इन्जिनियरिङ लाइसेन्स परीक्षा शुल्क २५ सय कायम

हिमाल प्रेस ७ वैशाख २०८० १५:१७
16
SHARES
इन्जिनियरिङ लाइसेन्स परीक्षा शुल्क २५ सय कायम

काठमाडौँ- नेपाल इन्जिनियरिङ परिषद्ले लाइसेन्स परीक्षा वर्षमा तीन पटक सञ्चालन गर्ने भएको छ। यस्तै परीक्षा शुल्क दुई हजार पाँच सय रुपैयाँ लिने तयारी भएको छ। परिषद्ले यसअघि परीक्षा शुल्कबापत तीन हजार पाँच सय  रुपैयाँ लिँदै आएको थियो। परीक्षा शुल्क एक हजार रुपैयाँ शुल्क घटाउने र इन्जिनियर दर्ता पाँच हजार रुपैयाँ कायम हुने परिषद्का रजिस्ट्रार शिवमंगल गिरीले जानकारी दिएका हुन्।

नेपाल इन्जिनियरिङ एसोसिएसनले बुधबार आयोजना गरेको इन्जिनियरिङ लाइसेन्स परीक्षाको नतिजा र शिक्षाको गुणस्तर विषयक अन्तरक्रियामा रजिस्ट्रार  गिरीले इन्जिनियरिङ शिक्षाको गुणस्तर सुधार गर्न परिषद्ले ध्यान दिएको र लाइसेन्स परीक्षालाई पनि व्यवस्थित गर्दै अघि लाने बताएका छन्।

‘इन्जिनियरिङ लाइसेन्स परीक्षाको शुल्क तीन हजार पाँच सयबाट घटाएर दुई हजार पाँच सय रुपैयाँ कायम गरिएको छ। यसअघि परीक्षा दिएका विद्यार्थीको एक हजार फिर्ता हुन्छ। दर्ता शुल्क नेपाल सरकारबाट स्वीकृत भएर आउने प्रक्रियामा छ। आठ हजार दर्ता शुल्क रहेकोमा घटाउन प्रस्ताव गरिएको छ’, उनले भने।

एसोसिएसनका महासचिव रविभूषण झाले नेपाल इन्जिनियरिङ परिषद्को दर्ता शुल्क आठ हजारबाट घटाएर पाँच हजार कायम हुने र वर्षमा तीन पटक लाइसेन्स परीक्षा सञ्चलन गर्ने गरी तयारी अघि बढेको बताए।

इन्जिनियरिङ लाइसेन्स परीक्षा व्यवस्थित गराउन सरोकारवालाले नेपाल इन्जिनियरिङ परिषद्लाई सुझाव दिएका छन्। सरोकारवालाले लाइसेन्स परीक्षाको नतिजामा सुधार हुनेगरी काम गर्न परिषद्लाई सुझाव दिएका हुन्। पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन देवप्रसाद भट्टराईले विद्यार्थीलाई उत्तीर्ण गर्न असहज हुनेगरी लाइसेन्स परीक्षाको पाठ्यक्रम बनाइएको आरोप लगाए।

‘लाइसेन्स परीक्षामा उत्तीर्ण हुन ५० प्रतिशत ल्याउनुपर्ने नियम गलत हो। लोकसेवा आयोगबाट आवेदन नखुलाउने विषयमा परिषद्ले अध्यापनसँगै अवसरको बाटो देखाउन सक्नुपर्छ। कलेजको शैक्षिक गुणस्तरलाई अनुगमन र मूल्यांकन गर्ने जिम्मा परिषद्को हो। तर परिषद्ले बेमौसममा परीक्षा लिएर विद्यार्थीलाई दुःख दिएको छ’, उनले भने।

काउन्सिलले लिएको परीक्षामा कम परीक्षार्थी उत्तीर्ण हुनुको कारण विश्वविद्यालयको कमजोर पठनपाठन हो त? भन्ने विषयमा परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीले प्रश्न गरेका छन्। हिमालय इन्जिनियरिङ कलेजका प्रिन्सिपल किशोर गौतमले विद्यार्थीले केके जन्नुपर्ने हो त्यस विषयमा परिषद्ले पाठ्यक्रमअनुसार प्रश्नपत्र तयार गर्न सुझाव दिए।

उनले भने, ‘परीक्षाको नतिजा किन यस्तो आयो परिषद् जिम्मेवार हुनुपर्छ। इन्जिनियर पढ्ने विद्यार्थीलाई आशा जगाउने विषयमा संवेदनशील हुँदै पाठ्यक्रम तयार गर्न आवश्यक छ। यस्तै नतिजा आउने हो भने इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण अझै घट्छ।’

काठमाडौँ इन्जिनियरिङ कलेजका प्रिन्सिपल एवम् एकनका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानले परिषद्ले अनुगमन-मूल्यांकन गर्ने गरेको र नेपालमा इन्जिनियरिङ शिक्षाको गुणस्तर राम्रो भएको बताए। ‘परिषद्ले विद्यार्थी अनुत्तीर्ण गराएर क्याम्पसलाई सुकाउन हुँदैन। शैक्षिक गुणस्तर सुधारमा ध्यान दिनुपर्छ’, उनले भने।

परिषद्का अध्यक्ष डा. पदमबहादुर शाहीले इन्जिनियरिङ पेसा मर्यादित बनाउने दायित्व परिषद्को भएकाले यसलाई व्यवस्थित गर्न आफूले पहल गरेको बताए। ‘परीक्षा मिति वर्षमा दुईपटक राख्दा विद्यार्थीलाई असहज भएकाले हामीले यसलाई तीनपटक गर्ने तयारी गरेका छौँ’, उनले भने, ‘लाइसेन्स आवेदन तत्काल खोल्नेगरी आयोगले तयारी अगाडि बढाएको छ। नमुना प्रश्नपत्रको मोडल तयार गरेर सोहीअनुसार नै प्रश्न सोधिनेछ।’

परिषद्ले चैत दोस्रो साता सञ्चालन गरेको लाइसेन्स परीक्षामा ७१ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका थिए। परीक्षामा सहभागी हुन दुई हजार ६ जनाले आवेदन फाराम भरेकामध्ये परीक्षामा एक हजार ९८१ जना सहभागी भएका थिए।

तीमध्ये पाँच सय ६५ जनामात्र उत्तीर्ण भए। ११ जनाको परीक्षा रद्द भएको थियो। परिषद्ले पहिलोपटक इन्जिनियरिङ व्यवसायदर्ताका लागि लाइन्सेन्स परीक्षा लिएको थियो। स्नातक तहमा इन्जिनियरिङ उत्तीर्ण गरेकाहरूले इन्जियरिङ पेसा सुरु गर्न परिषद्‌मा दर्ता हुनुपर्ने व्यवस्था छ। यसअघि परिषद्ले शैक्षिक प्रमाणपत्रका आधारमा दर्ता नम्बर उपलब्ध गराउँदै आएको थियो। इन्जिनियरिङ शिक्षा र पेसा थप मर्यादित बनाउने भन्दै परिषद्ले लाइसेन्स परीक्षा सुरु गरेको थियो।

विदेश अध्ययनमा जानुपूर्व  शिक्षा मन्त्रालयले जारी गर्ने विदेश अध्ययन अनुमतिपत्र (एनओसी) लिन पनि लाइसेन्स परीक्षा उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था छ।

प्रकाशित: ७ वैशाख २०८० १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast