काठमाडौँ- चेल्सीका प्रशिक्षक ग्राहम पोर्टरले आफू र आफ्नो परिवारलाई इमेलमार्फत धम्की आइरहेको बताएका छन्। इंग्लिस प्रिमियर लिगमा गत साता चेल्सी साउथह्यामटनसँग पराजित भएपछि अपरिचित व्यक्तिले आफूहरुलाई धम्कीपूर्ण सन्देश पठाएको पोर्टरको भनाइ छ।
त्यो हारपछि चेल्सी प्रिमियर लिगको १० औँ स्थानमा छ। २३ खेल खेलेको चेल्सीले ३१ अंक बटुलेको छ। चेल्सीले पछिल्ला १४ खेलमध्ये जम्मा दुईमा मात्रै जित हात पारेकाले पोर्टर दबाबमा छन्।
साउथह्याम्पटनसँग अप्रत्याशित हार व्यहोरेपछि एकथरी चेल्सी समर्थकले पोर्टरलाई बर्खास्त गर्नुपर्ने माग राखिरहेका छन्। सामाजिक सञ्जालमा उनीमाथि आक्रमण भइरहेको छ। गत सेप्टेम्बरमा थोमस टुकललाई प्रतिस्थापन गरेका पोर्टरले यसअघि आफूमाथि भइरहेको दुव्र्यवहारबारे प्रतिक्रिया दिएका थिएनन्।
‘तपाईंहरू मेरो परिवारका सदस्यलाई सोध्न सक्नहुन्छ, हामी कति तनावबाट गुज्रिरहेका छौँ भनेर। हो, टिम हारिरहेकाले समर्थक अवश्य पनि निराश र आक्रोशित छन्। त्यो कुरा म बुझ्छु। यहीबीच मलाई इमेलमा धम्कीपूर्ण सन्देशहरू पठाइँदैछ। इमेलमा म र मेरा बच्चाहरूको मृत्युको कामना गरिएको छ,’ पोर्टरले शुक्रबार पत्रकार सम्मेलनमा भने।
बेलायती सञ्चारमाध्यममा चेल्सीको प्रदर्शनबारे आलोचनात्मक सामग्री लगातार आइरहेकाले पनि समर्थकमा थप आक्रोश बढेको पोर्टरको संकेत थियो। ‘सञ्चारमाध्यम आफ्नो सामग्री बिक्री गर्न चाहन्छन्। त्यसो भएपछि स्थिति के रहन्छ? विचार गर्नुस् त,’ पोर्टरले भने।
पोर्टरको नेतृत्वमा चेल्सीले हालसम्म १७ लिग खेल खेलेको छ। तिनमा चेल्सीले हात पारेको जित संख्या हो, पाँच। खराब प्रदर्शनको शृंखला जारी रहे पनि चेल्सीलाई सफल बनाउन आफू प्रतिबद्ध रहेको पोर्टरको भनाइ छ।
‘म यहाँ सफल हुन चाहन्छु, चेल्सीलाई सफल बनाउन चाहन्छु। मलाई चेल्सीको केही मतलब छैन भनेर भनिँदैछ। किन यसो भनिएको? मलाई यो क्लबको कति मतलब छ भनेर मेरो परिवार, साथीभाइलाई सोधे हुन्छ। मलाई नजिकबाट नचिन्नेले किन यस्तो टिप्पणी गरिरहेका छन्, थाहा छैन,’ पोर्टरले निराशा पोखे।
चेल्सीले आइतबार राति टोटनहमको सामना गर्दैछ। हाल चौथो स्थानमा रहेको टोटनहमसँगको खेलअघि आफू सकारात्मक रहन चाहेको पोर्टरको भनाइ थियो।