काठमाडौँ- गोविन्द सिंह भण्डारीले फिल्म ‘रणवीर’बाट निर्देशनमा हात हालेका हुन्। त्यसअघि आधा दर्जन नेपाली फिल्ममा सहनिर्देशक भएका काम गरेका उनले डेब्यु फिल्म ‘रणवीर’बाट राम्रै चर्चा पाए। दक्षिण भारतीय फिल्म उद्योगमा काम गरिसकेका भण्डारीले ‘रणवीर’मा त्यहाँको ‘एक्सन फ्लेभर’ मिसाएका थिए। धेरैले फिल्म मन पराएका थिए। गोविन्दको चर्चा भएको थियो।
तिनै गोविन्दको निर्देशनमा त्रिकोणत्मक प्रेमकथामा आधारित फिल्म ‘प्रेमा’ आउँदै छ। चैत १७ मा प्रदर्शनमा आउने फिल्ममा सुुवेक्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री मुख्य भूमिकामा छन्। फिल्मको तेलुगु, तमिल र हिन्दी भर्सन ओटीटीमा रिलिज हुनेछ।
लेखनका हिसाबले गोविन्दको पहिलो फिल्म ‘प्रेमा’ थियो। तर निर्देशन र प्रदर्शनमा पहिले आयो ‘रणवीर’। अनि ‘प्रेमा’ उनको दोस्रो फिल्म बन्न पुग्यो। ‘प्रेमकथाले दर्शकलाई रोमान्टिक बनाउँछ र यसले मान्छेलाई जोड्ने काम गर्छ,’ गोविन्दले भने, ‘कुनै न कुनै उमेरमा आफूभन्दा विपरीत लिंगसँग जोकोही आकर्षित हुने गर्छ। मैले ‘प्रेमा’ र ‘रणवीर’को स्क्रिप्ट सँगै लेखेको थिएँ। ‘प्रेमा’ पहिले बनाउन चाहन्थेँ तर समय र परिस्थितिले गर्दा ‘रणवीर’ बन्यो।’
‘प्रेमा’ वास्तविक व्यक्तिबाट प्रभावित भएर लेखिएको गोविन्दले बताए। ‘जीवनको कुनै समयमा एक युवती भेटेका थिएँ,’ उनले सुनाए, ‘जोबाट प्रभावित भएर ‘प्रेमा’ लेखेँ। त्यो चरित्रलाई समातेर अघि बढ्न सक्छु भन्ने लाग्यो। किनकि ऊ साधारण भएर पनि उसमा अरूलाई आफूतिर आकर्षण गर्ने क्षमता छ।’
मान्छेहरूले चमकधमक भएको वस्तुतिर आकर्षित हुने गर्छन्। तर प्रेमाको शान्त र सुशील चरित्र आकर्षक रहेको गोविन्दको भनाइ छ। ‘‘प्रेमा’ संस्कृतबाट आएको शब्द भए पनि यसलाई तेलुगूमा बढी प्रयोग गरिन्छ,’ उनले भने, ‘जसको अर्थ ‘माया’ हो। नेपाली फिल्ममा जुनसुकै गीतमा ‘माया’ शब्द जोडिएजस्तै साउथका हरेक फिल्मका गीतमा ‘प्रेमा’ अनिवार्यजस्तै छ।’
भारतमा बस्दा उनी हलिउड फिल्म निर्देशक डोभ–एस सिमेन्सबारे सुनेका र पढेका थिए। डोभ चिनियाँ फिल्म एकेडेमीका संस्थापक, हलिउड फिल्म इन्स्टिच्युटका संस्थापक र ग्लोबल फिल्म स्कुलका डिन तथा संस्थापक हुन्। डोभ प्रशिक्षणका लागि नेपाल पनि आइसकेका छन् ।
गोविन्दले डोभ एस–सिमेन्सले टु डे फिल्मस् स्कुलमा दिएको प्रशिक्षणको भिडियो कोर्षलाई अनलाइनमा हेरेर फिल्म मेकिङसम्बन्धी प्रशिक्षण लिएका थिए। ‘सिमेन्सले ‘पहिलो फिल्म गर्दा बजेट सीमित राख्नु, काम यस्तो होस् कि निर्देशकको काम बढी देखियोस्’ भन्नुहुन्थ्यो,’ गोविन्दले सुनाए, ‘गीतलाई कोरियोग्राफी, एक्सनलाई फाइटमास्टर राखिदिँदा निर्देशकको काम के त? त्यसकारण कथावाचनको शैली राम्रो हुनुपर्छ भन्नुहुन्थ्यो। चरित्र र सिमेन्सको भनाइलाई लिएर प्रेमा लेखेको हुँ।’
‘प्रेमा’को पटकथा लेख्दा नै उनले दिमागमा पात्रको कपाल, अनुहार, उचाइ र शरीरको बनावट कोरिसकेका थिए। सुवेक्षासँग ‘रणवीर’मा काम गरिसकेका थिए। ‘शीर्ष चरित्रका लागि सुवेक्षा उपयुक्त हुनेमा ढुक्क थिएँ,’ उनले भने, ‘म वास्तविक पात्र र फिल्मको पात्रसँग नजिक थिएँ। सुवेक्षासँग पहिला पनि काम गरिसकेको हुनाले उनी प्रेमा बन्न सक्छिन् भन्नेमा ढुक्क थिएँ।’
गोविन्द नयाँ अनुहारसँग काम गर्न मन पराउँछन्। फिल्मको प्रमुख पुरुष पात्रका लागि धेरैले अडिसन दिए। तर सोचेजस्तो पात्र फेला पार्न सकेनन्। त्यही बेला फिल्म सम्पादक कृष्ण भण्डारीले अरुण क्षेत्रीको नाम सुझाए। गोविन्दले आफूले खोजकै जस्तो पात्र अरुणमा पाए। ‘तर उनी तस्बिरमा देखिएकाभन्दा फरक रहेछन्,’ उनले भने, ‘अरुणको अडिसन लिनुभन्दा पनि सुटिङ हेर्ने बहानामा उसको काम हेर्छु भन्ने निर्णय लिएँ। सुटिङमा गएर हेर्दा अरुणको काम, शारीरिक हाउभाउ राम्रो लाग्यो। अनि उसलाई अडिसनमा बोलाएँ।’
सृष्टिसँग गोविन्दको पहिलो सहकार्य हो। तर उनले सृष्टिका फिल्म भने हेरेका थिए। सृष्टिको कामबा प्रभावित भएका रहेछन्। ‘सृष्टि काममा ध्यान दिने कलाकार हुन्,’ उनले भने, ‘वर्कसपमा नोट लिएरै बस्थिन्। म बोलिरहँदा उनी नोट गरिरहेकी हुन्थिन्।’