यो स्विट्जरल्यान्ड पार्क, त्यो छापेचौर

हिमाल प्रेस २० फागुन २०७९ १७:३५
324
SHARES
यो स्विट्जरल्यान्ड पार्क, त्यो छापेचौर

कलंकी चोकबाट दक्षिण-पश्चिमतिर नियाल्दा हरियाली भाग देखिन्छ। कंक्रिटको जंगलमा हरियाली देख्दा आँखाले सुखको अनुभूति गर्छ। तर विकासका दृष्टिले हेर्दा काठमाडौँका अन्य क्षेत्रको तुलनामा यो क्षेत्र अलिक पछि परेको हो कि भन्ने लाग्छ। खासै घर बनेका छैनन् यहाँ। तर खेतबारीलाई चिरा पारेर बनाएका घडेरी भने प्रशस्त छन्। त्यसको कारण हो माथि बनेको स्विट्जरल्यान्ड पार्क। जो नागार्जुन नगरपालिकामा पर्छ।

बिदाका दिन यहाँ पिकनिक मनाउनेहरू ओइरिन्छन्। वनभोजमा रमाउँछन्। पार्कभन्दा केही पर इन्द्रदह छ। त्यसको उता चन्द्रागिरी नगरपालिकामा कालु पाँडेको समाधिस्थल बनाइएको छ। समाधिस्थल अघि विन्दवासिनी मन्दिर छ। जो पृथ्वीनारायण शाहको वल्लो किल्लामा बनेको थियो। षट्कोण आकारमा मन्दिर बनाउने तय भएपछि दुइटा पार्क र पानीको व्यवस्था गरिएको थियो। अहिले त्यहाँका बासिन्दाले त्यही पानी प्रयोग गरिरहेका छन्।

उतिखेर तीन तहको ट्यांक बनाएर पानीको व्यवस्था गरिएको थियो। मन्दिर बनाउने टोलीले नै पानीको व्यवस्था गरेको हो। मन्दिर भने त्यहाँका स्थानीयले नभई एक तान्त्रिक गुरुका भक्तको समूहले बनाएको हो। तान्त्रिक गुरु र सशस्त्र प्रहरी बलका मूल गुरु भनेर चिनिने ज्योतिष कुमार अधिकारी, पीएचडीले त्यो परिकल्पना गरेका हुन्। काठमाडौँका सुविधा सम्पन्न पाँचतारे होटलमध्ये एक हयात होटल बनाउने कन्सलट्यान्ट इन्जिनियरले नै त्यो पार्क र मन्दिरको प्रारम्भिक खाका कोरेका हुन्।

विन्ध्यवासिनी मन्दिर नागार्जुन र चन्द्रागिरीको पानी ढलोमा पर्छ। त्यो संरक्षित जंगललाई सिमाना अर्थात् पानी ढलोको रूपमा लिइएको छ। दुवै पालिकाका तत्कालीन गाविसको सिफारिसमा मन्दिर निर्माण भएको हो। यहाँ बिहान पुग्ने मानिसले मन्दिर दर्शन र चौरमा व्यायाम गर्छन्। स्विट्जरल्यान्ड पार्क जाने सडक भन्दा वर नै रहेको १ सय ८४ खुट्किला उक्लिदा विन्दवासिनी मन्दिर पुगिन्छ।

भर्‍याङ वा जंगलको ढलाने उकालो बाटोबाट विन्ध्यवासिनी मन्दिर पुग्न सकिन्छ। कलंकी चोक वा रिङ रोडबाट बढीमा ६ किमि पर होला त्यो ठाउँ। नागढुंगा, दहचोक, रामकोट जताबाट पनि पार्क पुग्न सकिन्छ। धादिङबाट पनि पस्न मिल्छ। संरक्षित जंगलको बीचमा मन्दिर छ भने त्यसको पारिपट्टि पिकनिक मनाउने चौर। जहाँ पानीको राम्रो व्यवस्था छ।

स्थानीय, सरकार, समिति सबैको सहकार्यबाट मन्दिर बन्न सकेको हो। पार्क बनेको छ। अब विद्यालय शिक्षामा काम गर्नुपर्छ। त्यसका लागि गुरुकुल तवरको विद्यालय बनाउन सक्नुपर्छ। शिक्षालय राजनीतिक अखडा बनेका छन्। सरकारले शिक्षामा जोड दिन आवश्यक छ। मन्दिर माध्यम हो, ध्यान तप त साधना हो। मूल कुरा शिक्षा हो।

सुरुमा मन्दिरको आम्दानी स्रोत भनेर तय गरिएका दुई पार्क अहिले दुईबाट चार, चारबाट आठ हुँदै १६ पार्क बनेका छन्। चारपांग्रे गाडीको यात्रापछि ओर्लेर खाली खुट्टा जानुपर्थ्याे त्यहाँ। तान्त्रिक गुरुको सोच र अवधारणाले त्यो क्षेत्रमात्र होइन पारि गाउँसम्मै पक्की सडक छ। मन्दिर पुग्न ढलाने बाटो र भर्‍याङ छ। स्युुचाटार, पुरानो नैकाप, तीनथाना, कलंकीको छेउ, सीतापाइला जताबाट पनि त्यसतर्फ जाने गर्छन् मानिसहरू।

नेपालको यस्तो अग्ला स्थानमा प्रायः गुम्बा बनेका हुन्छन्। त्यसैले स्विजरल्याण्ड पार्कमा वनभोजमा रम्नेहरूले वल्लो डाँडा देखाउँदै यस डाँडामा पनि ‘गुम्बा छ कि के हो माथि!’ भन्ने गर्छन्। स्विट्जरल्यान्ड पार्कको डाँडा र यो डाँडा फरक भएकाले कतिपय पिकनिक जानेहरूले विन्ध्यवासिनी मन्दिर देखेकै हुँदैनन्। एकातर्फ पार्क धेरै काठमाडौँवासीका लागि आकर्षणको केन्द्र बनेको छ। अर्कोतर्फ त्यही पार्क बनाएको समूहले डाँडामा मन्दिर बनाएको र त्यहाँ मन्दिर रहेको कतिपयलाई जानकारी नै छैन।

पार्कको अलिक माथि कालु पाँडेको समाधिस्थल छ। सरकारले नै लगानी गरेर त्यसलाई व्यवस्थित गरेको छ। कालु पाँडेका सन्तानले पनि त्यस क्षेत्रमा मनकामनाको मन्दिर बनाएर त्यसलाई थप संरक्षित गरेका छन्। उक्त भाग चन्द्रागिरीमा परे पनि वल्लो र पल्लो किल्ला जस्तो छ। कालु पाँडेका सन्ततिले बनाएको मनकामना मन्दिर पुग्नुअघि वरपट्टिको किल्लामा षट्कोण आकारको विन्ध्यवासिनी मन्दिर कटेर जानुपर्छ।

जहाँ विन्ध्यवासिनी देवीको ठूलो मूर्ति छ। २०७२ को भूकम्पमा यसको निर्माण भएको हो। वैशाख २९ को भूकम्पमा शिला राखिएको थियो। त्यस दिन स्थानीय त्यहाँ जम्मा भएका थिए। भूकम्प जाँदा घरमा कोही थिएनन् र मानवीय क्षति हुन पाएन। विन्ध्यवासिनी मन्दिरको उद्घाटन २०७२ वैशाख १३ मा भएकाे थियो। वैशाख १२ को महाभूकम्पका कारण त्यसको उद्घाटन नै रोकियो। पछि वैशाख २९ मा पूजापाठ गरी विन्ध्यवासिनीको लडेको मूर्ति खडा गर्ने काम भएको थियो।

मन्दिरको संरक्षणमा पूरा ध्यान पुर्‍याइएको छ। मन्दिर परिसरमै चौकी राखेर एउटा प्रहरी टोली खटिएको छ। जसले त्यस क्षेत्रको संरक्षण गर्ने र अवाञ्छित कार्य गर्नेहरूमाथि निगरानी गर्छ। स्थानीयको सहभागितामा एक समिति बनेको छ। त्यही समितिले पनि बाहिरबाट संरक्षण गर्ने काम गर्छ। पहिला वडाध्यक्ष रहँदा सुदन गिरीले विन्ध्यवासिनी मन्दिर र स्विट्जरल्यान्ड पार्क बनाउन सघाएका थिए। अहिले उनी मन्दिरको समितिमा छन्। लागुपदार्थ दुर्व्यसनीलगायतका कारण पहिला मन्दिर बनाउँदा केही असहज भए पनि चौकी राखिएयता सहज भएको गिरी बताउँछन्। मन्दिरमा पुजारी पनि गिरी नै राखिएको छ। तुलसी गिरी पुजारीको रूपमा सुरुदेखि यहाँ छन्।

यसरी बन्यो स्विट्जरल्यान्ड पार्क
२०५४ साल जेठको एक बिहान कुमार अधिकारी (पीएचडी), तान्त्रिक गुरु कलंकीमा एक आफन्त भेट्न गएका थिए। उनले त्यहाँबाट दक्षिण-पश्चिम डाँडामा देवीको झल्को देखेको महसुस गरे। दिउँसो आएको तर्कनाको खोजीमा उनी आफ्नो केही भक्तसँग डाँडातिर लागे। अहिले कालु पाँडेको समाधिस्थल रहेको स्थानभन्दा वरपट्टिको डाँडालाई झल्को आएको डाँडाका रूपमा पहिचान गरे।

बुझ्दै जाँदा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि हमला गर्दा त्यो क्षेत्रमा देवीको स्थापना गरेर पूजा गरेको धार्मिक विश्वास पत्ता लाग्यो। स्थानीयले त्यहाँको एक किल्लामा देवीलाई पुजेको पनि देखेपछि तान्त्रिक गुरु कुमारले त्यहाँ पूजा लगाए। अनि मन्दिर बनाउने निर्णय लिए। सरकार र स्थानीयबाट त्यो जग्गा लिएर मान्दिरको नाममा गरी आश्रमसहित मन्दिरको परिकल्पना गरे। आश्रम बनेको छैन तर मन्दिर बनेको छ। अनि गाडी जाने बाटो पनि।

परिकल्पना गरेको १८ वर्षपछि काम पूरा भयो। मन्दिर बनाउन धेरैको मेहनत, समय, पैसा परेको छ। समिति नै बनाएर मन्दिरको काम फत्ते गरिएको हो। कोही आजीवन सदस्यका रूपमा त्यहाँ काम गरिरहेका छन्। कोष नै खडा गरी सहकार्य अघि बढेको हो। त्यहाँ लगातार जानेमध्ये एक थिए, दिवाकर राणा। उनले मन्दिरका लागि उठेको रकमले त्यो डाँडामा मन्दिरमात्र होइन पछिसम्मका लागि सोचे।

मन्दिर संरक्षणमा आवश्यक आम्दानीको स्रोतबारे सोचे। नेपालीहरू त्यहाँसम्म पुग्ने पक्की सडकबारे सोचे। त्यसका लागि दुुई पार्क बनाएर काम अघि बढाए। पछि विवाद नहोस् भनेर पार्कको जिम्मा स्थानीय समुदायलाई दिइयो। कानुन अध्ययन गरेका दिवाकार राणालाई गुरुकोमा लैजाने काम गरेका थिए, प्रवीणविक्रम राणाले।

उनीहरूले पशुपतिमा होम लगाउने, त्यहाँ उठेको पैसाले मन्दिर र पार्क बनाउने काम गरे। त्यही पार्क पछि पिकनिक जानेहरूका लागि स्विट्जरल्यान्ड पार्क बन्यो। अहिले त्यहाँ १६ वटा पिकनिक स्पट छन्। अर्थात फरक फरक प्रकारको पार्क छन्। बिदाका दिन पार्कमा निकै भीड लाग्छ। ‘छापेचौर भनेर चिनिएको ठाउँ स्विट्जरल्यान्ड पार्क बन्यो,’ दिवाकर सम्झन्छन्, ‘कुनै बेला कालु पाँडेका सेनाले परेड खेल्ने ठाउँ नै स्विट्जरल्यान्ड पार्क बनेको हो।’

कालु पाँडेको समाधिस्थल
नेपालको इतिहासमा चर्चित योद्धा हुन्, कालु पाँडे। उनकै चाहना रहेको भनेर उनको सम्झनामा विन्ध्यवासिनी मन्दिर भन्दा पारिपट्टी डाँडामा समाधिस्थल बनेको छ। विसं १८१४ मा उनले कीर्तिपुरमाथि आक्रमण गरेका थिए। तीनथानाको छेउबाट आक्रमण हुँदा बल्खु खोलाकिनारमा काटाकाट भएको कुरा इतिहासमा छ।

 

दोसो पटकको युद्धमा पाँडे त्यही बल्खु खोलामा मारिएको भनिन्छ। त्यहाँ पृथ्वीनारायण शाहले मनकामना मन्दिर र अर्को किल्लामा विन्ध्यवासिनी देवीको स्थापना गरेर आरधना गरेको आमधारणा छ। पाँडेको समाधिस्थलमा बनेको भ्यू टावर, प्राचीन गढीबाट धौलागिरी, अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्करलगायत हिमाल सहजै देख्न सकिन्छ।

त्यहाँबाट हिमाल हेर्ने, हरियाली जंगल र पार्कमा बस्न रुचाउनेको घुइँचो लाग्छ। जुन पार्कमा १८१४ मा १२ सयभन्दा बढी गोर्खाली सेना परेड खेल्थे। जसले आक्रमण गर्दा कीर्तिपुरमा तीन सय सैनिक पनि थिएन। काठमाडौँ र ललितपुरबाट सेना मागेर तीन सय पुर्‍याएर युद्ध लडेको थियो। सानो राज्य भए पनि उमामेश्वर मन्दिर, भद्रकाली मन्दिरको डाँडाबाट सबै नियाल्न सक्ने हुनाले सहज थिएन। पृथ्वीनारायण शाह स्वयम् पनि कीर्तिपुरको कब्जामा परेको भनिन्छ।

राजवध गर्न नहुने नैतिकताले गर्दा उनी बाँचेका थिए। डाँडामा कालु पाँडेको शरीर ल्याउन नसके पनि टाउको ल्याएर अन्त्येष्टि गरिएको भनिन्छ। उनले कीर्तिपुरमा दोस्रो पटक हमला गर्दा वीरगति प्राप्त गरेका थिए। काजी पाँडेको समाधिस्थल भ्रमण गर्न सर्वसाधारण त्यहाँ जाने गरेका छन्।

चन्द्रागिरी नगरपालिका वडा नं १ इन्द्र दहस्थित त्यो भाग अहिले कालु पाँडेको समाधिस्थल र त्यसयता नागार्जुन नगरपालिकाको स्विट्जरल्यान्ड पार्कले प्रख्यात छ। स्थानीयका अनुसार दैनिक पाँच हजारभन्दा बढी मानिसको आवतजावत हुन्छ त्यस क्षेत्रमा। रत्नपार्कबाट त्यो स्थल १४ किलोमिटर टाढा छ। रिङरोडबाट करिब सात किलोमिटर पर छ कालु पाँडेको समाधिस्थल।

विन्ध्यवासिनी मन्दिर र पार्क अझ वरै छ। पदयात्रा गर्नेहरूका लागि यो स्थान उचित गन्तव्य हो। कलंकी वा थानकोट कतैबाट पनि त्यता पस्न सकिन्छ। त्यहाँबाट स्वयम्भूतिर सीतापाइलातर्फ पनि निस्कन सकिन्छ। साइक्लिङको लागि पनि निकै उपयुक्त छ।

पार्क बनेपछि स्थानीय दंग छन्: कुमार गुरु

पृथ्वीनारायण शाहसहित १२ सय फौज त्यहाँ रहेको भनिन्छ। इतिहासमा पढ्न पनि पाइन्छ। त्यहीअनुरूप विन्ध्यवासिनी भएको किल्लामा शाह स्वयम् देवीको पूजा गर्थे। र उता मनकामना माई सेनाको लागि थियो होला। अनि ठूलो चौरमा परेड खेल्थे उनका सिपाही। त्यही चौर अहिले स्विट्जरल्यान्ड पार्क हो।

पार्क र मन्दिर बनाउन पशुपतिमा लगाएको महायज्ञको रकम र व्यक्तिगत रकम खर्च भएको छ। सरकारको साथ पनि पाइएको छ। सडक र अन्य व्यवस्था सरकारले नै गरेको हो। अहिले त्यहाँका गाउँले पनि दंग छन्। हाइकिङ र साइक्लिङमा आउनेहरूको संख्या दिनहुँ बढ्दो छ। एउटा समिति नै बनाएर काम गरेका छौँ। आश्रम पनि बनाउने सोच छ। आश्रम भन्नाले सबै सांसारिक सुख छाडेर मन्दिरमै भजनकीर्तन गर्नेहरू त्यहाँ बस्नेछन्। बाहिरबाट आउनेहरू पनि बस्न सक्नेछन्।

स्थानीय, सरकार, समिति सबैको सहकार्यबाट मन्दिर बन्न सकेको हो। पार्क बनेको छ। अब विद्यालय शिक्षामा काम गर्नुपर्छ। त्यसका लागि गुरुकुल तवरको विद्यालय बनाउन सक्नुपर्छ। शिक्षालय राजनीतिक अखडा बनेका छन्। सरकारले शिक्षामा जोड दिन आवश्यक छ। मन्दिर माध्यम हो, ध्यान तप त साधना हो। मूल कुरा शिक्षा हो।

समाजमा सहिष्णुता फैलाउनु हो। त्यो काम गर्न सबै तयार हुनुपर्छ। ज्योतिष गणित र विज्ञानको मिश्रण हो। समाज अध्ययन र समावेशिताको मिश्रण हो। नेपालले धन बेच्नुपर्छ। त्यो भनेको पानी, आईटी अध्ययन गर्ने विद्यार्थीको ज्ञान र पर्यटन नै हो। अब सरकारले त्यो अनुरूपको धारणा तय गर्नुपर्छ।

प्रकाशित: २० फागुन २०७९ १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =