लाइपजिगविरुद्ध नौ स्ट्राइकर खेलाउनेछु : ग्वार्डिओला

हिमाल प्रेस ११ फागुन २०७९ १४:०६ | Thursday, February 23, 2023
लाइपजिगविरुद्ध नौ स्ट्राइकर खेलाउनेछु : ग्वार्डिओला

काठमाडौँ- च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा आरबी लाइपजिगसँग १–१ को बराबरीमा रोकिएपछि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो टिम जर्मन टिमहरू जस्तो तीव्र गतिमा खेल्न नसक्ने बताएका छन्।

लाइपजिगको मैदानमा सिटीले पहिलो हाफको २७ औँ मिनेटमा अग्रता लिएको थियो। रियाद माहरेजको गोलले अघि बढेको सिटीविरुद्ध दोस्रो हाफमा जोस्को भारडियोलले बराबरी गोल गरेका थिए।

‘लाइपजिग लगायतका जर्मन टिम हामीभन्दा निकै तीव्र गतिमा खेल्छन्। उनीहरूलाई भेट्न मुस्किल पर्छ। सिटीका कायल वाल्कर र एर्लिङ हालान्डबाहेक अरु खेलाडीले लाइपजिगका खेलाडीलाई भेट्न सक्दैनन्। आज पनि त्यही भयो,’ ग्वार्डिओलाले भने।

बराबरीका बाबजुद ग्वार्डिओला असन्तुष्ट देखिएनन्। खेल सकिन साथ उनले मैदानमा सबै खेलाडीलाई डाकेर केहीबेर सम्बोधन थिए। ‘उनीहरु शीर निहुराइरहेका थिए। मैले उनीहरुलाई त्यसो नगर्न भनेँ। किनभने हामीले साँच्चै राम्रो खेलेका थियौँ। योजना अनुसार नै खेलाडीहरुले प्रदर्शन गरेका थिए,’ ग्वार्डिओलाले भने।

उनले च्याम्पियन्स लिग पहिलेभन्दा कठिन हुँदै गइरहेको पनि बताए। ‘यो प्रतियोगिता खेलिरहेका सबै टिम निकै बलिया छन्,’ ग्वार्डिओलाको भनाइ थियो।

दोस्रो लेग जसरी भए पनि जित्नुपर्ने दबाब भएकाले आफूले नौ जना स्ट्राइकर खेलाउन सक्ने भन्दै ग्वार्डिओलाले ठट्टा पनि गरे।

‘हुनसक्छ दोस्रो लेगमा म जस्तो निर्णय पनि लिनसक्छु। नौ जना स्ट्राइकर खेलाउँछु कि। जे होस् लाइपजिग टिमबारे मलाई जानकारी छ। लाइपजिग कस्तो टिम हो थाहा छ। यसकारण उविरुद्ध खेल्दा यही शैलीमा नियन्त्रण जमाउनु पर्छ,’ ग्वार्डिओलाले भने।

लाइपजिगका प्रशिक्षक मार्को रोजले पहिलो हाफमा शान्त देखिएको आफ्नो टिम दोस्रो हाफमा जागेको बताए। ‘दोस्रो हाफमा हामीले सिटीलाई रोक्नु थियो। उसलाई उसको शैलीमा खेल्नबाट वञ्चित गर्नु थियो। रक्षात्मक खेल्ने योजना हाम्रो थिएन। त्यसकारण गोल त गर्नु नै थियो,’ रोजले भने।

दोस्रो लेग मार्च १४ मा सिटीको मैदानमा हुनेछ। त्यहाँ पनि आफ्नो टिमको उद्देश्य आक्रामक नै खेल्ने उनको भनाइ थियो। ‘आज पहिलो हाफमा जसरी खेलियो, त्यही शैलीमा खेल्ने छुट हामीलाई छैन,’ रोजले भने।

प्रकाशित: ११ फागुन २०७९ १४:०६ | Thursday, February 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast