने एक प्रकारको शंका रहेको माओवादीका एक नेता बताउँछन्। उनी भन्छन्, ‘हामीले आफू परिँदैन भनेर नै वाक ओभर गरेका हौँ।’ एमालेले तीन क्षेत्रमा उम्मेदवारी दिएको थियो। तर तीनै क्षेत्रमा तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ।
कांग्रेसले पनि बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेर चितवन-२ र तनहुँ-१ मा उम्मेदवारी दिएको थियो। मत परिणामअनुसार कांग्रेस तनहुँमा पनि निकै खुम्चिएको देखियो।
कांग्रेसमा युवा पुस्ताका महामन्त्री छन्। उपनिर्वाचनमा उनीहरूको सक्रियता नभएको होइन। तर राजनीतिक मुद्दामा उनीहरू कमजोर रहेछन् भन्ने पुष्टि उपचुनाव परिणामबाट भएको छ। उपनिर्वाचनमा कांग्रेस पार्टी पूरै परिचालित भएको थियो। सत्ताधारी दल भएकाले राज्य संयन्त्र दुरुपयोग गरेको आरोप पनि कांग्रेसमाथि नलागेको होइन।
कांग्रेसका एक नेता भन्छन्, ‘चितवन र तनहुँको चुनावी परिणाम महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि झापड हो।’ उनीहरूले दलमा पुनर्जागरण ल्याउन सकेनन् भने कांग्रेसको भविष्य त्यति राम्रो नेखिने उनको बुझाइ छ। उनले भने, ‘अब महामन्त्रीले देश दौडाहा गरेर आमनागरिकलाई विश्वासमा ल्याउन सक्नुपर्छ।’
उपनिर्वाचन अभियानका क्रममा एमाले ग्रासरुट अभियानमा थियो। टोलटोलमा एमाले नेता पुगेर पार्टीका पक्षमा मतदान गर्न आह्वान गरिरहेका देखिन्थे। तर तीनै क्षेत्रमा अघिल्लो चुनावमा जति पनि मत नपाएर एमाले कमजोर देखिएको छ। यद्यपि स्थानीय स्तरसम्म एमालेको सांगठनिक पकड बलियो छ भन्ने भाष्य छ।
पार्टीको सक्रिय सदस्यतामा विवाद भइरहने कांग्रेस होस् या नेतृत्वको निर्णयमा शिर झुकाएर स्वीकार गर्ने एमाले दुवै यसपल्ट ‘फेल’ भएका छन्। मल्ल भन्छन्, ‘अब दुवै दलका कार्यकर्ताले नेतृत्वलाई प्रश्न गर्ने होइन। सक्रिय सदस्य लिएकाले व्यक्तिले किन गैरकांग्रेसलाई किन भोट हाले। यस्तै एमालेमा पनि संगठन बलियो हुँदाहुँदै पनि चुनावमा किन कमजोर नतिजा आयो भनेर खोजी गर्नुपर्छ।’
चितवन-२ र तनहुँ-१ दुवै क्षेत्रमा बाहिरबाट गएका उमेदवार सही ठहरिनुले आमनागरिकमा पुराना दलप्रति कति रोष रहेछ भन्ने आकलन गर्न सकिने उनको बुझाइ छ। उनी भन्छन्, ‘सत्तामोह र चरम भ्रष्टाचारबाट परम्परागत दलहरू पछि नहटेमा आमनागरिकले छिन्नभिन्न पारिदिने संकेत हो।’
उसो त कांग्रेस, एमाले र माओवादीका दोस्रो पुस्ताका नेताहरू पनि यही निष्कर्षमा पुगेका छन्। माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भन्छन्, ‘चुनावी परिणाम नियाल्दा अब हामी ठूला भनिएका दल सुध्रिन आवश्यक छ।’
उनी पनि वैकल्पिक शक्तिका रूपमा उदाएका दललाई कम आँक्न नमिल्ने बताउँछन्। श्रेष्ठले भने, ‘अब सुधार गर्दै अघि बढ्ने हो। आमनागरिकको चासो कता छ हामी त्यसमा ध्यान दिनेछौँ।’
‘जोगी बन्न राजनीतिमा लागेको हो र?’ नेताहरूले पटकपटक भन्दै आएको अभिव्यक्ति हो यो। पुराना दलका नेतामा राजनीति कमाउ खाने धन्दा बन्दै गएको छ। त्यसैले नेताहरूमाथि सुविधाभोगी बनेर मुलुकलाई खोक्रो बनाएको आरोप लाग्ने गरेको छ। त्यतिमात्रै होइन, नेताहरूमाथि तेर्सिरहने प्रश्न हो, सांसदलाई स्वकीय सचिव किन? कानुन पढ्न स्वकीय सचिव किन? कार्यकाल सकिएपछि बाँचुन्जेल राज्यको सुविधा किन? स्थापित दलका नेताहरूसँग यस्ता प्रश्नको उत्तर छैन।
आमनागरिकले तिरेको करबाट सुविधा लिँदै आएका नेताका सन्तति भने यहाँ छैनन्। ‘यहाँ सुविधाभोगी बनेर सन्ततिलाई विदेश पठाउने नेताहरूलाई चितवन-२, बारा-२ र तनहुँ-१ का मतदाताले दिएको जबाफ हो यो’, विश्लेषक मल्ल भन्छन्।
उद्योग खोलेर उत्पादन बढाउने विषयमा दलका नेताहरूबीच कहिल्यै छलफल भएको पाइँदैन। यस्ता कार्यमा राजनीतिक स्वार्थ बाझिँदै आएको छ। कतिपय विषयमा राजनीतिक दलको अन्तरसंघर्ष पनि विदेशीले नै मिलाउनुपर्ने अवस्था छ। सोही कारण नेताहरूप्रति अविश्वास रहेको उनी बताउँछन्।
नागरिकता प्रकरणमा सांसद पद गुमाएका रास्वपाका सभापति रवि लामिछानेले चितवन-२ मा विगतको भन्दा बढी मत ल्याएर निर्वाचित भए। उक्त क्षेत्रमा विगतको भन्दा कम मत खसको थियो। लामिछनेले ल्याएको ५४ हजार १७६ मत खसेको मतको करिब ७० प्रतिशत हो। मल्ल भन्छन्, ‘यो एक प्रकारको कीर्तिमान पनि हो।’
कांग्रेसको गढ मानिँदै आएकोे तनहुँ-१ मा तीन साताअघि कांग्रेसबाटै रास्वपा प्रवेश गरेका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले फराकिलो मतान्तरले जित निकाले। सोही क्षेत्रमा रहेर राजनीति गरिरहेका कांग्रेस नेता गोविन्द भट्टराई लज्जास्पद रूपमा पराजित भए।
वाग्लेले भट्टराईलाई १५ हजार बढी मतले जितेका छन्। वाग्लेले ल्याएको मत गत निर्वाचनमा निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको भन्दा ९ हजार ६ सय बढी हो। विश्लेषक मल्ल भन्छन्, ‘निर्वाचनमा कसरी विजयी होइन्छ र किन पार्टी प्रवेश गरेको भन्ने जवाफ पनि स्वर्णिमले आफ्ना समकक्षी र पुराना नेतृत्वलाई दिएका हुन्।’
यसअघि पनि उपनिर्वाचन हुन्थे। तर विगतका उपनिर्वाचन त्यति चर्चायोग्य हुँदैनथे। उपनिर्वाचनमा सत्ताको अंकगणितमा कुनै असर नगरे पनि सत्ता गठबन्धनले प्रतिष्ठाको विषय बनाएको थियो। त्यसैले कांग्रेस, माओवादीका शीर्ष नेताहरू काठमाडौँबाट हुल बाँधेर निर्वाचन क्षेत्र पुगेका थिए।
वाक्कलामा प्रसिद्धि कमाएका कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा रवि र स्वर्णिमको छायामा परे। निर्वाचनमा गठबन्धन गरेर नागरिकलाई आफूले चाहेको दल र व्यक्तिलाई मत खसाल्न नदिएका नेताहरूले आमनागरिकलाई कामदारको जस्तो व्यवहार गर्दा यस्तो परिणाम आएको मल्ल बताउँछन्। उनी भन्छन्, ‘गठबन्धनका नेताले मतदातालाई घरको कामदारजस्तो व्यवहार गरे। आमनागरिकको बलमा गणतन्त्र आएको भुले।’
राजनीतिक दल नसच्चिएमा रास्वपाले बृहत् रुप लिने बुझाइ मल्लको छ। उनी भन्छन्, ‘रास्वपा नै अघि बढ्छ भन्ने छैन। पुराना दलको सोच र प्रवृत्ति परिवर्तन नभएसम्म अर्को नयाँ दल उदाउनेछ।’
राजनीतिमा लाग्नुको उद्देश्य सत्ता प्राप्तिकै लागि हो। तर सत्तामा पुग्न आतुर देखाउने दल बिस्तारै कमजोर हुँदै जाने निश्चित छ। माओवादी यसको उदाहरण हो। २०६४ को संविधानसभा निर्वाचनमा पहिलो बनेको माओवादी २०७९ को चुनावसम्म आइपुग्दा तेस्रोमा खुम्चिँदै गएको छ।
मल्ल भन्छन्, ‘अब उत्साह नभएका नेता र परीक्षण भइसकेका दलसँग आमनागरिक आकर्षित हुने देखिँदैन। बारा-२ जनमत पार्टी प्रतिस्पर्धीका रूपमा उदाउनुका कारण पनि नयाँप्रति आमनागरिकको विश्वास र भरोसा हो।’
पुराना दल सत्ताको खेलमा व्यस्त हुँदा र जनजीविकाका सबालमा चासो नदिँदा यस्तो अवस्था आएको बुझाइ छ मल्लको। उनी भन्छन्, ‘सामाजिक सञ्जाल वा अन्य कुराले प्रभाव पारेको भनेर उम्कन खोजे पनि सत्ताको खेलले यस्तो अवस्था आएको हो।’
कांग्रेस नेता डा. मिनेन्द्र रिजाल अब पनि परिवर्तन हुन सकिएन भने कांग्रेस मात्र होइन पुराना दलहरू इतिहासमा सीमित हुन सक्ने बताउँछन्। उनी भन्छन्, ‘आफैँमा सार्वभौम हुन खोजिरहेका छन् आमनागरिक। तर जेलिएको कर्मचारीतन्त्र र राजनीतिले मुलुक नागरिकमैत्री हुनै सकेको छैन।’
आमनागरिकमा द्रुत विकासको खोजी रहेको तर सत्तासीन दलहरूले त्यस्तो चाहना नबुझेको रिजाल बताउँछन्। उनी भन्छन्, ‘अब कि सच्चिने र यही व्यवहारमा रहे सक्किने हो। विगतको जेलजीवन सुनाएर आमनागरिकलाई झुक्याउन सक्ने अवस्था छैन।’
नेतृत्वको गलत शैलीविरुद्ध सर्वप्रथम पार्टीभित्रै बहस हुनुपर्ने रिजाल बताउँछन्। तर सबै दलमा यस्तो अवस्था छैन। उनी भन्छन्, ‘कांग्रेसमा नेताको गलत प्रवृत्तिविरुद्ध बोल्न पाइन्छ। एमाले/माओवादीमा भने यस्तो अवस्था छैन। तर जसरी पनि सुधार हुनैपर्छ।’