राष्ट्रपतिका लागि पौडेल र नेम्बाङ मैदानमा

हिमाल प्रेस १३ फागुन २०७९ ११:४५
22
SHARES
राष्ट्रपतिका लागि पौडेल र नेम्बाङ मैदानमा राष्ट्रपति पदका दुई उम्मेदवार

काठमाडौँ-  राष्ट्रपति निर्वाचनमा प्रमुख दुई ठूला दलका नेताबीच प्रतिस्पर्धा पक्का भएको छ। नेपाली कांग्रेसले रामचन्द्र पौडेल र नेकपा एमालेले सुवास नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेका छन्।

रामचन्द्र पौडेल पार्टीमा महामन्त्री र उपसभापति भएका छन् भने सरकारको उपप्रधानमन्त्रीको जिम्मेवारी  सम्हालेको अनुभव उनीसँग छ। यस्तै २०५६ पछि पाँच वर्ष सभामुख भएका उनी पटकपटक मन्त्री भएका छन्। पौडेल कांग्रेसवृत्तमा शालीन र निष्ठावान् नेताका रूपमा परिचित छन्।

नेम्बाङ २०६३ पछिको व्यवस्थापिका संसद्‌मा सभामुख भएका थिए। संविधानसभाको अध्यक्ष बनेर संविधान निर्माणमा उनले खेलेको भूमिका महत्त्वपूर्ण छ। पार्टी संसदीय दलको उपनेतासम्म बनेका नेम्बाङ यति बेला एमाले उपाध्यक्ष छन्। कानुन व्यवसायी पृष्ठभूमिका नेम्बाङ एमालेमा शालीन नेताका रूपमा चिनिन्छन्।

संयोग चाहिँ दुवै सभामुख भइसकेका पात्र हुन्।  पौडेललाई कांग्रेससहित ८ दलको समर्थन छ। नेम्बाङ भने हालसम्म एमाले एक्लैका उम्मेदवार हुन्। एमालेले कांग्रेसबाहेकका दलसँग सहयोग माग्ने भएको छ।

पौडेल २०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद् सदस्यमा निर्वाचित भए। गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी स्थानीय विकासमन्त्री भएका थिए भने २०४९ मा उनी स्थानीय विकास तथा कृषिमन्त्री बनेका थिए।

२०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भएका पौडेल ०५१ सालको प्रतिनिधिसभामा सभामुख भए। २०५६ को चुनावमा तनहुँ २ बाट तेस्रो पटक निर्वाचित भएका उनी ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। पौडेल ०६२ सालमा कांग्रेस महामन्त्री भए।

माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालय संयोजक भए। २०६३ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री भएका पौडेल २०६४ सालमा कांग्रेसको उपसभापति भए।

यस्तै २०६४ को संविधानसभा चुनावमा तनहुँ २ बाट चौथोपटक निर्वाचित भए। २०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका थिए। २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट निर्वाचित भएका थिए।

विद्यार्थीकालदेखि कम्युनिस्ट पार्टीप्रति झुकाव राख्ने नेम्बाङ कानुन तथा न्यायमन्त्री, सभामुख र संविधानसभा अध्यक्ष  भइसकेका छन्। २०६४ को संविधान सभा निर्वाचनमा इलाम जिल्ला क्षेत्र नं २ बाट निर्वाचित भई संविधानसभा अध्यक्षका रूपमा कार्यरत थिए।

उनी २०५६ सालदेखि इलाम २ बाट निर्वाचित हुँदै आएका छन्। उनी २०५६, २०६५, २०७० र २०७४ र २०७९ मा यसै क्षेत्रबाट निर्वाचित भएका छन्। नेम्बाङ सभामुख र संविधानसभा अध्यक्षसमेत रहिसकेका छन्। अंकगणितका हिसाबले पौडेल बहुमत नजिक छन्।

पुस १० मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दाको गठबन्धनबाट सहयोग मिल्ने एमालेको दाबी छ। कांग्रेसले भने नयाँ गठबन्धन बनिसकेकाले आफ्नो जित निश्चित भएको प्रतिक्रिया दिएको छ।

एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उठाउने

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेस निर्णय

प्रकाशित: १३ फागुन २०७९ ११:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − five =