पोखराको शिव शिखर सहकारीमा ७२ सय बचतकर्ताको ५३ करोड जोखिममा

विजय नेपाल ४ वैशाख २०८० १९:१९
14
SHARES
पोखराको शिव शिखर सहकारीमा ७२ सय बचतकर्ताको ५३ करोड जोखिममा

पोखरा- कञ्चनपुरको महेन्द्रनगर स्थायी घर भएका प्रदीप बोहोरा पोखराको लेकसाइडमा मेडिकल चलाउँछन्। मेडिकलबाटै भएको आम्दानीको केही अंश छुट्याएर उनले पोखरा–५ पर्स्याङस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा गर्दै उनले करिब ५ लाख रुपैयाँ जम्मा गरे।

सहकारी समस्यामा परेको गाइँगुइँ चलेपछि बोहोराले आफ्नै पैसा झिक्न खोजे। तर, आफ्नै पैसा पाउन उनलाई मुस्किल परेको छ। पटक–पटक गरी करिब ४ लाख रुपैयाँ फिर्ता पाएका बोहोराले बाँकी १ लाख रुपैयाँ फिर्ता लिन दैनिक सहकारी कार्यालय धाउनु परेको छ। दैनिकी सहरकारी कार्यालय धाउँदैमा बितिरहेको उनले बताए।

महेन्द्रपुलका मिलन आचार्यले पनि पछिल्लो समय सहकारी कार्यालय धाउँदैमा दैनिकी बितिरहेको बताए। दैनिक बचत गर्दै आएका उनको ३० हजार रुपैयाँ उक्त सहकारीमा जम्मा छ।

भविष्यको खाँचो टार्ला भनेर दैनिक १ सय रुपैयाँका दरले बचत गर्दै आएकी पोखराकै संगीता हमालको १० हजार रुपैयाँ पुगेको छ। सहकारीले उनको १० हजार रुपैयाँ पनि फिर्ता दिन सकेको छैन।

चाउथेका भीमबहादुर रानामगर र उनको आमाको गरी २ खातामा करिब ४ लाख थियो। पोखरा बिरौटाकी कुमारी लामाले ५ लाख बचत गरेकी थिइन्। खाजाघरबाट हुने आम्दानीको केही अंश दैनिक सहकारीमा बचत गर्ने गरेकी थिइन्। तर, अहिले रकम फिर्ता नगरीकनै सहकारी बन्द भएपछि उनी तनावमा छिन्।

उल्लिखित नामहरू केही उदाहरण मात्रै हुन्। शिवशिदर सहकारीको पोखरास्थित दुवै शाखामा मात्रै ७ हजार २ सय बचतकर्ताको ५३ करोड ५० लाख रुपैयाँ जोखिममा छ। अहिले बचतकर्ताहरूले आफूले खाइनखाई जम्मा गरेको रकम फिर्ता पाउन संघर्ष गर्नुपरेको छ। एक जना बचतकर्ताले पटक पटक गरी डेढ करोड रुपैयाँ सहकारीमा जम्मा गरेका छन्।

भक्तपुरको कौशलटारमा प्रधानकार्यालय रहेको शिव शिखर सहकारीको देशैभरि ३६ शाखा छन्। पोखरामा मात्र २ शाखा छन्। साढे २ वर्षअघि पर्स्याङमा शाखा खोलेको सहकारीले गत असारदेखि पोखरा-१४ चाउथेमा अर्को शाखा सञ्चालनमा ल्याएको थियो । यी दुवै शाखा पर्स्याङमा ५५ सय बचतकर्ता र चाउथे शाखाका १७ सय बचतकर्ता गरी ७२ सय बचतकर्ता छन्।

सहकारी सञ्चालक गत माघदेखि नै सहकारी बन्द गरेको सूचना टाँसेर सम्पर्कबिहीन छन्। सहकारीले गत २७ माघमा सूचना नै टाँस गरेर केही दिनका लागि कारोबार बन्द गरेको बताएको थियो।

सहकारीका अध्यक्षले हस्ताक्षर गरेको सूचनामा हालको आर्थिकमन्दीका कारण सबै बचतकर्ताहरू एकै पटक चल्ती, मुद्दती र सेयर रकम झिक्न आउँदा पुँजी व्यवस्थापन हुन नसकेकोले वित्तीय सेवा केही दिनका लागि बन्द गरिएको उल्लेख छ। त्यस्तै संस्थाको मर्जर प्रक्रियाका कारणले पनि अर्को सूचना नआएसम्म कार्यालय बन्द हुने सूचनामा उल्लेख छ।

तर ३ महिना बितिसक्दा पनि सहकारीमा कारोबार सुचारु भएको छैन। लामो समयसम्म कारोबार सुरु नहुँदा र बचतकर्ताको रकम फिर्ता नहुँदा पछिल्लो समय बचतकर्ताले सहकारी कार्यालय धाउने गरेका छन्। आक्रोशित भीडले सहकारी कार्यालय समेत घेर्छन्।

कार्यालयको तल्लो तहका कर्मचारी यसबारे बोल्न मान्दैनन्। उनीहरू सञ्चालकलाई नै फोन गर्नु भन्छन्।

सहकारीले ३ तले घर भाडामा लिएर माथिल्लो तलामा सहकारी चलाएको छ। पहिलो र दोस्रो तलामा गार्डेनमार्ट डिपार्टमेन्टल स्टोर सञ्चालन गरेको छ। सहकारीको कारोबार रोकिए पनि डिपार्टमेन्ट स्टोर सञ्चालनमै छ।

सहकारीका प्रबन्धक रमेश न्यौपानेले पस्र्याङ र चाउथे शाखामा गरी करिब ५३ करोड ५० लाख रुपैयाँ बचत भएकोमा तरलता अभावले फिर्ता गर्न नसकिएको स्वीकार गरे। ‘केही समय अघिसम्म काम गर्दैछौं भनेर माथिबाट कुरा आयो,’ उनले भने, ‘पर्खिन भनियो। तर समय घर्किदै ३ महिना बितिसक्दा पनि भुक्तानी नहुँदा उहाँ (बचतकर्ता)हरू आक्रोशित हुनु स्वभाविकै हो।’

उनले आफूसँग पनि सहकारी सञ्चालक सम्पर्कमा नभएका बताए। कर्मचारीको तलब सेवा सुविधा पनि भुक्तानी गर्न नपाइएको भन्दै उनले बचतकर्ताको गुनासो सम्बोधन र कर्मचारीको सेवा सुविधाका लागि कानुनी कारबाही प्रक्रिया अघि बढेको बताए। ‘माग सुनुवाइका लागि दबाब दिन संघर्ष समिति गठन गर्ने तयारीमा छौँ,’ उनले भने, ‘त्यसका लागि मंगलबार मिटिङ बस्दैछ।’

प्रकाशित: ४ वैशाख २०८० १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast