सन्दर्भ : प्रजातन्त्र दिवस 

नेहरूले जब कांग्रेसको प्रस्ताव अस्वीकार गरे

विवेक विवश रेग्मी ७ फागुन २०७९ ८:०७
138
SHARES
नेहरूले जब कांग्रेसको प्रस्ताव अस्वीकार गरे सन् १९५१ को फेब्रुअरी १५ मा राजा त्रिभुवन दिल्लीबाट काठमाडौँ फर्कँदै गर्दा  बिदाइ गर्दै भारतका राष्ट्रपति डा. राजेन्द्रप्रसाद, प्रधानमन्त्री जवाहरलाल नेहरु लगायत भारत सरकारका मन्त्रीहरू।

१०४ बर्से जहानियाँ राणाशासन अन्त्य भएको आज (फागुन ७ गते) ७२ वर्ष पूरा भयो। प्रजातन्त्र स्थापनापछि जनताका छोराछोरी पनि राजकाजमा सहभागी हुन पाउने राज्यव्यवस्था सुरु भयो।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको जीवनकथामा आधारित रहेर तयार पारिएको ‘मेरा नौ दशक, सूर्यबहादुर थापा, पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ पुस्तकमा उल्लेख भएअनुसार राजा त्रिभुवन भारतमा शरण लिन पुगेका थिए। केशरशमशेरको टोलीले राजाको दर्शनभेट गरेपछि भारतले राखेको पाँचबुँदे प्रस्ताव लिएर नेपाल फर्किएको थियो।

पाँचबुँदे प्रस्तावले राणाहरूमै विवाद ल्याएको थियो। प्रस्तावमा ‘त्रिभुवनलाई नै राजा मान्नुपर्ने, राणा प्रधानमन्त्रीको नेतृत्वमा जनप्रतिनिधि भएको सरकार हुनुपर्ने, बालिग मताधिकारका आधारमा निर्वाचनमार्फत विधानसभा गठन हुनुपर्ने, सबै राजनीतिक बन्दीहरू तत्काल छाडिनुपर्ने र राजनीतिक दल खोल्न पाइने’ उल्लेख थियो।

यस विषयमा मोहनशमशेरले कुनै निर्णय गरेनन् र मान्दिनँ पनि भनेनन्। प्रस्ताव २००७ पुस ६ गते नेहरूले भारतीय संसद‍‌्मा पेस गरेको कुरा पुस्तकमा उल्लेख छ। ‘त्रिभुवनले पनि त्यो प्रस्ताव पुस ७ मा स्वीकृत गरे। त्यसपछि रोलवाला राणाहरू पनि त्रिभुवनको समर्थनमा निस्किए। पुस २१ मा आन्दोलनको प्रतिकार गर्न भरतशमशेरले ‘खुकुरी दल’ गठन गरे,’ २३ गते हातमा नांगो खुकुरी लिएर काठमाडौँ सहरभरि मार्च गरे।

यसले सारा सहर त्रस्त भयो। यसपछि टोलटोलमा युवाले ‘नगर रक्षा दल’ गठन गरे। यसले विभाजित सहरमा एकता कायम गरिदियो।

विविध घटनाक्रममा संलग्न नगराइएकोमा असन्तुष्ट बनेको नेपाली कांग्रेसले पुस २६ गते भारतको गोरखपुरमा बैठक डाकेर मोहनशमशेरको विरोध गर्‍यो। त्यसबेला डा. केआई सिंहले खुलेरै उनको विरोध गरेका थिए। भित्रभित्रै मातृकाप्रसादहरूलाई पनि चित्त बुझिराखेको थिएन। मातृका, विश्वेश्वर, सुवर्ण, सूर्यप्रसाद र गणेशमानहरू दिल्ली गए। राणाशासन पूरै अन्त्य गरेर कांग्रेसको एकलौटी सरकार गठन गर्ने उनीहरूको चाहना थियो। तर नेहरूले कांग्रेसको कुरा मानेनन्।

२००७ माघ ३ गते कांग्रेसका मातृकाप्रसाद कोइरालाले सशस्त्र संघर्ष स्थगित भएको घोषणा गर्दै युद्धविराम घोषणा गरे। सोहीअनुसार माघ ४ गते बन्दी छाड्ने काम सुरु भयो। जेलको ढोकामा जुलुस लाग्न सुरु भयो। जसकारण मोहनशमशेरले असजिलो माने।

राजा भारतमै भएका कारण फर्किने तयारी हुँदै थियो। राजा त्रिभुवनले दिल्लीबाट सुरक्षा व्यवस्था राम्रो बनाएर मात्रै फर्किने तयारी गरे। ‘राजाको सुरक्षा व्यवस्था मिलाएपछि दिल्लीमा राजालाई खबर गरियो।

त्यसपछि मात्र त्रिभुवनले आफ्नो परिवार कहिले फर्कने, आफू कसरी फर्किने भन्ने विषयमा सल्लाह गरेर तिथिमिति तय भयो,’ पुस्तकमा उल्लेखित ‘राणाविरुद्ध आन्दोलन’ शीर्षकको ‘राजा फर्किने तयारी’ उपशीर्षकमा भनिएको छ, ‘सबैभन्दा पहिला २००७ फागुन ३ मा कांग्रेसका नेताहरू काठमाडौँमा उत्रिए। २००७ फागुन ४ मा भित्रुवन काठमाडौँ उत्रिने तयारी भयो। मोहनशमशेर, भारतीय राजदूत र राजनीतिक नेताहरू उनलाई लिन गौचर हवाईअड्डा पुगे।’

जहाजबाट राजा त्रिभुवन उत्रिनासाथ मोहनशमशेरले दाम राखेर दर्शन गरे। उनलाई मोटरमा राखेर रत्नपार्क पुर्‍याइयो। रत्नपार्क पुगेपछि सैनिक सम्मानका साथ दरबार लगियो।

‘दरबारमा मोहनशमशेर र बेलायती राजदूतलगायत सबैले स्वागत गरे। नेपाल फर्किएको तीन दिनपछि फागुन ७ मा राजा त्रिभुवनले राणाशासन अन्त्य भएको घोषणा गर्दै प्रजातन्त्र घोषणा गरे,’ पुस्तकमा भनिएको छ, ‘उनले राणा र नेपाली कांग्रेसका तर्फबाट पाँचपाँच जना सम्मिलित १० सदस्यीय मन्त्रीमण्डल गठन गरे। सम्झौताअनुसार मोहनशमशेर प्रधानमन्त्री बने। नेपाली कांग्रेसको नेतृत्व गरेका विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री बने। देश नयाँ युगमा प्रवेश गर्‍यो।’

नेपाली कांग्रेस र भारत सरकारको योगदानका कारण नेपालमा प्रजातन्त्र स्थापना भयो। ‘आन्दोलनबेगर मिल्न सकेको भए राणा, कांग्रेस, राजा सबै मिलेर जान्थे। सामाजमा ईर्ष्या, द्वेष पनि कायम रहने थिएन,’ पुस्तकमा उल्लेख छ, ‘मेलमिलापको स्थिति हुने थियो। राणा शासनको अन्त्यपछि समाजमा जुन किसिमको विभाजन आयो, त्यो आउँदैनथ्यो।’

प्रजातन्त्र घोषणा भएपछि राणा र कांग्रेसका प्रतिनिधि सम्मिलित अन्तरिम सरकार बनेसँगै नेपालमा प्रजातन्त्रको युग सुरु भयो। २००८ मंसिर १ गते नेपाली कांग्रेसका तत्कालीन अध्यक्ष मातृकाप्रसाद कोइरालालाई राजा त्रिभुवनले प्रधानमन्त्रीमा नियुक्त गरे। उनको नेतृत्वमा राणारहित मन्त्रीमण्डल बन्यो।

प्रकाशित: ७ फागुन २०७९ ८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast