उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी

हिमाल प्रेस २७ फागुन २०७९ १४:२३
14
SHARES
उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी

काठमाडौँ- उपराष्ट्रपति पदका लागि चार नेताले उम्मेदवारी दिएका छन्। चैत ३ गते हुने मतदानका लागि शनिबार मनोनयन दर्ताको कार्यतालिका छ।

सोहीअनुसार नेताहरूले संसद् भवनमा पुगेर उम्मेदवारी दिएका हुन्। उम्मेदवारी दिनेमा जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता रामसहायप्रसाद यादव र नेत्री प्रमिला यादव, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा छन्। यादवद्वय र झा १० दलीय गठबन्धनका नेताहरू हुन्।

रामसहायको उम्मेदवारी दर्ताका क्रममा जसपा नेताका साथै नेकपा (एकीकृत समाजवादी) पार्टीबाट प्रमुख सचेतक प्रकाश ज्वाला पनि सहभागी थिए। उनको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी छन्।

उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले निर्वाचित भए मुलुकको संविधानको रक्षा, गर्न संवद्र्धन गर्ने राष्ट्रिय एकताका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘निर्वाचित भए मुलुकको संविधानको रक्षा, गर्न संवद्र्धन गर्ने राष्ट्रिय एकताका लागि पहल गर्छु।’  एमालेबाट पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दिएककी छन्। उनको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट, रघुवीर महासेठ छन् भने समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल छन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी रहेको बताएकी छन्। उनले भनिन्, ‘लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी छ। लोकतन्त्रमा हामी विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ।’

यसैगरी जनता समाजवादी पार्टी नेपाल ९जसपा० नेतृ प्रमिला यादवले उपराष्ट्रपति पदका लागि उमेदवारी दर्ता गराएकी छन्। उनको प्रस्तावकमा रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन्। समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरुङ, जयन्ती राई र मनिस सुमन छन्।

१० दलीय गठबन्धनबाट नै जनमत पार्टीकी नेता ममता झाले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्। उनको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव छन् भने समर्थकमा गोमा सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी छन्।

उपराष्ट्रपतिका लागि संघीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहनेछन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार संघीय संसद्का तीन सय ३४ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८४ मतदाता रहनेछन्।

प्रतिनिधिसभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त रहेको छ। विद्यमान कानुनअनुसार सङ्घीय संसद्का प्रति सदस्यको ७९ मतभारका दरले २६ हजार ४०० र प्रदेशसभा सदस्यको प्रति सदस्य ४८ मतभारका दरले २६ हजार तीन सय ८६ गरी कुल ५२ हजार सात सय ८६ मतभार कायम हुनेछ।

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्।

प्रकाशित: २७ फागुन २०७९ १४:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast