‘सिनेमा पढ्ने विषय हो र?’ सिनेमाकर्मीसामु युवाहरूले तेर्स्याइरहने प्रश्न हो यो। अहिले पनि सिनेमा भनेको ‘ठूलो पर्दामा हेर्नेमात्र हो’ भन्ने सोच व्याप्त छ। त्यो पढ्ने विषय पनि हो भन्दा कतिपय छक्क पर्छन्। सिनेमा पढेकाहरूलाई सोधिने यी र यस्ता प्रश्नले सिनेमाबारे हाम्रो समाजको बुझाइ प्रस्ट हुन्छ।
सन् १८९५ मा लुमियर ब्रदरले फिल्मलाई ‘द सिनेमा इज एन इन्भेन्सन विद्आउट एनी फ्युचर’ भने। अर्थात् ‘सिनेमा भविष्यबिनाको आविष्कार हो’। उनीहरूले बनाएको पहिलो सिनेमादेखि आजसम्म सिनेमामा विभिन्न प्रयोग भए। यस क्षेत्रको विकास–विस्तार हुन थाल्यो। विकासक्रमसँगै सिनेमामा कथा जोडिएर आउन थाले। अनि त सिनेमाको यात्रा अघि बढ्यो।
विश्वमा छापा र श्रव्यमाध्यमको वर्चस्व भएका बेला दृश्य भाषाबारे संसारभरि बहस हुन थाल्यो। एउटा क्रान्ति नै भयो। अमेरिका, रुसजस्ता शक्ति राष्ट्रमा विभिन्न प्रयोग हुन थाले। दृश्यमार्फत दर्शकलाई आकर्षित गर्दै सिनेमा बोराका बोरा पैसा सोहर्ने माध्यम बन्यो।
विश्वभरिका मानिसले विभिन्न शैलीमा सिनेमामार्फत आफ्नो कथा भन्न सुरु गरे। सभ्यता, संस्कार, रीतिरिवाज, चालचलन दृश्यमार्फत संसारभरि पुर्याउन थाले। एक देशको खानपिन, पहिरन, जीवनशैलीलगायत कुरा अर्को देशसँग साट्दै, सिकाउँदै सिनेमा संसार डुल्न थाल्यो।
हलिउड र बलिउडको सिको गर्दै नेपालमा पनि सिनेमा बनाउने क्रम बढ्यो। नेपालले फिल्म बनाउन प्राविधिकमात्रै आयात गरेन, कथा पनि बलिउडबाटै टिप्यो। उतिखेर बलिउडको कथा नेपाली भाषामा प्रस्तुत गर्दै सिनेमा बनाइए। पछिल्लो समय हाम्रै मौलिक कथामा सिनेमा बन्न थाले पनि हलिउड र बलिउडबाट ‘कपी’ गर्ने चलन पूर्ण रूपले भने हटेको छैन।
‘हाम्रो सिनेमाले हाम्रै मौलिक कथा भन्नुपर्छ’ भन्ने बहस पनि नचलेको होइन। तर त्यो आवाज धेरै मसिनो छ। सानो छ। आफ्नै मौलिक कथा बुनेर ‘सेतो सूर्य’, ‘कालो पोथी’लगायत नेपाली फिल्म बनाइए। यस्ता सिनेमा औँलामा गन्न सकिनेमात्र छन्।
सिनेमा बनाउन सुरुमा फिल्मकर्मीसँग राम्रो विषयवस्तु हुनुपर्छ। त्यसमा मिलाएर कथा बुनेको हुनुपर्छ। त्यसपछि त्यो कथालाई भन्ने उपयुक्त शैली हुनुपर्छ। सिलसिलाबद्ध तरिकाले दर्शकको मनोभावना बुझेर कथा भन्न सकियो भने त्यो फिल्म समाजमा छुट्टै छाप छोड्न सफल हुन्छ।
यसरी कथा भन्न निर्देशकलाई दृश्य भाषाको ज्ञान र पटकथा लेख्नेलाई कथाको बनोटबारे राम्रो जानकारी हुनुपर्छ। त्यसका लागि सिनेमा अध्ययन गरेको वा सिनेमाको भाषाको राम्रो ज्ञान भएको हुन जरुरी छ। राम्रो सिनेमा बनाउन सिनेमा पढ्नुपर्छ भन्ने जरुरी छैन। तर सिनेमाको बोध भने हुनैपर्छ।
दृश्य भाषा प्रयोग गरी हाम्रो मौलिक कथालाई संसारभरि पुर्याउन सकिन्छ। तर अझै पनि हाम्रो सिनेमा दृश्यमा नभई संवादमा आधारित छन्। जसलाई आँखा बन्द गरेर सुन्दा पनि बुझ्न सकिन्छ। दृश्य भाषामा काम भएको छैन। सायद सिनेमा बुझेर, अध्ययन गरेर बनाउनु र नबनाउनुको फरक यही होला।
नेपाली सिनेमाका पुराना पुस्तामा प्राविधिक ज्ञानको कमी देखिन्छ भने अहिलेका फिल्मसम्बन्धी पुस्तकमा विषयवस्तु निकै फितला हुन्छन्। पुराना पुस्ताले राम्ररी पढ्न पाएनन्। कतै फिल्मसम्बन्धी किताब पाइहाले पनि भाषागत कठिनाइ बेहोर्नुपर्यो। अहिलेको पुस्तालाई त्यो समस्या छैन। इन्टरनेटले आजको पुस्तालाई जानकारी बटुल्ने मेसो मिलाइदिएको छ। अहिलेका युवाले विभिन्न प्लेटफर्मबाट ज्ञान लिन सक्छन्। विषयवस्तुको खोजी गर्न सक्छन्।
औपचारिक होस् या अनौपचारिक तरिकाले सिनेमा अध्ययन गरिनुपर्ने विषय हो। यसको गहनता अध्ययनबिना बुझ्न सकिँदैन। विभिन्न कलामध्ये सिनेमा संसारमै शक्तिशाली माध्यम हो। सिनेमा गम्भीर विषय हो। यसलाई गम्भीरतापूर्वक अध्ययन गरिनुपर्छ अनि मात्र सिनेमाले आफ्नो जादु देखाउन सक्छ। त्यसमा नवीनता देखिन्छ। कथा भन्ने शैली फरक हुन्छ। निर्देशकको अभिप्राय, मनसाय, भन्न खोजेका कुरा सीधै दर्शकसम्म पुग्छन्। होइन भने झुर सिनेमा बन्ने क्रम रोकिने छैन।
नपढेर, नबुझेर, अध्ययन नगरी सिनेमा बनाउनुभन्दा सैद्धान्तिक, व्यावहारिक एवम् औपचारिक र अनौपचारिक ज्ञान लिएर सिनेमा बनाइयो भने नेपाली सिनेको स्तर क्रमिक रूपमा सुध्रिँदै जानेछ।
(निर्देशक मगर फिल्म एडुकेटर हुन्।)
Magar Film educator ?? When will magar become Nepali ?
Yasma nirdeshak magar, film educator hun yaniki lalit magar nirdeshak n film educator pani hun vanna khojiyako ho.Thank you