भारतसँगको मैत्रीपूर्ण खेलमा नेपालको लक्ष्य, फिनिसिङमा सुधार

हिमाल प्रेस ६ फागुन २०७९ ९:२० | Saturday, February 18, 2023
भारतसँगको मैत्रीपूर्ण खेलमा नेपालको लक्ष्य, फिनिसिङमा सुधार फाइल फाेटाे

काठमाडौँ- भारत भ्रमणमा रहेको नेपाली महिला फुटबल टिमले शनिबार साँझ घरेलु टिम भारतसँग दोस्रो तथा अन्तिम मैत्रीपूर्ण खेल खेल्दैछ। चेन्नाईस्थित जवहारलाल नेहरु रंगशालामा हुने यो खेलमा पाएको मौकामा गोल गर्न सके भारतलाई पराजित गर्न सकिने मुख्य प्रशिक्षक अनन्त थापाको विश्वास छ।

गत बुधबार भएको पहिलो खेलमा नेपालले घरेलु टिमलाई २–२ को बराबरीमा रोकेको थियो। सावित्रा भण्डारीले ९० औँ र आतिरिक्त समयमा गोल गर्दै नेपाललाई हारबाट जोगिएकी थिइन्।

‘भारत बलियो टिम भएकोमा शंका छैन। तर हामी यो खेलका लागि तयार छौँ। भारतका सबल र कमजोर पक्ष थाहा छ। तिनलाई मध्यनजर गरेका छौँ। पछिल्लो खेलमा हामीले निकै अवसर सिर्जना गरेका थियौँ। तर अन्तिममा मात्र गोल गर्न सक्यौँ। यसपालि मौका खेर नजाउन् भनेर सचेत रहनु पर्छ,’ दोस्रो खेलअघि थापाले भनेका छन्।

भारतीय टिमका मुख्य प्रशिक्षक थोमस डेनेर्बीले पहिलो खेलमा आफ्नो टिमले नेपालभन्दा राम्रो खेलेको भए पनि गल्तीका कारण जितबाट विमुख भएको बताएका छन्।

‘खेलमा गल्ती हुन्छ नै। गल्ती हुँदा कुनै एक खेलाडीलाई जिम्मेवार ठहराइँदैन। भएका गल्तीबाट सिकेर अघि बढ्ने हाम्रो लक्ष्य हो। मेरा खेलाडीहरूमा गल्तीबाट सिक्न र थप मेहनत गर्न तयार छन्,’ डनेर्बीले भनेका छन्, ‘गल्तीबाट सिक्नकै लागि मैत्रीपूर्ण खेल चाहिने हो। ओलिम्पिक छनोटमा गल्ती गनर्सभन्दा यही गरेको, सिकेको राम्रो हो।’

भारतका केही मुख्य खेलाडी शनिबारको खेलमा हुने छैनन्। बाला देवी, अदिती चौहान, अशालाता देवी र रतनबादा देवी लगायतका खेलाडी चोटका कारण मैदानबाहिर छन्। गोलरक्षक अदिती नेपालसँगको खेलमा घाइते भएकी थिइन्। बालालाई पनि त्यही खेलको दोस्रो हाफमा प्रतिस्थापन गरिएको थियो।

ओलिम्पिक २०२४ अन्तर्गत महिला फुटबलतर्फको छनोट तयारीका लागि नेपाल र भारत मैत्रीपूर्ण खेल खेलिरहेका हुन्। पहिलो चरणको छनोटमा नेपाल भियतनाम, प्यालेस्टाइन र अफगानिस्तानसँगै समूह ‘सी’ मा छ। भारत भने किर्गिज गणतन्त्र र तुर्केमेनिस्तानसहित समूह ‘जी’ मा छ।

नेपालविरुद्ध भारत, शनिबार साँझ ७ः १५ बजे

प्रकाशित: ६ फागुन २०७९ ९:२० | Saturday, February 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast