तेस्रो पटक चिनियाँ राष्ट्रपति बने सी चिनफिङ

हिमाल प्रेस २६ फागुन २०७९ १२:२०
18
SHARES
तेस्रो पटक चिनियाँ राष्ट्रपति बने सी चिनफिङ

काठमाडौँ- सी चिनफिङ शुक्रबार चीनको राष्ट्रपतिमा पुनः निर्वाचित भएका छन्। ६९ वर्षीय उनी तेस्रो पटक राष्ट्रपति बनेका हुन्। उनी मार्च, २०१३ मा पहिलो पटक चीनको राष्ट्रपति बनेका थिए। त्यसपछि सन् २०१८ मा एकपल्ट फेरि राष्ट्रपति बनेका उनी आगामी पाँच वर्षका लागि राष्ट्र प्रमुखका रुपमा रहने पक्का भएको हो।

२९ सय ८० सदस्य रहेको चिनियाँ संसद्ले सीलाई राष्ट्रपतिमा सर्वसम्मत चुनेको रोयटर्सको रिपोर्टमा उल्लेख छ। गत अक्टोबरमा सी तेस्रो पटकका लागि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को महासचिव चुनिएका थिए। तेस्रो कार्यकालका लागि पार्टी महासचिवसँगै राष्ट्रपति पनि चुनिएपछि सीलाई माओ जेदोङपछिको शक्तिशाली चिनियाँ नेताका रुपमा चित्रण गरिँदैछ।

राष्ट्रपतिको निर्वाचनमा विद्युतीय मतदान भएकाले मतगणना १५ मिनेटभित्र सकिएको थियो। मतदान भने करिब एक घण्टासम्म चलेको बताइएको छ। चिनियाँ संसद्का कुल २९ सय ८० सदस्यमध्ये २९ सय ५२ उपस्थित रहेको र ती सबैले सीको पक्षमा मतदान गरेको एपीको रिपोर्टमा उल्लेख छ।

मार्च, २०१८ मै सी तेस्रो पटक राष्ट्रपति बन्ने पक्का भएको थियो। त्यसैबेला चिनियाँ संविधानमै परिवर्तन गरी राष्ट्रपति र उपराष्ट्रपतिका लागि दुई कार्यकालको व्यवस्था हटाइएको हो। नेसनल पिपल्स कंग्रेसको वार्षिक सत्रमा २९६४ सदस्यमध्ये जम्मा दुई जनाले मात्र त्यस्तो व्यवस्था हटाउने विपक्षमा मतदान गरेका थिए भने तीन जना जना भने तटस्थ रहेका थिए।

सन् १९८२ मा तत्कालिन राष्ट्रपति तथा पार्टी प्रमुख देङ सिआओपिङले दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने संवैधानिक व्यवस्था ल्याएका थिए। जियाङ जेमिनको पालाबाट राष्ट्रपति र महासचिव एकै व्यक्ति हुने अभ्यास सुरु भएको थियो। चिनियाँ कम्युनिस्ट पार्टीमा ६८ वर्ष कटेका नेताले अनिवार्य अवकास लिनुपर्ने व्यवस्था पनि छ। तर सीका हकमा यो नियम लागू भएको छैन।

अबको दुई दिनभित्र सीको सिफारिसमा नयाँ प्रधानमन्त्री नियुक्त हुनेछन्। क्याबिनेटका अन्य महत्त्वपूर्ण सदस्यको पनि नियुक्ति हुनेछ। चिनियाँ सरकारमा दोस्रो वरीयता मानिने प्रधानमन्त्रीमा लि कियाङ नियुक्त हुने पक्का छ। सन् २०१७ मा सांघाई सहरको पार्टी प्रमुख बनेका उनलाई गत वर्ष पार्टीको सर्वोच्च समिति राज्य परिषद्मा ल्याइएको थियो। उनी पार्टीभित्र सीपछिका दोस्रो शक्तिशाली नेता हुन्।

चीनमा देशको अर्थतन्त्र सम्हाल्ने जिम्मा प्रधानमन्त्रीलाई दिने गरिन्छ। कोभिड–१९ महामारीपछि सुस्ताएको चिनियाँ अर्थतन्त्रलाई तंग्राउने जिम्मा उनकै हुनेछ। राष्ट्रपतिका लागि मतदान हुँदै गर्दा सी र ली सँगै बसेका थिए।

प्रधानमन्त्री चुन्न बाँकी रहे पनि सभामुख भने चुनिएका छन्। पार्टी वरीयताको तेस्रो स्थानमा रहेका झाओ लेजी सभामुख बनेका हुन्। ६७ वर्षीया झाओ कुनैबेला सीको पार्टीभित्र सञ्चालित भ्रष्ट्रचार उन्मूलन अभियानको नेतृत्वकर्ता थिए। पार्टीभित्रको अनुशासन समितिमा अब झाओलाई सातौँ वरीयताका लि सीले प्रतिस्थापन गर्नेछन्। ली गुवाङडोङ प्रान्तका पूर्वप्रमुख हुन्।

संसद्मा हालका प्रधानमन्त्री ली खछ्याङले चीनले ५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको बताए। गत वर्ष चीनको आर्थिक वृद्धिदर ३ प्रतिशतमा झरेको थियो। जुन सन् १९७० यताकै सबैभन्दा कम वृद्धिदर हो।

आर्थिक मन्त्रालयले रक्षा बजेट ७.२ प्रतिशतले बढाइएको घोषणा गर्‍यो। अब चीनको रक्षा बजेट दुई सय ३० अर्ब अमेरिकी डलर पुगेको छ। यो गत वर्षभन्दा ७.२ प्रतिशतले बढी हो। अमेरिकापछि सबैभन्दा बढी रक्षा बजेट भएको चीनले प्रत्येक वर्ष ६ देखि ७ प्रतिशतले रक्षा बजेट बढाइरहेको छ।

प्रकाशित: २६ फागुन २०७९ १२:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =