‘मिड टेबल’ भिडन्तमा पुलिस र हिमालयन शेर्पा; संकटाको संकट बढाउने मनाङको दाउ

हिमाल प्रेस २४ फागुन २०७९ ११:४१
4
SHARES
‘मिड टेबल’ भिडन्तमा पुलिस र हिमालयन शेर्पा; संकटाको संकट बढाउने मनाङको दाउ

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगको आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लब नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडसँग हार्दा खासै अचम्म मानिएन। किनभने गएको सिजन चार अंकले मात्र रेलिगेसनबाट बचेको पुलिसको प्रदर्शनमा यसपाालि नाटकीय सुधारको अपेक्षा गरिएको छैन।

नयाँ प्रशिक्षक चेतन घिमिरेका अनुसार पुलिसको लक्ष्य ‘मिड टेबल’ मा अडिने हो। औसत खेलाडीले भरिएको टिम भएकाले पनि चेतनले यथार्थपरक लक्ष्य राखेका हुनसक्छन्। कुनै समय नेपाली फुटबलमा प्रतिभाशाली युवा फरवार्डको परिचय बनाएका चेतनको खेल करियरले सोचेअनुसारको यात्रा तय गर्न सकेन।

डरलाग्दा चोटको सामना गर्नुपरेकाले चेतनले चाँडै मैदान छाडे। तर अब उनले पुनरागमन गरेका छन्, प्रशिक्षकका रूपमा। उनका लागि यो नयाँ यात्रा कठिन हुनेछ। किनभने तीन पटकको च्याम्पियन पुलिसलाई लिगमा स्थिर टिमका रूपमा स्थापित गर्ने जिम्मेवारी उनको काँधमा छ।

पहिलो खेलमा २–१ को हार भागेको पुलिस बुधबार दिउँसो हिमालय शेर्पा क्लबसँग भिड्दैछ। दशरथ रंगशालामा यी दुई टिम आमनेसामने हुँदा दुवैको लक्ष्य पहिलो जित दर्ता गर्ने हुनेछ। हिमालयन शेर्पाले पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग बराबरी खेलेको थियो।

विदेशी खेलाडी अनुबन्ध नगरेको पुलिस र विदेशी खेलाडीको भरमा रहेको हिमालयन शेर्पाको खेल दुई औसत टिमबीचको भिडन्त हुनेछ। हिमालयन शेर्पाका मुख्य प्रशिक्षक सुमन श्रेष्ठ फेरि एकपटक दुई विदेशी फरवार्ड मोहम्मद कदु र पिस्टोने मुटाम्बाको भरमा हुनेछन्। यी दुई पाहुना खेलाडीलाई सुशील राई र निशान लिम्बूको साथ रहनेछ।

बुधबार नै हुने अर्को खेलमा नेपाल एपीएफ क्लबले सातदोबाटो युथ क्लबको सामना गर्दैछ। पहिलो खेलमा तीन विदेशी खेलाडी मैदान उतारेको एपीएफले थ्रीस्टार क्लबलाई २–० ले पन्छाएको थियो। त्यस जितमा अर्मान्ड बिडौमसँगै मणिकुमार लामाले गोल गरे।

एपीएफले यो सिजन उपाधि जित्ने लक्ष्य बनाएको छ। उपाधि जित्न मात्र होइन रेलिगेसनबाट बच्नसमेत विदेशी खेलाडीको साथ खोज्ने अरु धेरै क्लबको सूचीमा एपीएफ मिसिएको छ। विभागीय टिम भए पनि विदेशी खेलाडी अनुबन्ध गरेर पुलिस र त्रिभुवन आर्मी क्लबाट फरक बनेको एपीएफमा कप्तान नवीन लामा अर्का महत्त्वपूर्ण खेलाडी हुन्।

गएको सिजन पहिलो पटक शीर्ष श्रेणीको लिग खेलेको सातदोबाटो युथ क्लब सनोज श्रेष्ठको प्रशिक्षणमा खेल्दैछ। पहिलो खेलमा युवा खेलाडीले भरिएको न्युरोड टिम एनआरटी लाई पन्छाएको सातदोबाटो दीपकराजसिंह ठकुरीको उदयले उत्साहित छ। विंगर दीपकले पहिलो खेलमै दुई गोल गरेका थिए। गत सिजन पनि सातदोबाटोबाटै ए डिभिजन लिग खेलेका दीपक केपी ओली कपमा उच्च गोलकर्ता बनेका थिए।

मनाङ पहिलो खेलमा हिमालयन शेर्पासँग बराबरीमा रोकिएको। युवा टिम तर सन्तुलित। शारीरिक रूपमा होचा खेलाडी धेरै भएकाले फिजिकल गेम खेल्ने विपक्षीसँग केही गाह्रो। तर त्यस्तो चुनौती पन्छाउन फरक रणनीतिले खेल्नुपर्ने किरण श्रेष्ठको भनाइ छ।

सधैँ उपाधि दाबेदार मानिने मनाङ मर्स्याङ्दी क्लबले यसपल्ट फरक रणनीति लिएको छ। लिगका लागि पोखरामा बन्द प्रशिक्षण राखेको मनाङले यसपालि टिम पुनः निर्माण गरेको छ भन्दा फरक पर्दैन। अन्जन विष्टले क्लब छाडेपछि दीप कार्कीलाई कप्तान बनाइएको छ। दीप यही सिजन मनाङ पुगेका हुन्। अनुभवी दिनेश राजवंशी बिदेसिँदा मनाङको रक्षापंक्ति लगभग नयाँ आकारमा छ।

मुख्य प्रशिक्षक किरण श्रेष्ठले बार्सिलोनाका उत्पादन डिवान्डौँ नियाङ डियाग्नेलाई मिडफिल्डको जिम्मा लगाएका छन्। गत सिजन यो जिम्मेवारीमा पुजन उपरकोटी थिए। पहिलो खेलमा आफ्नो स्तरअनुसारको प्रदर्शन गर्न नसकेका डियाग्ने नेपाली फुटबलसँग बिस्तारै अभ्यस्त हुँदै जाने विश्वास किरणको छ।

पहिलो खेलमा सुरुवाती एघारमा नपरेका उज्वेकिस्तानका साइदजामोल डाभ्लाटजोनोभ मनाङका लागि महत्त्वपूर्ण साबित हुनसक्ने खेलाडी हुन्। सन्तुलित टिम बनाएको मनाङसँग घरेलु फुटबलमा उदाउँदा खेलाडी रोशन थापा मगर, कमल थापा, रन्दिप पौडेल पनि छन्। जसले संकटासँग प्राविधिक खेल देखाउने अपेक्षा छ।

कप्तान सुनिल बल पहिलो खेल खेलर विदेश हानिएपछि संकटमा परेको संकटाले भारतबाट नयाँ रक्षक सन्दीप एलेलाई भित्र्याएको छ। सुनिलको अनुपस्थितिमा मनीष डाँगी स्वतः संकटा अपंक्तिको केन्द्र बनेका छन्। मंगबलार एनएसजेएफ स्पोर्ट्स अवार्डमा वर्ष युवा खेलाडी घोषित मनीषलाई विदेशी स्ट्राइकर जुनियर एन्केंगे र नेल्सन कोन्फोरसँगै सुनिल श्रेष्ठको साथ रहनेछ।

बुधबारका खेल :

नेपाल पुलिस क्लबविरुद्ध हिमालयन शेर्पा क्लब, २ः३०, दशरथ रंगशाला

नेपाल एपीएफ क्लबविरुद्ध सातदोबाटो युथ क्लब, २ः३०, च्यासल रंगशाला

मनाङ मर्स्याङ्दी क्लबविरुद्ध संकटा क्लब, ५ः३०, दशरथ रंगशाला

प्रकाशित: २४ फागुन २०७९ ११:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =