वन्यजन्तुले हैरान गरेपछि आँपखेती गर्दै किसान

हिमाल प्रेस २ चैत २०७९ ११:२२
4
SHARES
वन्यजन्तुले हैरान गरेपछि आँपखेती गर्दै किसान प्रतिनिधिमूलक तस्बिर।

धनकुटा- बँदेल र बाँदरले अन्नबाली खान थालेपछि धनकुटा नगरपालिका-९ छिम्सुवाबेँसीका किसान आँप खेतीमा लागेका छन्। डेढ दशकभन्दा अघिदेखि बँदेल र बाँदरको ज्यादतीबाट बच्न यहाँ ३५ परिवारले आँप खेती गर्न थालेका हुन्।

अहिले छिम्सुवावासी अन्नबाली लगाउँदा बाली जोगाउन पर्ने तनावबाट मुक्त मात्र भएका छैनन् उनीहरूले आँप खेतीबाट मनग्य आम्दानीसमेत लिन थालेका छन्। तमोर नदी किनारसँगै पहाडको फेदीमा रहेको यस गाउँमा पहिला दिनमा बाँदर र रातमा बँदेल रुँगेर बस्नुपर्ने बाध्यता थियो तर आँप खेती लगाएपछि चौबीसै घण्टा बाँदर र बँदेल रुँग्नुपर्ने बाध्यताको अन्त्य भएको बताउँछन् स्थानीय ६४ वर्षीय डेढराज दाहाल।

‘पहिले अरू बाली लगाउँदा दिउँसो बाँदर र राति बँदेल रुँग्नुपर्थ्यो,’ उनले भने, ‘तर आँप लगाएपछि अहिले दिनमा बाँदर रुँगे पुग्छ।’ १२ वर्षअघिदेखि १९ रोपनीमा आँप लगाएका दाहालले अहिले वार्षिक तीन लाखसम्मको आँप बेच्ने गरेको बताए। तथापि असिनापानीजस्ता प्राकृतिक प्रकोपका कारण आँप खेतीमा पनि जोखिम कायम नै रहेको दाहालको भनाइ छ।

त्यस्तै २५ रोपनीमा आँप खेती गरिरहेकी सोही गाउँकी ५५ वर्षीया उषादेवी विष्टले बँदेल र बाँदरले केही खानै नदिएपछि सबै जमिनमा आँप लगाएको सुनाइन्। २०५३ देखि आँप रोप्न सुरु गरेर अहिले बगैँचा बनाएकी विष्टले त्यो बेला सम्झँदै भनिन् ‘भर्खरै बिहे गरेर आएकी थिएँ, राति बारीको मकैमा बँदेल छिरेछ, बिहान हेर्दा सिरानबाट तलैसम्म लप्केको थियो।’ सबैतिर गुहार लाउँदा पनि यसको समाधान नभएपछि सबै गाउँले आँप खेतीतर्फ लागेको उनले जानकारी दिइन्।

बस्नेतले जस्तै विष्टले पनि वार्षिक तीन लाखसम्मको आँप बेच्ने गरेको सुनाइन्। बँदेलले रुख चढेर आँप नखाए पनि भुइँमा भरेको आँप खाएर हैरान पारेको उनको गुनासो छ। घरायसी सबै गर्जो र आराम बिरामी हुँदासमेत आँपको बगैँचा देखाएर ऋणपान गर्नुपर्ने हुँदा आँप नफलेको वर्ष भने ज्यादै समस्या हुने गुनासो उनले सुनाइन्।

जंगलको नजिक जमिन भएकाले वैकल्पिक खेतीका रूपमा आँप बगैँचा लगाउन थालेपछि अरूको जमिनमा ओस पर्ने भएकाले सबैले आँप लगाएका कारण हाल गाउँ नै बगैँचामा परिणत भएको उनको भनाइ छ। यस्तै १५ वर्षअघिदेखि १७ रोपनीमा आँप लगाएकी सोही गाउँकी पार्वती भण्डारी बँदेल आतंक सधैँ झेल्नुपरेको उनले बताइन्। ‘अहिले पनि बँदेलको बिगबिगी उस्तै छ,’ भण्डारीले गुनासो गर्दै भनिन्, ‘भुइँमा झरेको आँप त एउटा पनि खान पाइँदैन।’

वार्षिक एक लाखसम्म आँप बेच्ने गरेका भण्डारीले आँपबाट मात्र जीवनयापन गर्न कठिन भएकाले श्रीमान् वैदेशिक रोजगार र आफू बाख्रापालनमा लागेको बताइन्। आँप पाक्ने सिजनमा सो क्षेत्रबाट एक किमि पूर्वकोसी राजमार्गको धरान–धनकुटा सडकखण्डस्थित मुलघाटसम्म निस्कने अक्करको बाटो अक्सर बिग्रने हुँदा कुनै वर्ष धरै आँप कुहिएर बेच्न नपाइने उनले दुखेसो गरिन्।

आफ्ना उत्पादन बजारसम्म पुर्‍याउन किसानसँग स्रोतसाधन र पहुँच नभएकाले यहाँ उत्पादित आँप बिचौलियालाई सस्तोमा बेच्न परेको उनको अनुभव छ। यो क्षेत्र जिल्लाकै आँप पकेट क्षेत्र हो।

सहिदभूमि गाउँपालिका धनकुटासँग जोडिएको तमोर नदी किनारमा अवस्थित यस क्षेत्रको अन्य सिम्सुवा, गोपालपुर, पोखरेलगायतका गाउँमा आँप खेती विस्तारको क्रममा रहेको छ। जिल्लामा ५४ हेक्टरमा आँप खेती हुने कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांकमा उल्लेख छ। गत वर्ष जिल्लामा एक सय ६० मेट्रिक टन आँप उत्पादन भएको कार्यालयले जनाएको छ।

प्रकाशित: २ चैत २०७९ ११:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast