ज्याक मा चीन फर्कनुको अर्थ

हिमाल प्रेस १४ चैत २०७९ १२:३४
150
SHARES
ज्याक मा चीन फर्कनुको अर्थ ज्याक मा आफ्नो गृहनगर हाङझौस्थित युंगु विद्यालय भ्रमणमा क्रममा।

काठमाडौँ- आफ्नो देशभित्र मात्र होइन, विश्वभर प्रसिद्ध अर्बपति ज्याक मा चीन फर्किएका छन्। उनी एक वर्षपछि चीन फर्किएको वाल स्ट्रिट जर्नलले लेखेको छ। अलिबाबा ग्रुप होल्डिङ्सका संस्थापक ज्याक सन् २०२० को उत्तरार्द्धबाट सार्वजनिक कार्यक्रममा देखिन छाडेका थिए। जबकि त्यसअघि उनी चीनभित्र र अन्य देशमा आयोजना हुने विभिन्न कार्यक्रममा वक्ता बन्थे।

चीनको वित्तीय नियामक संस्था नियमनका नाममा निजी कम्पनीविरुद्ध आक्रामक हुन थालेपछि ज्याक माले विरोध गरेको खबर आएको थियो। त्यसपछि उनी सार्वजनिक रूपमा देखिन छाडे।

ज्याक मा सोमबार गृहनगर हाङझौको युंगु विद्यालयमा देखापरेका हुन्। यो विद्यालय ज्याक माले अलिबाबामा रहेका उनका साथीहरूसँग मिलेर स्थापना गरेका हुन्। ‘ज्याक मा चीनभित्र र बाहिर उत्तिकै भम्रण गरिरहनुहुन्छ,’ ज्याक मा चीन फर्किएको पुष्टि गर्ने गरी उनको फाउन्डेसनले सूचना जारी गरेको छ। यद्यपि अलिबाबा आफैँले भने आफ्ना संस्थापकको हाङझौ भ्रमणबारे केही भनेको छैन।

चीन सरकारले निजी क्षेत्रमाथिको ‘नियमन’ खुकुलो बनाउने र कोभिड-१९ महामारी नियन्त्रणका लागि लागू गरेको कडा नियम हटाउने नीति लिएपछि ज्याक मा जस्ता व्यापारी तथा लगानीकर्तालाई राहत मिलेको चर्चा भइरहेको थियो। यही बीचमा ज्याक मा घर फर्कनुलाई चीनमा निजी क्षेत्रको चासो सम्बोधन हुँदै गएको संकेतका रूपमा लिइएको छ।

वाल स्ट्रिट जर्नलका अनुसार ज्याक मा पछिल्लो समय जापानमा थिए। सन् २०२३ लागेपछि धेरै जसो समय उनी त्यही रहेको बताइएको छ। उनले यसपालिको चिनियाँ नयाँ वर्ष हङकङमा मनाएको र त्यसपछि सिंगापुर तथा अस्ट्रेलियाको भ्रमण गरेको वाल स्ट्रिटको रिपोर्टमा उल्लेख छ।

सन् २०२३ को सुरुवातमा उनी केही समय थाइल्यान्डमा पनि बसेको बताइएको छ। थाइल्यान्ड बसाइका क्रममा उनले त्यहाँ रहेका कृषि र माछा फार्मको अवलोकन गरेको र प्रयोग भइरहेका नयाँ प्रविधि तथा उपकरणबारे जानकारी बटुलेका थिए।

हङकङको चाइना साउथ मर्निङ पोस्टले ज्याक मा चीन फर्किएको समाचार प्रकाशित गरेसँगै हङकङमा अलिबाबाको सेयर मूल्य बढेको थियो। चाइना साउथ मर्निङ पोस्ट अलिबाबाकै स्वामित्वमा छ।

कुनै समय अंग्रेजीका शिक्षक रहेका ज्याक माले युंगु विद्यालयका शिक्षकहरूसँग आर्टिफिसियल इन्टिलिजेन्स लगायतका विषयमा बात मारेको बताइएको छ। युंगु विद्यालयले विच्याटमा ज्याक माले आर्टिफिसियल इन्टिलिजेन्सबाट सञ्चालन हुने च्याटजीपीटी लगायतका नयाँ प्रविधिले शिक्षामा पुर्‍याउनसक्ने असरबारे छलफल गरेको लेखेको छ।

ज्याक माले सन् २०१९ मा अलिबाबाको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। राजीनामा दिने निर्णय सुनाउँदा उनले बाँकी जीवन परोपकार र चीनका दुर्गम भेगमा शिक्षाको स्तर उकास्न काम गर्ने योजना सार्वजनिक गरेका थिए।

अलिबाबाको भगिनी संस्था एन्ट समूहको आईपीओ निस्कासन गर्ने प्रक्रिया रोकिएपछि ज्याक मा ‘लो प्रोफाइल’ मा रहन सुरु गरेका थिए। एन्ट समूहले त्यसबेला आईपीओमार्फत हङकङ र सांघाईबाट करिब ३४ अर्ब अमेरिकी डलर संकलन गर्न लागेको थियो। तर नोभेम्बर, २०२० मा एकाएक एन्ट समूहले आईपीओ निस्कासन स्थगित भएको बताएको थियो।

ज्याक माले सांघाईमा आयोजित एक सम्मेलनमा चिनियाँ वित्तीय नियामकको आलोचना गरेपछि अन्ततः एन्ट समूह सरकारको निशानामा परेको थियो। त्यसपछि अलिबाबामाथि चिनियाँ बजारमा गैरप्रतिस्पर्धात्मक व्यवहार देखाएको आरोप लगाउँदै कीर्तिमानी दुई अर्ब ८० करोड अमेरिकी डलर बराबरको जरिवाना तिराइएको थियो। अलिबाबाबाट सुरु नियमन निकायको छापा अन्य निजी कम्पनीतिर पनि सरेको थियो।

गत जनवरी ७ मा ज्याक माले एन्ट समूहको नेतृत्व छाडेका थिए। एन्ट समूहको संस्थागत संरचना परिवर्तन गर्ने भन्दै ज्याक मा नेतृत्वदायी भूमिकाबाट बाहिरिएका थिए। त्यही दिन चिनियाँ केन्द्रीय बैंकले एक दर्जनभन्दा बढी प्रविधि कम्पनीहरूमाथिको कारबाही प्रक्रियाा पूरा भएको सूचना निकालेको थियो।

नयाँ प्रधानमन्त्रीको चाहना : ज्याक माको पुनरागमन

गत मार्च ११ बाट चीनको प्रधानमन्त्री पद सम्हाल्न सुरु गरेका ली कियाङ राष्ट्रपति सी चिनफिङसँग सबैभन्दा नजिकका नेता हुन्। प्रधानमन्त्री बन्नुअघि सांघाईमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रमुख रहेका कियाङले गत वर्षको उत्तरार्द्धमै  ज्याक मालाई चीन फर्कन अनुरोध गरेका थिए।

ज्याक मासँग नजिक रहेका व्यापारिक साझेदारहरूमार्फत सन्देश पठाएर कियाङले ज्याक मालाई त्यस्तो अनुरोध गरेका थिए। रोयटर्सका अनुसार कियाङले ज्याक मालाई चीन फर्कन अनुरोध गर्नुको कारण थियो, चीनमा निजी क्षेत्रलाई काम गर्न कुनै अवरोध नरहेको सन्देश दिनु। के अहिले आएर ज्याक मा कियाङको अनुरोधबमोजिम चीन फर्किएका हुन् ? यसको स्वतन्त्र पुष्टि हुन सक्ने स्थिति नरहेको रोयटर्सको रिपोर्टमा उल्लेख छ।

के भनिन्छ भने नयाँ प्रधानमन्त्री कियाङ चीनमा निजी क्षेत्र मैत्री वातावरण सिर्जना गर्न लागिपरेका छन्। ज्याक मा विदेश बसिरहेको भए चीन निजी क्षेत्र र विदेशी लगानीकर्ताका लागि सही बजार होइन भन्ने सन्देश जाने थियो। यस्तोमा कियाङको योजना असफल हुने सम्भावना रहने थियो। यो सम्भावना चिर्न कियाङ जसरी हुन्छ ज्याक मालाई फर्काउने पक्षमा थिए।

‘ज्याक माको पुनरागमनले चीनको इन्टरनेट तथा प्रविधि उद्योग उत्साहित बन्ने पक्का छ। यो क्षेत्रले चीनको आर्थिक विकासमा कस्तो भूमिका खेलेको छ भनेर, चीनको नयाँ नेतृत्वले अध्ययन गरेको छ। यसकारण विगतमा जस्तो यो क्षेत्रलाई दुःख दिने काम अब हुँदैन,’ बेइजिङमा रही निजी क्षेत्रबारे अध्ययन गर्ने झाङ झिउआले भनेका छन्।

चीनमा अर्थतन्त्र सम्हाल्ने जिम्मा प्रधानमन्त्री हो। यस्तोमा प्रधानमन्त्री ली चीनको निजी क्षेत्रको सहभागितालाई मजबुत बनाउने प्रयासमा छन्। उनले चीनमा व्यापार र लगानी गर्ने सबैलाई उस्तै व्यवहार गर्ने बताएका छन्।

तर निजी क्षेत्र अझै सशंकित छ। आफूहरूलाई सहयोग हुने प्रकारको नयाँ नीति सरकारले ल्याउन नसकेको निजी क्षेत्रको भनाइ छ। ‘चीनमा निजी क्षेत्रलाई नियन्त्रणमा राख्न ल्याइएका कानुन र संस्था अझै सक्रिय छन्। चिनियाँ सरकारले अहिले जे-जे भने निजी क्षेत्र ढुक्क हुने स्थिति छैन। नयाँ प्रधानमन्त्रीले जे-जे बाचा गरे पनि ज्याक माले व्यहोर्नु परेको घाटा पूर्ति हुनेछैन। उनले आफ्ना कम्पनीमाथिको नियन्त्रण गुमाएका छन्,’ चीनको वित्तीय व्यवस्था र संरचनाबारे पुस्तक लेखेका विश्लेषक फ्रेजर होवीले रोयटर्ससँग भनेका छन्।

प्रकाशित: १४ चैत २०७९ १२:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =