विषाक्त सिनो खाँदा मरे ६ गिद्ध

हिमाल प्रेस ३० फागुन २०७९ १५:०५
8
SHARES
विषाक्त सिनो खाँदा मरे ६ गिद्ध नवलपुरको कावासोती–३ को केरुङ्गेखोला नजिकै बिरामी अवस्थामा फेला परेका गिद्धको प्राथमिक उपचार गर्दै पन्छी संरक्षण संघका प्राविधिक। तस्बिरः रासस

कावासोती- पूर्वी नवलपरासीको कावासोतीमा विषाक्त सिनो खाएर मर्ने गिद्धको संख्या ६ पुगेको छ। साथै चार वटा बिरामी गिद्धलाई उद्धार गरेर कावासोती १३ स्थित जटायु रेष्टुराँमा उपचार गरिएको छ।

मर्ने सबै गिद्ध लोपोन्मुख डंगर प्रजातिका हुन्। कावासोती नगरपालिका–३ नजिकै रहेको ज्योतिकुञ्ज सामुदायिक वन र अङ्कुर सामुदायिक वन क्षेत्र आसपास केरुंगे खोला नजिकै मृत अवस्थामा गिद्धहरू फेला परेपछि स्थानीयले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गरेका थिए।

गिद्ध मरेको खबर पाएलगत्तै घटनास्थलमा राष्ट्रिय प्राकृतिक संरक्षण कोषका चरा विशेषज्ञ चिकित्सक डा. विकल्प कार्कीको नेतृत्वमा प्राविधिकको टोली पुगेर बिरामी गिद्धको प्राथमिक उपचार गरेको थियो।

प्राथमिक उपचारपछि बिरामी गिद्धलाई जटायु रेष्टुराँमा ल्याएर थप उपचार गरिएको र गिद्धको स्वास्थ्यमा उल्लेखीय सुधार आएको डाक्टर कार्कीले बताएका छन्।

मरेका गिद्धको पोस्टर्माटम गर्दा पेटमा स्यालको सिनो भेटिएको थियो। विषाक्त खाना खाएर मरेको स्यालको सिनो खाएपछि गिद्ध मरेको प्रारम्भिक अनुसन्धानले देखाएको डा. कार्कीको भनाइ छ।

मरेका गिद्धको पोस्टमार्टमपछि संकलन गरिएको नमुना र मरेको स्यालको नमुनासमेत परीक्षणका लागि डिभिजन वन कार्यालयमार्फत नेपाल प्रहरीको काठमाडौँस्थित विधि विज्ञान प्रयोगशालामा पठाइनेछ। प्रयोगशालाको अन्तिम रिपोर्ट आएपछि मात्रै कुन विषादीको कारणले स्याल र गिद्ध मरेका हुन् भन्न सकिने डा. कार्की बताउँछन्।

घटनास्थल आसपास गिद्धको बासस्थान र बच्चा कोरल्ने गुँड नजिकै भएकाले धेरै संख्यामा गिद्ध बिरामी अवस्थामा हुन सक्ने भएकाले जटायु रेष्टुराँ र पक्षी संरक्षण संघको संयुक्त टोली आसापासको जंगलमा खोजी गरिरहेको जटायु रेष्टुराँका अध्यक्षसमेत रहेका चरा विज्ञ डिबी चौधरीले बताए।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक साजन शर्माले घटनाको अनुसन्धान भइरहेको बताएका छन्। विषादी हालेर स्याल मार्नेको खोजी भइरहेको उनको भनाइ छ।

गत शनिबार मात्रै जटायु रेष्टुराँबाट चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध प्रजनन केन्द्रमा हुर्किएका १० वटा गिद्धलाई प्राकृतिक बासस्थानमा छोडिएको थियो।

संरक्षणको क्षेत्रमा उदाहरणीय काम हुँदै गर्दा गिद्ध मरेको खबर सार्वजनिक भएपछि संरक्षणकर्मीको लागि चिन्ताको विषय बनेको छ। यस क्षेत्रमा ९ प्रजातिका गिद्ध पाइन्छन्।

प्रकाशित: ३० फागुन २०७९ १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =