काठमाडौँ- आइतबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले बारा-२ को उपनिर्वाचनका लागि साझा उम्मेदवारका रूपमा निर्णय गर्दै गर्दा उपेन्द्र यादव मतदातामाझ खुसी साट्न पुगिसकेका थिए। कार्यकर्ता र शुभेच्छुकबाट घेरिएका यादव निकै व्यस्त देखिन्थे। बारा-२ उनका लागि नयाँ हो। तर उनी त्यहाँ पहिल्यैदेखि घुलमिल भएजसरी प्रस्तुत भइरहेका थिए।
यादव मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यमा सप्तरी-२ बाट पराजित भएका हुन्। उनलाई त्यति बेला जनमत पार्टीका डा. सीके राउतले संसद् छिर्ने यात्रामा अवरोध गरिदिएका थिए। यसपालि भने कांग्रेसले साझा उम्मेदवारका रूपमा अघि सारेपछि यादव उत्साहित भएका छन्।
निर्वाचन आयोगले वैशाख १० गतेका लागि उपनिर्वाचन तोकेको छ। आफूलाई अन्य दलले विश्वास गरेकाले पनि चुनाव जित्नेमा आशावादी रहेको उनले बताए। उनले हिमालप्रेससँग भने, ‘म निकै उत्साहित छु। राजनीतिक दलहरूले मप्रति देखाएको विश्वासको सराहना गर्दछु।’
यादवले आफू राष्ट्रवादी व्यक्ति भएकाले पनि चुनाव जित्नैपर्ने दाबी गरे। यादवले भने, ‘समुन्नत नेपालका लागि म र मेरो पार्टीको आवश्यकता रहिरहन्छ।’ उपेन्द्र यादव उत्साहित हुनुको अर्को कारण हो, संसद् छिर्नका लागि अपनाइएको पहिलो रणनीतिमा सफलता। चुनाव हारेपछि उनमा एक प्रकारको छटपटी देखिन्थ्यो। उनी भन्ने गर्थे, ‘संसद्मा मेरो अनुपस्थितिले धेरैलाई अभाव महसुस भएको छ।’
राजनीतिमा चतुर मानिने यादवले संसद् छिर्ने रणनीति बनाए। पहिलो प्रयास थियो, पार्टी संसदीय दलको नेतामा आफूअनुकूल नेतालाई चयन गर्नु। सोहीअनुसार उनले रामसहायप्रसाद यादवलाई पार्टी संसदीय दलको नेता बनाएका थिए। रामसहायप्रसाद उपेन्द्रका ‘एस म्यान’ थिए।
४ मंसिरको चुनावमा अध्यक्ष उपेन्द्र यादव पराजित भएपछि धेरैको अनुमान थियो, जसपाको संसदीय दलको नेता संघीय परिषद् अध्यक्ष राई बन्नेछन्। जसपाबाट चुनाव जित्ने नेताहरूमध्ये सुनसरी-१ बाट निर्वाचित राई सबैभन्दा वरिष्ठ हुन्। राईसँगै राजकिशोर यादव र नवलकिशोर साहले पनि आकांक्षी थिए। तर तीनै नेताले संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गरेनन्।
रामसहायलाई संसदीय दलको नेता बनाउँदैमा उपेन्द्रको संसद् छिर्ने रणनीति पूरा हुने अवस्था थिएन। उनले उपराष्ट्रपति आफ्नो दललाई दिलाउन शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग पटकपटक वार्ता गरे। यसका लागि राष्ट्रपति र उपराष्ट्रपति फरक भूगोलको भए पनि हुने संवैधानिक व्यवस्था देखाएर उपेन्द्रले राष्ट्रपति र उपराष्ट्रपतिमा दुवै पुरुष वा दुवै महिला हुन पनि सक्ने तर्क गरिरहे।
ठूला दलहरू जसपालाई उपराष्ट्रपति दिन सहमत भएपछि उपेन्द्रले फेरि रामसहायलाई अघि सारे। अन्य नेता नै नभएजसरी रामसहायलाई उपराष्ट्रपतिमा अघि सारेको भन्दै पार्टीमा उनको आलोचना नभएको होइन। तर उपेन्द्रका अगाडि कुनै नेताहरूले पनि विरोध गर्न सकेनन्। न त उपराष्ट्रपतिमा दाबी नै गर्न सके। कांग्रेस र माओवादीको समेत समर्थनमा रामसहाय उपराष्ट्रपति निर्वाचित भए।
रामसहाय उपराष्ट्रपतिमा निर्वाचित भएपछि संविधानअनुसार बारा-२ मा संसद् पद रिक्त भयो। सो क्षेत्रमा आफ्नो जितका लागि यादवले फेरि कांग्रेस, माओवादीलगायतका दलसँग सहमति गरे। सोहीअनुसार कांग्रेसले उनलाई साझा उम्मेदवारका रूपमा अघि सारेको छ। सम्भवतः सत्तामा रहेका माओवादी र एकीकृत समाजवादीले पनि यादवलाई सघाउनेछन्।
उपेन्द्र यादव मधेशमा मात्रै नभएर राष्ट्रिय राजनीतिमै सक्रिय र चतुर नेताका रूपमा चिनिन्छन्। २०६३ सालको अन्तरिम संविधानप्रति असन्तुष्टि जनाउँदै मधेशमा आन्दोलनको नेतृत्व गरेर यादव राष्ट्रिय राजनीतिमा उदाएका हुन्।
त्यसयता मधेश र राष्ट्रिय राजनीतिमा बलियो प्रभाव राख्दै आएका उपेन्द्रले मंसिर ४ को चुनावकै मुखमा कांग्रेस-माओवादीसहितको गठबन्धन परिवर्तन गरेर एमालेसँग तालमेल गरेका थिए। तर चुनावमा जसपाले सन्तोषजनक नतिजा निकाल्न सकेन। स्वयं उपेन्द्र सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतसँग पराजित भए।
त्यति बेला संघीय संसद् सदस्यका लागि ८१ सिटमा उम्मेदवारी दिएको जसपाले १२ सिट जितेको थियो। यादवले आफ्नो र पार्टीको पराजयको कारण एमालेसँगको तालमेललाई मान्दै आएका छन्। यादव लगातार सत्ता साझेदार बन्दै आएका छन्। यादव २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमका तर्फबाट सुनसरी-५ र मोरङ-५ मा निर्वाचित भएका थिए।
२०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा पनि उनी सुनसरी-५ र मोरङ-५ बाट उम्मेदवार बनेका थिए। सुनसरी-५ बाट निर्वाचित भए पनि मोरङ-५ मा उनी कांग्रेसका अमृतकुमार अर्यालसँग पराजित भए।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सप्तरी-२ पुगेका थिए। त्यति बेला चुनाव जित्न उनलाई राजपा र कांग्रेसको सहयोग थियो। अब उनी बारा-२ पुगेका छन्।
को-को छन् प्रतिस्पर्धी
रमेश खरेल : राष्ट्रिय स्वतन्त्र पार्टीले बारा- २ मा रमेश खरेललाई उठाउने भएको छ। मंसिर ४ को निर्वाचनमा काठमाडौँ १ बाट प्रतिनिधिसभा सदस्यमा लडेका व्यक्ति हुन्, खेरल। सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेलले ३ हजार १२४ मत मात्र पाएका थिए।
कांग्रेसका नेता प्रकाशमान सिंह ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी राप्रपाका रवीन्द्र मिश्रले ७ हजार १८ मत पाएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५ र एमालेका किरण पौडेलले ३ हजार ५३२ मत पाएका छन् । खरेललाई त्यसैबेला रास्वपाबाट उठ्न प्रस्ताव गरिएको थियो। उनले मानेनन्। उनी सुशासन पार्टीसहितका केही दलको मोर्चाबाट उम्मेदवार बनेका थिए। खरेल २९ वर्ष प्रहरी सेवामा बिताएर राजनीतिमा प्रवेश गरेका हुन्।
शिवचन्द्र कुशवाह : बारा २ बाट लड्ने तयारी गरिरहेका शिवचन्द्र कुशवाह नयाँ अनुहार होइनन्। उनी मंसिर ४ को निर्वाचनमा सोही क्षेत्रमै उपविजेता बनेका थिए। अबको निर्वाचनमा कुशवाहको क्षेत्र सोही परे पनि पार्टी भने फरक हुनेछ। त्यसबेला माओवादी केन्द्रबाट लडेका उनी जनमत पार्टीबाट लड्दैछन्।
मंसिर ४ को निर्वाचनमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादवले १३ हजार आठ सय २२ मत ल्याएर निर्वाचित हुँदा कुशवाहले १३ हजार चार सय ६८ मत प्राप्त गरेका थिए। उनीहरूबीच तीन सय ५४ मतान्तर थियो। कुशवाह केही दिनअघि माओवादी परित्याग गर्दै जनमत प्रवेश गरेका हुन्। माओवादी केन्द्रले गठबन्धनमा रहेर जनता समाजवादीलाई समर्थन गर्ने भएपछि असन्तुष्ट हुँदै उनले पार्टी छाडेका थिए। एमाले, लोसपालगायतका दलले भने उम्मेदवारको टुंगो लगाउन बाँकी छ।
यस्तो थियो मंसिर ४ को नतिजा
प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार रामसहायप्रसाद यादव १३ हजार ८२२ मत ल्याई विजयी भएका थिए। यादवले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहलाई ३५४ मतान्तरले पराजित गरेका हुन्। पराजित शिवचन्द्रप्रसाद कुशवाहले १३ हजार ४६८ मत ल्याएका थिए।
स्वतन्त्र उम्मेदवारहरू रामकिशोरप्रसाद यादवले ११ हजार ४३ मत, रवीन्द्रप्रसाद यादवले १० हजार ७५० मत,अरुणकुमार ज्ञवालीले सात हजार ६९८ मत पाएका थिए भने जनमत पार्टीका राजेश साहले दुई हजार ७२५ मत र नागरिक उन्मुक्ति पार्टीका तेजबहादुर भगतले एक हजार १११ मत ल्याएका थिए।