सन्दर्भ : राजनीतिक दलमाथि प्रतिबन्ध फुकुवा

०४६ चैत्र २६ गते राजनीतिक दलमाथि प्रतिबन्ध हटेपछि नेताहरूको वक्तव्य

हिमाल प्रेस २६ चैत २०७९ २०:५७
14
SHARES
०४६ चैत्र २६ गते राजनीतिक दलमाथि प्रतिबन्ध हटेपछि नेताहरूको वक्तव्य

काठमाडौँ– १०४ वर्षभन्दा लामो राणाशासनपछि नेपाली जनताले वि.स‌ं. ००७ सालमा पहिलोपटक प्रजातन्त्रको आभास गर्न पाए। तर ००७ सालमा आएको त्यो खुसी एक दशकसम्म पनि टिक्न सकेन।

०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले सैन्यबलको आधारमा निर्वाचित सरकारसहित संसद अपदस्थ गरेर जनताबाट प्रजातन्त्र खोसे। त्यसपछि उनले अर्को तीन दशकसम्म मुलुकमा जबरजस्ती निर्दलीय पञ्चायती व्यवस्था लादे।

निर्दलीय पञ्चायती शासनविरुद्ध राजनीतिक दलहरू असन्तुष्ट थिए। ती दलहरू विभिन्न वाद र विचारधारामा विभाजित थिए। विभाजित भएकै कारण उनीहरूले पञ्चायती व्यवस्थाविरुद्ध निर्णायक आन्दोलन गरी जित हासिल गर्न सकिरहेका थिएनन्।

तर ०४६ सालसम्म आइपुग्दा नेपालमा अलग-अलग वाद र विचारधारामा विभाजित कांग्रेस, कम्युनिस्ट शक्तिहरू पञ्चायतविरुद्ध एकजुट भए।

त्यतिबेला पनि कम्युनिस्टहरू अलग-अलग स-साना दलमा विभाजित थिए। तर पछि उनीहरू सबै मिलेर वाममोर्चा बनाए। यता वाममोर्चा र नेपाली कांग्रेसबीच संयुक्त रूपमा गठबन्धन बनाएर अघि बढ्ने सहमति भयो।

यसका आधारमा नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह आन्दोलनका सर्वोच्च कमान्डर चुनिए। ००७ साल फागुन १ गते प्रजातन्त्र घोषणा भएको दिन प्रजातन्त्र दिवसको अवसर पारेर ०४६ साल फागुन ७ गतेदेखि पञ्चायती व्यवस्थाविरुद्ध घोषित आन्दोलनको सुरुवात भयो।

उक्त आन्दोलनको पूर्वाभाष भने त्यसअगावै माघ २७ गते नै भएको थियो। त्यस दिन नेपाली कांग्रेसका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद भट्टराई र वाममोर्चा अध्यक्ष सहाना प्रधानले संयुक्त हस्ताक्षर गरी एउटा चरणबद्ध कार्यक्रम जनसमक्ष ल्याएका थिए।

०४६ साल फागुन ७ गतेदेखि सुरु भएको आन्दोलन एक महिना २० दिनसम्म चलेको थियो। त्यही एक महिना २० दिने आन्दोलनले मुलुकमा ३ दशकसम्म कायम पञ्चायती व्यवस्था अन्त्य गरेको थियो।

०४६ सालको आन्दोलनकै क्रममा २६ चैत्रको बेलुकी नारायणहिटी राजदरबारमा राजा वीरेन्द्रले आन्दोलनरत: दलका प्रतिनिधिहरूलाई भेटेका थिए। उनीहरूसँगको भेटपछि राजा वीरेन्द्रले मुलुकमा पछिल्लो ३ दशकयता कायम दलीय प्रतिबन्ध हटाएका थिए।

राजासँग राजदरबारमा भेट गर्न जाने दलीय प्रतिनिधिहरूमा नेपाली कांग्रेसका तर्फबाट कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला र वाममोर्चाबाट सहाना प्रधान र राधाकृष्ण मैनाली थिए। वार्ता सकिएपछि त्यसैरात ११:२० बजे रेडियो नेपाल तथा नेपाल टेलिभिजनले राजदरबारको संवाद सचिवालयको एक विज्ञप्ति प्रसारित गरेको थियो।

विज्ञप्तिमा त्यतिबेलाको संविधानबाट ‘दलविहीन’ शब्द झिकी दलमाथि प्रतिबन्ध हटाएको कुराको उल्लेख गरिएको थियो। दलका ती प्रतिनिधिले राजासँगको भेटपछि नेपाल टेलिभिजनलाई दिएको अन्तर्वार्तामा यस्तो कुरा उल्लेख गरेका थिए।

‘राजाले ‘दलविहीन’ शब्द हटाई दलहरूमाथि लगाएको प्रतिबन्ध समाप्त भएकाले आन्दोलन निश्चित रूपमा बन्द भयो,’ (गोरखापत्र २७ चैत्र ०४६)

बहुदल पक्षधर दलका ती ४ नेताहरूले नेपाल टेलिभिजनसँगको अन्तर्वार्तामा दिएको अभिव्यक्तिलाई २७ चैत्रको गोरखापत्र दैनिकमा राससमार्फत यसरी प्रचार गरिएको थियो। जसलाई जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ:

कृष्णप्रसाद भट्टराई

श्री ५ महाराजाधिराज सरकारको पहिलोपटकको दर्शन भेटमा कस्तो अनुभव भयो भनी सोधिएको प्रश्नको उत्तरमा श्री भट्टराईले श्री ५ महाराजाधिराज सरकार अत्यन्त सज्जन व्यक्ति होइबक्सन्छ, मौसुफको उदारता र जनताप्रति रहेको उत्कट प्रेमको कारणले नै आज हाम्रो बहुदलको मागलाई स्वीकृत बक्सभएको छ भन्नु भयो। उहाँले भन्नुभयो – मौसुफ देशको विकास होस् र देशका कोही पनि दु:खी नहुन् भन्ने चाहिबक्सिन्छ।

सहाना प्रधान

श्री ५ महाराजाधिराज सरकारसँग भएको पहिलो भेटमा जुन किसिमको वातावरण बन्यो, त्यसले नेपालमा नेपाली जनताले चाहेको स्वतन्त्रता स्वतन्त्र रूपले उपभोग गर्ने, बोल्ने जस्ता सम्पूर्ण मानव अधिकारहरू प्राप्त गर्ने सबै प्रकारका परिस्थितिहरू आउन सक्ने सम्भावना आफूले देखेको कुरा वाममोर्चाका नेतृ सहाना प्रधानले स्पष्ट गर्नुभयो।

नेपाली कांग्रेसको आन्दोलन बन्द गर्ने निर्णयलाई उहाँको दलले मान्यता दिन्छ कि दिँदैन भनी प्रश्न गर्दा उहाँले भन्नुभयो – वर्तमान आन्दोलनमा नेपाली कांग्रेस र वाममोर्चाको एउटै माग, एउटै कदम, एउटै आवाज र एउटै सोचाइ भएको बताउनु भयो।

राधाकृष्ण मैनाली

अर्का नेता राधाकृष्ण मैनालीले निर्दलीयताको अन्त्य र बहुदल प्राप्तिको माग अहिले पूरा भएको बताउँदै उहाँले यसलाई हामीले उचित रूपले प्रयोग गर्यौं भने नेपाली जनताले खोजे जस्तै राजनीतिक अधिकार उपभोग गर्न पाउँछन्, जसको खोजी उनीहरू गरिरहेका छन्।

गिरिजाप्रसाद कोइराला

नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले अहिले ठूलो शुभ- अवसर हामीले पाएका छौं। जसको इमानदारी साथ, आपसी मनमुटाव, ईर्ष्या, द्वेषलाई त्यागेर राष्ट्रिय सहमतिको आधारमा प्रयोग गर्न हामीले सक्यौं भने नेपालको भबिष्य उज्जवल हुन्छ भन्नु भयो।

वर्तमान परिस्थितिको नाजायज फाईदा उठाउने स्थिति पनि कतैबाट सृजना हुनसक्छ कि भनी सोधिएको प्रश्नमा उहाँले भन्नु भयो – अराजकता फैलाउन खोज्ने तत्वलाई सम्पूर्ण जनता र पार्टी मिलेर एक्लो पार्नु पर्दछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast