माओवादीलाई रोक्न राष्ट्रपतिमा ओलीको ‘माधव कार्ड’

हिमाल प्रेस १० फागुन २०७९ १०:२३
82
SHARES
माओवादीलाई रोक्न राष्ट्रपतिमा ओलीको ‘माधव कार्ड’

पूर्वअडानमा रहँदा माओवादी केन्द्रले कांग्रेसलाई समर्थन गर्न सक्ने संकेत गरेपछि त्यसलाई रोक्ने रणनीतिअन्तर्गत ओली एमाले बाहिरका व्यक्तिहरूलाई समेत राष्ट्रपतिको प्रस्ताव गरेर अगाडि बढेका छन्।

काठमाडौँ- राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ। त्यसका लागि १३ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ। तर, दलहरूले आज (बुधबार) सम्म पनि उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्।

मुख्यतः राष्ट्रपतिमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ। तर, प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको अडान लिएपछि एमाले सशंकित मात्र बनेको छैन, एमाले अध्यक्ष केपी शर्मा ओली आफूले भनेकै व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने पूर्वअडानबाट पनि पछि हटेका छन्।

पूर्व अडानमा रहँदा माओवादी केन्द्रले कांग्रेसलाई समर्थन गर्न सक्ने संकेत गरेपछि त्यसलाई रोक्ने रणनीतिअन्तर्गत ओली एमाले बाहिरका व्यक्तिहरूलाई समेत प्रस्ताव गरेर अगाडि बढिरहेका छन्।

माओवादीको अडानले पुस १० गतेको सहमति यथावत् छ कि छैन भन्ने संशय समेत पैदा गरेको छ। त्यसबेला बालकोटमा प्रचण्ड प्रधानमन्त्री बन्ने र एमालेले राष्ट्रपति लिने सहमति भएको थियो।

तर, अहिले परिस्थिति फेरिएको भन्दै प्रचण्डले कांग्रेसलाई समर्थन गर्न सक्ने संकेत गरेपछि ओली त्यसलाई रोक्ने रणनीतिमा लागेका हुन्। यसका लागि उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अगाडि सार्ने योजना बनाएका छन्।

यसअघि एकीकृत समाजवादीलाई पार्टीको मान्यता नै नदिने घोषणा गरेका एमाले अध्यक्ष ओलीले अहिले त्यही पार्टीका अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने नयाँ कार्ड खेलेपछि यो विषय झन् पेचिलो बन्दै गएको छ।

माधव कमरेडलाई नै बनाउने हो भने ओलीजीले औपचारिक प्रस्ताव लिएर आउनुपर्यो, बाहिर भनेर हुँदैन। आयो भने छलफल गर्छौं। नआउँदासम्म उहाँको रणनीतिक कार्डका रूपमा मात्रै बुझ्दछौं। – देव गुरुङ, महासचिव (माओवादी केन्द्र)

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले माओवादी केन्द्रसँगको सहकार्यमा आफ्नो उम्मेदवार जिताउन गरेको ‘महत्त्वाकांक्षी प्रयास’ को काउन्टरमा ओलीले माधव कार्ड चालेको नेताहरू बताउँछन्।

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ एमाले अध्यक्ष ओलीले माधव नेपालको नामबारे औपचारिक रूपमा कुनै प्रस्ताव नगरेको बताउँछन्। ‘ओलीजीले जसलाई भेट्यो उसैलाई राष्ट्रपति भन्दै हिँड्नुभएको छ। व्यक्तिगत भेटमा उहाँले माधव नेपाल, झलनाथ खनालदेखि अमिक शेरचनसम्मलाई राष्ट्रपति बनाइसक्नुभयो,’ गुरुङले भने।

तर, नेपालको नामबारे प्रस्ताव आएको खण्डमा आफूहरू छलफलका लागि तयार रहेको उनको भनाइ छ। ‘माधव कमरेडलाई नै बनाउने हो भने औपचारिक प्रस्ताव लिएर आउनुपर्‍यो बाहिर भनेर हुँदैन। आयो भने छलफल गर्छौं,’ उनले भने, ‘नआउँदासम्म उहाँको रणनीतिक कार्डका रूपमा मात्रै बुझ्दछौं।’

एमाले नेताहरू माधव नेपालको नामबारे गम्भीर छलफल भएको बताउँछन्। नेताहरूका अनुसार ओली र नेपालबीच आइतबार ‘वान अन वान’ गोप्य संवाद समेत भएको छ।

मंगलबार पनि एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका नेता तथा पूर्व मन्त्री कृष्णकुमार श्रेष्ठ किसानलाई बोलाएर छलफल गरेका छन्। ओलीलाई भेट्न श्रेष्ठ मंगलबार दिउँसो बालकोट पुगेका थिए। उनीहरूबीच करिब एक घण्टा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ। छलफल राष्ट्रपति चुनावमै केन्द्रित रहेको बताइएको छ।

राष्ट्रपति निर्वाचित हुन २६ हजार ३१५ मत चाहिन्छ। प्रदेश र संघीय सांसदको मतभार हिसाब गर्दा कांग्रेससँग १६ हजार २२१ मत मात्र छ। माओवादीसँग ७ हजार ७२८ मत छ। त्यसैले कांग्रेसलाई पराजित गर्न माओवादीलाई रोक्नैपर्छ।

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ र त्यो उम्मेदवारले जित्छ पनि। माधव नेपालजीसँग ओलीले भेट्नुभयो भन्दैमा हामीले उमेदवार नदिने भन्ने सोच राख्या पनि छैन, राख्दा पनि राख्दैनौं। – डा. प्रकाशशरण महत, प्रवक्ता (कांग्रेस)

त्यसो त कांग्रेसलाई माओवादीको साथले मात्र पुग्दैन। त्यसैले माओवादीसँगै तत्कालीन गठबन्धन सहयात्री दल एकीकृत समाजवादीको पनि मत जुटाउनुपर्ने हुन्छ।

कांग्रेसले सत्ताबाहिर रहेका जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग पनि विश्वास लिने प्रयास जारी राखेको छ। तर उसले सत्ताबाहिरको दलहरूको मतले मात्र चुनाव जित्न भने सक्दैन।

त्यसैले कांग्रेसलाई रोक्न माधव नेपाल भन्दा बलियो र प्रभावकारी कार्ड अरू हुन नसक्ने ओलीको ठम्याइ छ। ओलीको माधव कार्ड सफल भए प्रचण्डलाई पनि नैतिक संकट पर्न सक्ने आकलन गरिएको छ। त्यसैले एमालेले अन्तिममा नेपाललाई अगाडि सार्ने संकेत पाएपछि कांग्रेस अन्योलमा देखिएको छ।

ओली–नेपाल संवाद भए पनि आफूहरूले अघि सार्ने उम्मेदवार विजयी हुनेमा ढुक्क रहेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतको दाबी छ। कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने भनेर सबैसँग छलफलसमेत गरिसकेको बताउँदै उनले यसबाट पछाडि हट्न नसक्ने प्रस्ट पारेका छन्। ‘नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ र त्यो उम्मेदवारले जित्छ। ढुक्क हुनुस्,’ उनले भने, ‘माधव नेपालजीसँग ओलीले भेट्नुभयो भन्दैमा हामीले उम्मेदवार नदिने भन्ने सोच राख्या पनि छैन, राख्दा पनि राख्दैनौं।’

माओवादीले राष्ट्रपतिको विषयमा निर्णय गर्ने एकल अधिकार प्रचण्डलाई दिएको छ। प्रचण्डले आफ्नो उम्मेदवारलाई साथ दिनेमा ढुक्क रहेको प्रवक्ता महतले बताए।

यता एकाएक राष्ट्रपतिको चर्चामा तानिएका एकीकृत समाजवादी अध्यक्ष नेपालले भने राष्ट्रपति निर्वाचनलाई ‘पावर सेयरिङ’को रूपमा लिने संकेत गरेका छन्। कसैलाई फाइदा पुग्ने गरी आफू परिचालित हुन नसक्ने उनको प्रस्टोक्ति छ। मंगलबार दाङको भालुबाङमा पत्रकारसँग कुरा गर्दै उनले राष्ट्रपति बन्न आफूलाई ठोस प्रस्ताव नआएको दाबी गरे।

‘अहिले बजारमा हल्लाहरू, चर्चापरिचर्चाहरू धेरै छन्। यस सन्दर्भमा कुनै टुंगो लागेको छैन,’ उनले भने, ‘चाहना राख्ने कुरा बेग्लै हो, मैले नै आफू के गर्ने सोचिसकेको छैन।’

पार्टीले पनि के गर्ने भन्ने निर्णय नगरेको तर, ‘पावर सेयरिङ’मा आफ्नो पार्टीको भूमिका हुनुपर्ने उनले बताए।

प्रकाशित: १० फागुन २०७९ १०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − six =