लुम्बिनी- जैविक विविधताका लागि उपयोगी चमेराको जीवनचक्र संकटमा परेको छ। यो उड्न सक्ने एकमात्र स्तनधारी प्राणी हो। टाउको तल पारी रुख, गुफा, घरका छाना आदि ठाउँमा झुन्डिएर रहेको देखिने चमेरो प्रजाति विस्तारै हराउँदै गएको छ।
पृथ्वीको खाद्यचक्र, पारिस्थितिकीय प्रणाली र वातावरण सन्तुलनका लागि निकै महत्त्वपूर्ण मानिने स्तनधारी प्राणीमध्येका एक प्रजाति चमेरा लोपोन्मुख अवस्थामा पुगेकामा चमेरा संरक्षणकर्ता चिन्तित बन्न थालेका छन्।
कपिलवस्तुका चमेरा संरक्षणकर्ता शम्भु सैनी भन्छन्, ‘चमेरो कुकुर, बिरालो, खरायो, स्याल, बाँदर वा मान्छे जस्तै एक स्तनधारी प्राणी हो। विस्तारै यो लोप हुँदै जाँदा जैविक विविधतामा समस्या आउन थालेको छ।’ पर्यावरणका लागि हितकर यस्ता जीव लोप भएमा अनेक समस्या आउन सक्ने उनको भनाइ छ।
चमेरो संरक्षण समिति कपिलवस्तु नगरपालिका–३, देवानगढियाँका अध्यक्षसमेत रहेका सैनी भन्छन्, ‘चमेरोले लगाएका गुन त खासै थाहा छैन। तर चमेराले पर्यावरणीय सुरक्षा र विपद् पूर्वको संकेत अवश्य गर्छ।’
नेपालका जीव वैज्ञानिकहरू चमेरो अनुसन्धानमा नलागेका पनि होइनन्। तर प्रोत्साहन र उचित कदरको खाँचो छ। चमेरोको संरक्षणका लागि एक हेक्टर वनमा अभ्यास सुरु गरिएको उनले बताए।
पोथी चमेरोले बच्चा जन्माउँछ, बच्चालाई दूध चुसाउँछ। चमेराको जीउमा भुत्ला हुन्छ तर प्वाँख हुँदैन। बच्चालाई गुँडमै छोडेर पोथी चमेरो अथवा आमा चमेरो एक्लै उडेर कतै जाँदैन।
चमेराहरू विभिन्न रंगका हुन्छन्। विशेषगरी यिनीहरू कालो र खैरो रङका हुन्छन् तर केही चमेराहरू भने पहेँलो चम्किलो, चाँदी, सुन्तलालगायतका विभिन्न रङका पनि हुन्छन्।
पोथी चमेराले आफ्नो बच्चालाई आफ्नो जीउमै बोकेर उड्ने गर्छ भने बच्चा चमेरालाई आमाको जीउमा टाँसिएर बस्नुपर्ने हुन्छ। चमेराहरू खुट्टाका नङ्ग्राले रूखका हाँगा वा गुफाका चट्टानलाई च्यापेर झुण्डिन्छन्। तर दिसापिसाब गर्दा, भाले लाग्दा वा बच्चा पाउँदा भने हातका नङ्ग्राले च्यापेर बस्दछन्। त्यस अवस्थामा तिनको टाउको माथितिर नै फर्केको हुन्छ।
दी न्यू योर्क टाइम्स प्रकाशित एक लेखमा चमेरोको बारेमा उल्लेख गरिएको छ। लेखमा चमेरोको स्वरूप र स्वभाव कौतूहलपूर्ण रहेको र यसको पर्यावरणीय महत्वका व्याख्या गरिएको छ। चमेराको तीखो कोणाकारका पखेटाहरू हेर्दा झण्डै झण्डै मानिसको हात र पाखुराजस्तै देखिन्छ। चमेरो एक यस्तो जीव हो, जो स्तनधारी भइकन आकाशमा उड्न सक्छ। चमेराको आकार चंगा जस्तै हुने भएकाले यसलाई आकाशमा सजिलैसँग उड्न मद्दत पुग्दछ।
चमेराहरू विभिन्न रंगका हुन्छन्। विशेषगरी यिनीहरू कालो र खैरो रङका हुन्छन् तर केही चमेराहरू भने पहेँलो चम्किलो, चाँदी, सुन्तलालगायतका विभिन्न रङका पनि हुन्छन्। ‘रातिमा मात्र सक्रिय हुने चमेराले कृषिका लागि हानीकारक कीरा खाएर बालीनाली जोगाउन सहयोग पुर्याउँछ,’ चराविद् डा. हेमसागर बरालले भने।
चमेरालाई दुई प्रकारका चमेराहरूमा वर्गीकरण गरिएको छ। एउटा मांसाहारी चमेरो र अर्को फलाहारी चमेरो। मांसाहारी चमेरो कीरा, फट्याङ्ग्राहरू मात्र खाएर जीवन निर्वाह गर्दछ भने फलाहारी चमेरो चाहिँ फलफूल खाएर जीवन निर्वाह गर्दछ। आकारमा मासाहारीको तुलनामा फलाहारी चमेरो अलिक ठूलो हुन्छ। मांसाहारी चमेरोको संख्या ७० प्रतिशत छ भने बाँकी ३० प्रतिशत मात्र फलाहारी चमेरा रहेको बताइन्छ।
डा. बरालका अनुसार विश्वमा एक हजार चार सय छ प्रजातिका चमेरा पाइन्छन्। नेपालमा पछिल्लो तथ्यांकअनुसार ५५ प्रजातिका चमेरा भेटिएको छ।
संसारमा ७० प्रतिशत मांसाहारी र ३० प्रतिशत साकाहारी चमेरा भेटिएका छन्। ‘चमेरो पर्यावरण र जैविक विविधताको दृष्टिकोणले निकै नै उपयोगी जीव हो। यसले वन जंगल जोगाउन र बीउबिजन परागसेचन गरेर फूललाई परागसेचन गर्नसमेत मद्दत गर्छ,’ डा. बरालले भने।
चमेरा पर्यावरण र जैविक विविधताको दृष्टिकोणले उपयोगी जीव मानिएका छन्। खासगरी फलाहारी चमेराले वनजंगल जोगाउन र बीउबिजन परागसेचन गरेर फूलहरूको परागषेचन गर्नसमेत मद्दत गर्दछ। त्यसैगरी मांसाहारी चमेराले मानिस र अन्नबालीका लागि हानिकारक मानिने कीरालाई खाएर मद्दत पुर्याइरहेको हुन्छ।
एउटा चमेरोले एक रातमा दुई हजारदेखि छ हजारसम्म कीरा खाएर बाली संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्छ। यसको मल प्रांगारिक मलका लागि उत्कृष्ट मानिन्छ। लटरम्म झुन्डिएर बस्ने चमेरो कानले देख्ने प्राणी हो। चमेरोले आफ्नो कानको ध्वनि र प्रतिध्वनिका माध्यमबाट हरेक कुरा ठम्याउँछ र देख्छ।
चमेराबाट सिको गरेर ध्वनि र प्रतिध्वनिको सिद्धान्तअनुसार स्थान, वस्तु र तिनको दूरी पत्ता लगाउने प्रविधि विकास भएको मानिन्छ। समुद्र वा तालको गहिराइ नाप्न पनि यो प्रविधि प्रचलनमा छ। आकासमा उडेका हवाईजहाज वा पानीमा चल्दै गरेका जहाज र पनडुब्बी ठम्याउने राडर प्रविधिको आधार चमेरोकै ‘इकोलोकेशन’ प्रविधि हो भन्ने धेरैको मान्यता छ।
चमेरोको खुट्टा तुलनात्मक रूपमा सानो हुन्छ। यसको शरीर, पखेटा र खुट्टाका कारण जमिनबाट उडान भर्न सक्दैन। त्यसैले चमेरो रूख, गुफालगायतका ठाउँमा टाउको तल पारेर बस्ने गर्छ।
यसरी बस्दा आफूलाई हुने असुरक्षा पनि उसले सजिलै थाहा पाउँछ र सुरक्षित उपाय खोज्छ। चमेराको बासस्थान विनाश हुँदै जाँदा र वातावरण अनुकूल नहुँदा चमेराहरूको बसाइ गुफामा बढ्न थालेको नेपाल पक्षी संरक्षण संघका विज्ञ भूपाल नेपालीको भनाइ छ।
नेपालीका अनुसार चमेरोले अन्धकारमा बाटो पहिल्याउनका लागि सुन्ने क्षमताको पनि प्रयोग गर्छ। आँखा मात्र होइन राति उडान भर्दा सुन्ने तीक्ष्ण क्षमतालाई पनि उसले उपयोग गर्छ। उनी भन्छन्, ‘अँध्यारोमा सिकार गर्दा चमेरोले उडेको समयमा अल्ट्रा सिग्नल पठाउँछ, जसले चमेरालाई सिकार गर्न सहज बनाउछ। अगाडि कुनै वस्तु छ भने उक्त सिग्नल फर्केर आउँछ। यसरी उसले अगाडि कुनै अवरोध नभएको निर्धारण पनि गर्न सक्छ।’
चमेराको चर्चामा पोखराको चमेरे गुफा, महेन्द्र गुफा, गुप्तेश्वर गुफा विशेष उल्लेखनीय छन्। केही वर्षअघिसम्म काठमाडौँका नारायणहिटी, केशरमहल तथा भक्तपुरको सल्लाघारीमा बथानका बथान पाइने चमेरा आजभोलि देख्न मुस्किल भएको छ।
चमेरो ४१ वर्षसम्म बाँचेको तथ्यांक छ। चमेरा जाडो मौसममा न्यानो स्थान खोज्दै बसाइसराइसमेत गर्छन्। एक दिनमा दुई सय ५० माइल्स उड्ने अनुसन्धानबाट देखिएको छ। प्रतिघण्टा ७० माइल उडान गर्न सक्ने चमेराले १० हजार फिट उचाइसम्म उडान भर्न सक्ने बताइन्छ।
मानव ढुंगेयुगबाट कृषि युगमा प्रवेश गर्यो त्यसबेला देखि नै चमेरा र मानव जातिको अन्तरसम्बन्ध नजिकिँदै गएको मानवशास्त्रीको भनाइ छ। विज्ञ नेपालीले भने, ‘चमेराले हाम्रो घर तथा वरिपरि रहेका रुख, झाडी, र बगैंचामा बस्न रुचाउँछन र त्यही गुँड बनाएर बच्चा पनि कोरल्छन्।’ गुफामा बास बस्ने चमेरो साना खालका हुन्छन् र तिनको आहारा भनेको रातमा उड्ने कीटपतंग, लामखुट्टेलगायत अनेकौँ ससाना प्राणी हुन्।
एकातिर पुरानो र परम्परागत चमेरामैत्री घर नहुनु, रुख बिरुवा विनाश हुनु, प्रदूषण, चेतनाको कमी, आहाराको कमीको समस्या बढ्दै गएको छ भने अर्कोतिर यिनीहरूलाई संरक्षण गर्नुको सट्टा मार्ने र धपाउने प्रवृत्तिले पनि चमेराको संख्यामा कमी आएको उनले बताए।
एक अध्ययनले मोबाइल फोन र यसको टावरको विकीरणको कारणले पनि असर पारेको उनको भनाइ छ। सहरका बिजुलीको तारमा बस्ने क्रममा पनि चमेरा मर्ने गरेको छ।
चमेराको चर्चामा पोखराको चमेरे गुफा, महेन्द्र गुफा, गुप्तेश्वर गुफा विशेष उल्लेखनीय छन्। केही वर्षअघिसम्म काठमाडौँका नारायणहिटी, केशरमहल तथा भक्तपुरको सल्लाघारीमा बथानका बथान पाइने चमेरा आजभोलि देख्न मुस्किल भएको छ।
बढ्दो सहरीकरणले निम्त्याएको धुलो, धुवाँ, बिजुलीका तार र रूखबिरुवाको विनाशले गर्दा रुपन्देही, कपिलवस्तु र काठमाडौँलगायत सबैतिर चमेराको संख्या दिनदिनै घट्दो छ। रासस