निरन्तर ओरालो झर्दै पुलिस, जावलाखेल र एपीएफबीच बराबरी

हिमाल प्रेस २७ फागुन २०७९ १७:३१ | Saturday, March 11, 2023
निरन्तर ओरालो झर्दै पुलिस, जावलाखेल र एपीएफबीच बराबरी

काठमाडौँ- नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लबले हारको शृंखलालाई जारी राखेको छ। पुलिसले शनिबार दिउँसो च्यासल रंगशालामा संकटा क्लबसँग ३–० को हार व्यहोर्‍यो। तीन पटकको च्याम्पियन पुलिसले लिगमा लगातार तेस्रो खेलमा पराजय भोगेको हो।

संकटालाई लिगमा पहिलो जित दिलाउन गणेश हमाल, रोशन पहरी र सुरज ज्यु ठकुरीले एक–एक गोल गरे। गणेशले सुनिल श्रेष्ठको पासलाई सदुपयोग गर्दै १२ औँ मिनेटमा गोलको खाता खोलेका थिए।

गत बुधबार मनाङ मस्र्याङ्दी क्लबसँग १–० ले पराजित भएको संकटाले पुलिसविरुद्ध बाँकी दुई गोल दोस्रो हाफको उत्तराद्र्धमा गर्‍यो। रोशनले ८० औँ मिनेटमा संकटाको अग्रता दोब्बर बनाएका थिए।

मानिष डाँगीको प्रहार पुलिसका अन्जन राईले रोक्दा बल रोशनले पाएका थिए। रिबाउन्डमा आएको बललाई रोशनले पुलिसको पोस्टमा फर्कादिए, जसलाई गोलकिपर शत्रुधन चौधरीले रोक्न सकेनन्।

संकटाको तेस्रो गोल पनि मनिषकै कारण सम्भव भयो। मनिषले मिलाइदिएको पासलाई सुरजले गोलमा परिणत गरेका थिए। त्रिभुवन आर्मी क्लबसँग बराबरी खेल्दै नयाँ सिजनको सुरुवात गरेको संकटा हाल चार अंक बटुलेर आठौँ स्थानमा छ। १४ क्लब सम्मिलित लिगमा पुलिस पुछारमा छ।

शनिबार नै भएको अर्को खेलमा नेपाल एपीएफ क्लब र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेलेका छन्। १० खेलाडीमा सीमित एपीएफसँग अंक बाँडेपछि जावलाखेलले शीर्षस्थानको चर्च ब्वाइज युनाइटेडसँग अंक बराबरी गर्ने अवसर गुमायो।

पहिलो खेलमै च्याम्पियन मछिन्द्र क्लबलाई ३–१ ले स्तब्ध बनाएको जावलाखेलले दोस्रो खेलमा न्युरोड टिम (एनआरटी) माथि २–१ को जित दर्ता गरेको थियो। दुई जित र एक बराबरीबाट सात अंक बटुल्दै जावलाखेल दोस्रो स्थानमा छ।

एपीएफका एडामा डौम्बियाले ७० औँ मिनेटमा रातो कार्ड पाएका थिए। अप्रिकी देश मालीबाट नेपाली लिग खेल्न आएका डौम्बियाले जावलाखेलका हिसुब थपलियालाई फाउल गरेका थिए। त्यसपछि उनलाई रेफ्रीले पहेँलो कार्ड देखाए। तर कार्ड पाएपछि रेफ्रीसँग भनाभन गर्न थालेपछि उनलाई रातो कार्ड देखाइयो।

लिगमा एक खेल जितेको एपीएफ पाँचौँ स्थानमा छ। विभगीय टिमले पहिलो खेलमा थ्रीस्टार क्लबलाई २–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा सातदाबाटो युथ क्लबसँग हार व्यहोरेको थियो।

प्रकाशित: २७ फागुन २०७९ १७:३१ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast