एन्फामा उठ्यो महासचिव र कोषाध्यक्षको बर्खास्तगीको माग

हिमाल प्रेस १२ फागुन २०७९ १७:२०
12
SHARES
एन्फामा उठ्यो महासचिव र कोषाध्यक्षको बर्खास्तगीको माग

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) का तीन उपाध्यक्षसहित १२ जनाले महासचिव र कोषाध्यक्षलाई बर्खास्त गर्नुपर्ने माग राख्दै एन्फा मुख्यालयमा शुक्रबार पत्र दर्ता गराएका छन्। आउँदो फागुन १२ गते हुने केन्द्रीय समितिको बैठकमा बर्खास्तगीकाे विषयमा छलफल हुनुपर्ने उनीहरूको माग छ।

महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीको बर्खास्तीबाहेक अन्य चार विषयमा छलफल गर्नका लागि एजेन्डा थप गर्न पनि त्यही पत्रमार्फत माग गरिएको छ।

त्यसरी एन्फामा पत्र दर्ता गर्नेमा तीन उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर केसी र दीपक खतिवडा तथा कार्यसमिति सदस्यहरू रुपेश अधिकारी, महेन्द्र क्षेत्री, रविन्द्रबहादुर चन्द, भोजराज शाही, भरत बुढ थापा, राम जोशी, सरला श्रेष्ठ, रमेश ब्यन्जनकार, पेमा लामा छन्।

एन्फाले यससघि कार्यसमितिको बैठकका लागि १९ एजेन्डा तय गरेको थियो। बैठकमा थप गर्न माग गरिएका एजेन्डामा विश्वकप २०२२ को म्याच टिकट, एसियाली फुटबल महासंघ (एएफसी) मा नेपालबाट हुने प्रतिनिधित्वका लागि नाम सिफारिस, उमेर समूह र सिनियर टिम (पुरुष तथा महिला) लाई घोषित पुरस्कार वितरण, गत असोजमा सम्पन्न विशेष साधारण सभाबाट नियुक्त भएका न्यायीक निकायहरुको सदाचार परीक्षण र भक्तपुर तथा सिन्धुली जिल्ला संघको विषय छन्।

गत नोभेम्बरमा कतारले आयोजना गरेको विश्वकपका लागि विश्व फुटबल नियामक संस्था फिफाबाट प्राप्त टिकट दुरुपयोग भएको खबर द काठमाडौँ पोस्टमा छपिएको थियो। त्यस विषयमा छलफल गरिनुपर्ने माग छ।

एन्फाको २१ सदस्यीय कार्यसमितिका १४ जनाले यसअघि नवीन पाँडेलाई विदेश विभाग प्रमुखबाट हटाउन माग राखेका थिए। कार्यसमितिभित्र विरोध भएपछि अध्यक्ष पंकज विक्रम नेम्वाङले जर्मन नागरिक पाँडेलाई फरक जिम्मेवारी दिएका थिए।

प्रकाशित: १२ फागुन २०७९ १७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast